सफल महिला नेतृत्वकी मानक


प्रकाशित मिति :2016-01-19 15:37:02

आफू संलग्न दर्जनौँ संस्थाका बैठक, अन्तरक्रिया र छलफलमा भाग लिन र विकास–निर्माणका प्रस्ताव लैजान धनमायालाई भ्याइनभ्याइ हुन्छ । त्यसो त उनी औपचारिक शिक्षाका नाममा ४ कक्षाभन्दा माथि उक्लेकी छैनन् तर स्थानीय तहमा कुनै समिति बनाउनुपर्‍यो भने सबैले उनकै नाम लिन्छन् । छलफल कक्षा, तालिम, अन्तर्किया र अनुभवले आफूलाई उनले यसरी खारेकी छिन् कि महिलाले नेतृत्व पाए भने पुरुषले भन्दा राम्ररी स्थानीय संरचना हाँक्न सक्छन् भन्ने मानक नै बनेकी छन् धनमाया बुढा ।

धनमाया बुढा

गुमी गाविस–६, माथिल्लो भर्लेनीकी सामाजिक नेत्री धनमायाको दिनचर्या मात्र फेरिएको छैन, समाज र परिवारको सोचमै परिवर्तन ल्याएकी सफल भएकी छन् उनी । ‘कतै हिँड्न थाल्यो भने जहिल्यै श्रीमान रिसाउनुहुन्थ्यो, जा उतै बस्, कहिल्यै नआइज भन्नुहुन्थ्यो,’ ३६ वर्षीय धनमाया बुढा सुरुसुरुका दिन सम्झिन्छन्, ‘अहिले त बाटोका लागि खाजासमेत ठिक्क पारिदिनुहुन्छ, मोबाइल नछुटाउन सम्झाउनुहुन्छ ।’

sm

सुरुसुरुमा त श्रीमानलाई बुझाउनै कठिन भयो उनलाई । ‘अरू कोही हिँड्दैनन्, तँ मात्र बाहिर किन हिँडिरहन्छेस् भन्नुहुन्थ्यो,’ पछिल्ला दिनको अनुभव धनमायाले यसरी सुनाइन्, ‘तर अहिले धेरै फेरिनुभयो, मैले केही भनिरहनुपर्दैन, आफैँ बुझ्नुहुन्छ ।’ उनका श्रीमान खेतीपातीको समयमा घरमै काम गरेर बस्छन् । अन्य समयमा भारत, अलमोडामा काम गर्न जान्छन् ।

त्यसो त धनमाया आफैँ पनि निकै बदलिएकी छन् । यो सबै छलफल कक्षा र तालिमकै परिणाम हो । पाँच वर्षअघिसम्म नजिकको वनमा घाँस चोर्न जान्थिन् । सामुदायिक वनको साधारणसभा चलिरहेको मौकामा चोरी गर्न जाने गरेको क्षण उनी कहिल्यै बिर्सन सक्दिनन् । अहिले उनी आफैँ वन हेरालु छिन् । दिनरात वन जोगाउन खटिन्छिन् । ‘ती दिन सम्झिँदा अहिले पनि हाँसो उठ्छ, म पनि त्यस्तो थिएँजस्तो लाग्छ,’ उनले आफ्नो विगत यसरी खुलाइन्, ‘म कस्तो थिएँ भन्ने पुष्टि यही घटनाले गर्छ ।’

टोल, छिमेक, समाज र पूरै गाविसमा बिस्तारै धनमायाका सामाजिक कार्यको प्रशंसा हुन थालेको छ । सबैतिर उनको नेतृत्व खोजी हुन थालेको छ । सबैका मुखबाट उनकै प्रशंसा सुन्न थालेपछि उनका श्रीमानको व्यवहारमा पनि एकाएक परिवर्तन आएको छ ।

अहिले वडा र गाउँतहमा धनमायाले नेतृत्व र प्रतिनिधित्व नगरेको सायदै कुनै संस्था होलान् । उनी हरेक संघसंस्थामा कुनै न कुनै रूपमा संलग्न छिन् । भौतिक शरीरभन्दा पनि उनको बुझाइ र नेतृत्व क्षमताका कारण सबै उनलाई सम्झन पुग्छन् ।

छलफल कक्षा, तालिम, गोष्ठी र अन्तरक्रिया बाट तिखारिएकी उनलाई स्थानीय संरचना र त्यसमा महिला नेतृत्वबारे राम्ररी थाहा छ । सिलाइकटाइ, सुधारिएको चुलो, क्षमता वृद्धि र नेतृत्व सीप, योजना तर्जुमा, सामाजिक अंकतालिका, सूचनाको हकलगायत दर्जन बढी तालिम लिएकी उनी जुन संस्थामा प्रतिनिधित्व गर्छिन्, त्यहाँ केही न केही परिवर्तन ल्याउन सफल हुन्छिन् । हरेक काममा उनको प्रभावकारिता बढ्दो छ ।

धनमाया नेपाल राष्ट्रिय शिव प्राथमिक विद्यालय निर्माण समितिकी अध्यक्ष र विद्यालय व्यवस्थापन समितिकी सदस्य हुन् । वडा नागरिक मञ्चकी सदस्य, दोस्रो खानेपानी उपभोक्ता समिति ५ र ६ की उपाध्यक्ष, वडास्तरीय महिला सञ्जालकी अध्यक्ष र गाविसकी सदस्य हुन् । वडा नं ५ र ६ गाउँस्तरीय क्लिनिककी अध्यक्ष पनि धनमाया नै हुन् । यतिमात्र कहाँ, लामापोखरी सामुदायिक वनकी हेरालु पनि हुन् उनी ।

आफू संलग्न दर्जनौँ संस्थाका बैठक, अन्तरक्रिया र छलफलमा भाग लिन र विकास–निर्माणका प्रस्ताव लैजान धनमायालाई भ्याइनभ्याइ हुन्छ । त्यसैले उनी बिहान तीन बजे नै उठ्छिन् । घर सफा गर्ने, पानी ल्याउने र खाना पकाउने काम लगभग पाँच बजेसम्म सकिन्छ । दुई छोरी र एक छोराकी आमा धनमायालाई उनीहरूको स्कुल तयारीमा पनि त्यत्तिकै हतारो हुन्छ । गोठमा एकहल गोरु र ५ वटा बाख्रा पालेकी छन् । तिनलाई खानपिनको व्यवस्था गर्दा ६ बजिसक्छ । अब उनलाई सामाजिक काममा निस्कन हतार भइसकेको हुन्छ ।

‘घरपरिवार, टोल छिमेक र समाजलाई मिलाएर अघि बढिसक्नुभएको छ,’ स्थानीय शान्ति सामुदायिक छलफल केन्द्रकी सहजकर्ता दिलमाया सुनार भन्छिन् । उनकै शब्दमा सबैलाई मिलाउने क्षमताकी धनी छिन् धनमाया । निष्पक्षरूपमा काम गर्छिन् । यी दुई गुणले पनि सबै संरचनामा उनको माग भइरहन्छ ।

आफू अध्यक्ष रहेको गाउँघर क्लिनिकको दुईकोठे भवन बनाइन्, त्यसमा शौचालय व्यवस्था गरिन् धनमायाले । ‘स्थानीय घन्टौँ हिँडेर स्वास्थ्यचौकी पुग्थे, यो क्लिनिक बनेपछि निकै सजिलो भएको छ । उहाँले गाविसको रकम जोरजाम गराएर ल्याउनुभयो,’ क्लिनिकनजिकैको गुमी–६, भर्लेनीका स्थानीय शेरबहादुर बुढाले भने, ‘गर्भवती र बालबालिकाले खोप लगाउन पाएका छन् । निःशुल्क औषधि पाएका छन् ।’

विद्यालय निर्माण समितिमा बसेर धनमायाले थप एक कक्षाकोठाका लागि गाविसबाट बजेट निकासा गराउन सफल भइन् । टुहुरा बालबालिकाका लागि छात्रवृत्ति र पोसाक व्यवस्था गरिन् । सदस्यका हैसियतले आफैँले प्रस्ताव लगेर यो काम गरेकी थिइन् उनले । नियमित सरसफाइको तालिका बनाएर लागू गराइन् ।

‘पुरुष नेतृत्वमा आउँदा राजनीति बढी हुने, काम नहुने हुन्थ्यो । उहाँ आएपछि राजनीतिक विवाद कम भएको छ । रोकिएका काम पनि भएका छन्,’ प्रधानध्यापक गौतम पुन भन्छन्, ‘महिला भए पनि श्रमदानबाट गरिने कामहरू पनि सरल भएका छन् । उपभोक्तालाई काममा लगाउन र सहमत गराउन सजिलो भएको छ ।’

खानेपानी उपभोक्ता समितिमा उपाध्यक्ष रहँदा उनले क्लिनिकमा धारो पुर्‍याइन् । वडा नं ६ मा दुइटा धारा थपिन् । उनकै नेतृत्व र पहलमा ‘एक घर एक धारा’ को अवधारणा लागू हँुदैछ गाउँमा । यसका लागि बजेट ल्याउने पहलमा छिन् अहिले उनी । यतिमात्र होइन, विवाह, दुःखपरेका बेला र घर ढलान गर्ने बेला सहजरूपमा पानी उपलब्ध गराउने निर्णय पनि गराएकी छन् धनमायाले । ‘पहिला–पहिला १४ घरपरिवार एउटै धाराको पानी खान्थे । अहिले ६ घरपरिवारले एउटा धाराको पानी खान्छन्,’ गुमी–६, माथिल्लो भर्लेनीकी डिल्लीकुमारी थाडाले भनिन्, ‘गाग्री बोकेर माथि जानुपथ्र्यो, घन्टौँ लाइन बस्नुपथ्र्याे, अहिले ढुक्क छ ।’

यी सबै विकास–निर्माणका काम गाउँ विकास समितिको कार्यालयमा गएर ठोकिन्छन् । स्थानीय संरचनाका विकास र गठनमा केही न केही भूमिका गाविसको पनि हुन्छ । पछिल्लो समय यो निकायमा महिला नेतृत्वको प्रभाव बढ्दै गएको छ ।

गुमी गाउँ विकास समिति कार्यालयका सामाजिक परिचालक खिम विक भन्छन्, ‘गाविस परिषद बैठकमा धनमायाले धेरै प्रभाव पार्नुभएको छ । विशेषगरी महिला नेतृत्वमा भइरहेका विकास निर्माणका लागि बजेट माग गर्ने मुद्दामा उहाँको जोडबल धेरै देखेको छु ।’ विकका अनुसार विद्यालयको छाना बनाउन, क्लिनिक, शौचालयका लागि भनेर जम्माजम्मी करिब ९३ हजार रूपैयाँ लगिएको छ ।

‘महिलाको नेतृत्व पारदर्शी भएको पाएको छु, रकम फछ्र्याेट र बिल भर्पाई बुझाउने सवालमा उहाँहरू निकै पारदर्शी र लगनशील हुनुहुन्छ, हिसाबकिताब पनि स्पष्ट हुन्छ,’ विकले महिला नेतृत्वको प्रशंसा गर्दै भने । गाविसमा महिला क्षमतावृद्धि र महिला लक्षित बजेट करिब २ लाख रूपैयाँ हाराहारी हुन्छ । त्यही बजेट सबै वडाले प्राथमिकताका आधारमा बाँड्छन् ।

धनमाया वन हेरालु भएपछि सामुदायिक वनमा काठ, दाउरा, हरिया रुख काटिने क्रम पनि रोकिएको छ । काठदाउरा चोरी भएका पहिलाका मुद्दा अहिले पनि छन् । पुर्जीबापत स्थानीय उपभोक्ताले उठाएको पैसा हिनामिना भएका मुद्दा पनि छन् । उनी हेरालु भएपछि यस्ता मुद्दा कम भएका छन् । ‘पुरुषलाई वन हेरालु राख्दा बदमासी गर्नेलाई पक्रने र जरिवाना तिराउने काम हुँदैनथ्यो, उनी आएपछि यो क्रम बढेको छ । जरिवानाको पैसा समूहमै जम्मा भएको छ,’ लामपोखरी सामुदायिक वन वडा न. २ र ७ का अध्यक्ष तथा समूहका सहसचिव दिलबहादुर गुरुङले भने, ‘पुरुष हेरालु राख्यो, सधैँ रक्सी खाएर घर बस्ने, वन नजाने गर्थे । अहिले यो समस्याबाट पनि मुक्ति पाएका छौँ ।’

धनमाया वनको रेखदेखसँगै त्यसको संरक्षणको काम पनि गर्छिन् । ‘आँसी लिएर जान्छु, वनमारा फाँड्छु, रुख बिगार्ने लहरा पनि काट्छु,’ उनले भनिन्, ‘अब वनभित्रका वनमारा र लहरामात्र होइन, टोल–छिमेक र समाज बिगार्ने जोकोहीलाई तह लगाउन सक्छु भन्ने साहस बढेको छ ।’

गुमीकै अर्की सहजकर्ता पुष्पा पहाडी धनमायाबारे भन्छिन्, ‘०६६ सालमा पहिलोपटक एउटा कार्यक्रममा भेट भएको धनमायाजीसित ।

त्यतिबेला उहाँलाई लेख्न र बोल्न आउँदैनथ्यो, साथीहरूबीच परिचय गर्ने कार्यक्रम थियो । केही नजानेपछि मैले नै सिकाएकी थिएँ ।’

प्रकाशित मिति :२०७२ माघ ५ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: