मेलमिलापकी गुरु ‘हीरा’


प्रकाशित मिति :2016-01-18 09:49:04

पुरुषको कारबाही प्रक्रियाभन्दा महिलाको सम्झाउने प्रक्रिया बढी प्रभावकारी देखिएको छ समुदायमा । हीराले नेतृत्व लिएदेखि गाउँमा धेरै विवाद सुल्झिएका छन् ।

हीरा घर्ती

Hira devi

‘तपाईं पनि अर्को श्रीमानसँग गए भइगयो नि !’
बहुविवाहको उजुरी लिएर प्रहरीकहाँ पुगेकी महिलालाई छिन्चु प्रहरी प्रमुखले यस्तो सल्लाह दिएको सुनेर हीरालाई झनक्क रिस उठ्यो । उनले ती प्रहरीलाई बेस्सरी हपारिन् । केहीबेर भनाभन नै चल्यो । प्रहरीलाई फेरि यस्तो शब्द नदोहोर्‍याउने कबोल गराइन् र फर्किइन् । ‘एउटी महिलालाई लिएर बहुविवाहको उजुरी गर्न प्रहरीकहाँ गएकी थिएँ,’ उनले सुनाइन्, ‘ती प्रमुखको भनाइले निकै चोट प¥यो, निकै बेर भनाभन पनि भयो ।’

हीरा अर्थात् ३४ वर्षीया हीरा घर्ती । एकल महिला । भेरीगङ्गा नगरपालिका–१२, झिलमिले टोलमा छ उनको घर । बाँके, कोहलपुरबाट सुर्खेत छिन्चु पुग्नुअघि राजमार्गबाट करिब डेढ किलोमिटरभित्र पर्छ उनको घर ।

सबैकी हाईहाई यी महिला गाउँमा ‘मेलमिलाप गुरु’ भनेर चिनिन्छिन् ।
टोल, छिमेक, गाउँघर, पूरै नगरपालिकामा कसैको घरमा महिला हिंसाका घटना भए त्यसको खबर पहिले यिनकै घरमा पुग्छ । सासू–बुहारी झगडा गरे वा श्रीमान–श्रीमती कुटाकुट गरे, खबर हीराका कानमा परिहाल्छ । उनी घरको काम छाडेर त्यतै दर्गुछिन् । सबै पक्षको कुरा सुन्छिन् र झगडा मिलाइदिन्छन् ।

२०५३ सालमा आफूलाई पढाउने शिक्षकसँग मागीविवाह गरेकी थिइन् हीराले । श्रीमान बिरामी परे । जति उपचार गर्दा पनि निको भएन, ०६३ सालमा परलोक भए । यस घटनाले उनी मर्माहत भइन् । ‘अनुशासनलाई मूलमन्त्र मानेर आत्मविश्वाससाथ अघि बढ्ने अठोट गरेकी छु’, उनी भन्छिन्, ‘कसैले केही प्याच्च भन्यो भने धेरै चित्त दुख्छ ।’

पछिल्ला दिन उनले आफ्नो सामाजिक कार्यलाई अझ प्रभावकारी किसिमले अघि बढाइरहेकी छन् । यो पंक्तिकार ०७१ फागुन २३ गते बिहान घर्तीको घर पुग्दा उनलाई यस्तै झगडा मिलाइदिन आग्रह गर्दै छिन्चु इलाका प्रहरी कार्यालयबाट तारन्तार फोन आइरहेको थियो । त्यतिबेला पनि भेरीगंगा नगरपालिका–१२ कै एउटा घरपरिवारमा भएको विवाद मिलाउन जान उनलाई हतार थियो ।
‘बुहारीले सासूलाई बोक्सी भनेपछि सासू पक्षका मान्छे प्रहरी कार्यालय पुगेका छन् रे ! बोला’बोलायै छन्,’ उनले मोबाइलमा कुरा गरिसकेपछि पङ्क्तिकारसँग भनिन्, ‘मलाई छिटो त्यहाँ पुग्नुपर्ने भयो ।’

मोबाइलमा कुरा सकेर उनले आँगनमा उभिएका एक पुरुषलाई अह्राइन्, ‘तपाईं प्रहरी कार्यालय पुग्दै गर्नुस्, म आउँछु । झगडा जसरी पनि मिलाउनुपर्छ ।’

घर्तीका अनुसार २०७१ सालको संविधानसभा चुनावपछि १२ नम्बर वडाकै एउटा परिवारमा श्रीमान र श्रीमतीबीच कुटाकुटै भएछ । कुटाकुटको कारण पारिवारिक विवाद नभई राजनीतिक थियो । श्रीमान एमाले समर्थक, श्रीमती कांग्रेस । श्रीमानले श्रीमतीलाई कांग्रेसले रक्सी बाँडेर चुनाव जित्यो भनेछन् । श्रीमतीले कतिबेला बाँडेको देखिस् भनेपछि भनाभन भएछ । पछि हात हालाहालसम्म भएछ । यही झगडाले श्रीमती १५÷२० दिन माइत बसिन् । ‘श्रीमतीलाई माइतबाट बोलाएर मिलापत्र गराइयो,’ घर्तीले अनुभव सुनाउँदै भनिन्, ‘उनीहरू सक्रिय कार्यकर्ता पनि होइनन्, सामान्य समर्थक हुन् तैपनि विवाद त्यहाँसम्म पुगेछ ।’

एकपटक आफ्नै परिवारभित्र पनि एउटा विवाद छिनोफानो गर्नुपर्‍यो हीरालाई । उनका अनुसार जेठाजुचाहिँ धेरै पहिलादेखि श्रीमती कुट्दारहेछन् । सुरुसुरुमा हीरालाई कहिलेकाहीँको झगडा होला, आफैँ मिलाउन् भन्ने लाग्यो । चासो दिइनन् । ‘एक दिन त रगताम्य हुनेगरी हान्नुभएछ, जेठानी दिदी सुन्निएको मुख लिएर आउनुभयो,’ हीराले भनिन्, ‘कुटाइ खाएपछि दिदी तीन दिनसम्म घरको छतमै सुत्नुभएछ । घाउको पीडा अति बढेपछि मकहाँ आउनुभएको थियो ।’

हीराकै नेतृत्वमा टोलछिमेक राखेर यो जोडीको मिलापत्र त भयो तर एक वर्षसम्म दुईजनाबीच बोलचाल नै भएन । ‘अहिले बोलचाल छ, कुट्न पनि छाड्नुभएको छ,’ उनले सुनाइन् ।

Hira devi11हीराले तीन वर्षसम्म स्थानीय छलफल केन्द्रको सहजकर्ताका रूपमा काम गरिन् । यही अनुभवले उनमा टोल, छिमेक, गाउँघरमा केही झगडा हुनेबित्तिकै अघि सर्ने बानी पर्‍यो । अहिले त उनीकहाँ हरेक झगडाको सूचना सुरुमै आइपुग्छ । उनकै नेतृत्वमा थप दुईजना सहजकर्ता पनि तयार भए । केन्द्रका सहभागीमाझ टोलछिमेक र वरपरका घरपरिवारमा भएका घटनाबारे छलफल हुन्छ । महिला अधिकार र हिंसासँग जोडिएका जुनसुकै घटना र मुद्दा समाधानमा केन्द्रका अध्यक्ष, सहजकर्ता र सहभागी जुटिहाल्छन् ।

हीरासँग सहजकर्ताको मात्र अनुभव छैन । उनले स्थानीय दर्जनौँ संरचनामा नेतृत्व र प्रतिनिधित्व गरेकी छन् । त्यसमध्येको एउटा हो– गौरीशंकर सामुदायिक वन । उनी यसमा कार्यसमिति सचिव छिन् । यसअघि उनी महिलामात्र सहभागी सिर्जना सामुदायिक वनमा थिइन् । त्यसमा कार्यसमिति अध्यक्षदेखि सबै पदमा महिला थिए । ‘यी दुई वन गाभिँदा महिलालाई अध्यक्ष दिनुपर्छ भनेर कति माग गर्‍यौँ तर दिइएन,’ हीराले भनिन् । जबकि गौरीशंकरमा गाभिनुअघि सिर्जना सामुदायिक वन सुर्खेतका ३० वटा उत्कृष्ट वनमध्ये १ नम्बरमा परेको थियो । त्यसबापत साढे २ लाख रूपैयाँ पुरस्कारसमेत पाएको थियो । त्यो रकम पनि गौरीशंकरकै खातामा जम्मा भएको छ ।

उनी सचिव भएपछि त्यहाँका महिला उपभोक्ताले धेरै राहत पाएका छन् । चाडबाडका समयमा घाँस काट्न पाएका छन् । ‘यहाँ बसेर महिलाको सुविधाकेन्द्रित निर्णय गरिरहेकी छु,’ हीराले भनिन् ।

सामुदायिक वनका उपभोक्ता दुलेल टोलका ६७ वर्षीय नौलसिङ वली कार्यसमितिमा सबै पुरुष हुँदा उनीहरू राजनीति मात्र गरेर बस्ने गरेको अनुभव सुनाउँछन् ।

‘महिला पनि आएपछि अहिले दलगत राजनीत बन्द भएको छ । वन संरक्षण र व्यवस्थापनका काम हुन थालेका छन्,’ उनले अनुभव सुनाए ।
अर्का उपभोक्ता झकबहादुर घर्ती भन्छन्, ‘हीराको काम गर्ने तरिका निकै राम्रो छ । पुग्नुपर्ने ठाउँमा पुगेकी छन् । महिलालाई केन्द्रित गरेर नियम बनाएकी छन् । सबैलाई सजिलो भएको छ ।’

सामुदायिक वन कार्यसमिति सदस्य मनबहादुर पुन पनि छलफल केन्द्रले यहाँका महिलालाई जागरुक र शिक्षित बनाएको अनुभव सुनाउँछन् । ‘अहिले त अधिकार माग्छन्, पद माग्छन् । पुरुषले भन्दा चर्को स्वरमा भाषण गर्छन्,’ उनले भने, ‘पुरुषको कारबाही प्रक्रियाभन्दा महिलाको सम्झाउने प्रक्रिया बढी प्रभावकारी भएको देखेको छु । हीराले नेतृत्व लिएदेखि यस्ता विवाद धेरै सुल्झिएका छन् ।’

पुनले महिला उपस्थितिबिना वन संरक्षण हुन नसक्ने अनुभव सुनाए किनकि वनलाई पुरुषको तुलनामा बढी माया गर्छन् महिलाले । कार्यसमितिमा महिला हुँदा पैसा पनि कम खर्च हुने गरेको छ । ‘वन कर्मचारीलाई पुरुष पदाधिकारीले खाजा खुवाउन लगे भने धेरै खर्च गर्छन्, उनीहरूको नास्तापानीमा मदिरा पनि हुन्छ । महिलाले खुवाउँदा हुँदैन । कम खर्च गरे समूहको खातामा बचत बढी हुन्छ,’ पुनले कार्यसमितिमा महिला उपस्थितिको फाइदा दर्साइन् ।

उनका अनुसार कार्यसमितिमा हीरा आएदेखि हिसाबकिताब तलमाथि हुन पाएको छैन । सानातिना खर्च पनि दुरुस्त लेखेर राखिन्छ । सबै पारदर्शी र स्पष्ट छन् ।

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, छिन्चुकी अध्यक्ष पनि हुन् हीरा । उनकै नेतृत्वमा करिब ११ लाख रूपैयाँको ‘मूल्य शृंखला’ नामक कार्यक्रममार्फत अनुदानमा खसीबोका पाल्न दिएको छ सहकारीले । यसको उद्देश्य महिलालाई व्यावसायिक बनाउनु हो । यसबाट २६ जना महिला लाभान्वित छन् ।

‘छिन्चुमा पहिलोपटक यो कार्यक्रम आएको हो’, सहकारीकी व्यवस्थापक पार्वती वलीले भनिन्, ‘हीराजीकै पहलमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना पनि संस्थाले पाएको छ ।’

हीराले हरेक समूहको बैठकमा उपस्थित भएर महिलालाई बचत गर्न हौसला दिने गरेको उनले सुनाइन् ।
सहकारीकी लेखा संयोजक हरिकला बस्नेत (सिंह) को अनुभवमा हीराले सहकारी संस्थाका कर्मचारी र समूहका महिलालाई नेतृत्व विकासमा पनि सघाइरहेकी छन् । ‘नेतृत्व लिन र दिनसक्ने क्षमताको विकास गर्न सबै महिला दिदीबहिनीलाई हौसला दिइहरनुहुन्छ,’ उनले हीराको कार्यशैलीबारे भनिन् ।

त्यसो त हीराले आफ्नो नेतृत्व विकासका लागि शिक्षामा पनि जोड नदिएकी होइनन् । उनले अघिल्लो वर्षमात्र एसएलसी परीक्षा दिइन् तर गणित विषयमा अनुत्तीर्ण भएपछि उनको यो धोको अधुरै छ ।

उनी ०५४ देखि कुनै न कुनै रूपमा सामाजिक संघसंस्था र तिनका गतिविधिमा संलग्न हुन थालेकी हुन् । दिगो विकास कोषकी स्थानीय स्वयंसेवक, साथी संस्थाकी पारा काउन्सिलर, महिला अधिकार मञ्च सञ्जालकी सचिव पनि हुन् उनी । हीराले मेलमिलाप केन्द्रमा पनि काम गरिन् । रेडक्रस सोसाइटीको युवा र महिला समूहको सचिव भएर पनि सेवा दिइसकेकी छन् । उनले पशुपालन, परामर्श, महिला नेतृत्व र नेतृत्व विकास, भिडियो डकुमेन्ट्रीलगायत थुप्रै तालिम लिएकी छन् । उनले नेपाल वातावरण पत्रकार समूहबाट महिला आवाज कार्यक्रमअन्र्तगत भिडियो वृत्तचित्र तालिम दिएकी छिन् । उनले वृत्तचित्र पनि बनाएकी छन् ।

‘काखमा बच्चा च्यापेर ०५४ सालदेखि सामाजिक काममा हिँड्न थालेकी हुँ । केटाकेटी हुर्किएर विवाह भइसक्यो तर मेरो यात्रा जारी छ,’ उनले ०७१ फागुन २३ गते आफ्नो घरको आँगनमा पंक्तिकारसँग भनिन् ।

हीराले भनेझैं उनकी जेठी छोरीको एसएलसीपछि विवाह भइसकेको छ । जेठो छोरो ९ र कान्छी छोरी ८ मा पढिरहेका छन् ।
हीराको अभियान रोकिएको छैन ।

(याे लेख अक्स्फामका लागि रेडियो सगरमाथाद्वारा तयार पारिएको  ‘सफलताका  पाइलाहरू ‘  नामक पुस्तकबाट साभार गरिएकाे हाे। )

प्रकाशित मिति २०७२ माघ ४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: