रगंकर्ममा पनि महिलामाथि विभेद


प्रकाशित मिति :2016-01-19 16:16:23

‘परिवार र आफन्तले विभिन्न चरित्रमा छोरीलाई नाटकमा देख्दा पेशा छोड्न दवाव आउने भएकाले पनि महिला कलाकार पारिवारिक तनावमा बस्नुपर्ने अवस्था छ ।’

वर्षा शाह

काठमाडौ‌ । उपत्यकामा नाम चलेका नाटक घरहरू मण्डला, शिल्पी, सर्बनाम, काठमाडौ‌ मल, थियटरहरूले दर्शकलाई नाटकको नयाँ नयाँ स्वाद दिईरहेका छन् । तर, यी रङ्गमञ्चहरूमा देखिने महिला रङ्गकर्मीहरू हाकाहाकी भन्छन, ‘अहिले पनि यो क्षेत्रमा भविष्य सुरक्षित छैन ।’ सबै नाटक घरमा अभिनय गर्ने रङ्गकर्मी महिलाको संख्या २५ को हाराहारी छ ।

सिर्जना अधिकारी तिनै मध्येकी एक हुन् । आठ वर्ष अगाडी नेपाली रङ्गमञ्चमा प्रवेश गरेकी काठमाडौंकी अधिकारी अहिले मण्डला थियटरमा छन् । डबली नाट्य समूह हुँदै मण्डला पुगेकी अधिकारी मण्डलाको संस्थागत समूहमा छन् ।

sirjana adhikari

तीन वर्षअघि विवाह गरेकी अधिकारी विवाहको दोश्रो दिन पनि नाटक खेलेर विवाह भोजमा सहभागी भएकी थिइन् । शिक्षित परिवार भएपनि विवाह लगत्तै अब नाटक नखेले हुन्छ भन्ने प्रस्ताव घरबाट आयो । नाटकमै आफ्नो भविष्य देख्ने सिर्जना श्रीमानले साथ दिँदा आफूले सहजै यो प्रस्ताव अस्विकार गर्न सकेको बताउँछिन् । नाटकमै देखेर मन पराएर पे्रम विवाह गरेकाले सधैँ नाटकमा रमाउन दिने भनेर श्रीमानले साथ दिएपछि सिर्जनालाई आफ्नो काममा सक्रिय हुन् सजिलो भएको छ ।

आफूसँगै अभिनय सिकेका सिर्जनाका धेरै साथी परिवारको सहयोग नपाउँदा रङ्गमञ्चबाट पलायन भएका छन् । समाजमा छोरा—छोरी, छोरी—बुहारी बिच हुने विभेदलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गर्ने सिर्जना नाटकले सामाजिक यर्थाथता झल्काउने बताउँछिन् ।

अहिले पनि लेखकहरूले महिला पात्रको भूमिका कम राखेर नाटक लेख्ने उनको भनाइ छ । महिलालाई कमजोर पात्रको रूपमा प्रस्तुत गरेर नाटक लेखिने हुँदा नाटक प्रस्तुतिमा पनि महिला कमजोर देखिने उनको गुनासो छ । आठ वर्षको अवधिमा अधिकारीले मलामी, चरणदास चोर, प्रयोगशाला, सुनकेशरी र डिगरी माईला नाटकमा अभिनय गरेकी छन् ।

महोत्तरीकी सरिता साहले रङ्गमञ्चमा अभिनय गर्न थालेको चार वर्ष भयो । काठमाडौंको शिल्पी थियटरमा नाटक गर्ने साहले जनकपुरका रेडियोमा धेरै नाटक  गरिसकेकी छन् । जनकपुरमा आफ्नो नाटक मन पराउनेको संख्या धेरै भएकाले थप राम्रो गर्न काठमाडौं छिरेको उनको भनाइ छ । शिल्पी मा नाटक सकेर बाहिर निस्कँदा आफूसँग फोटो खिचाउने दर्शकको भिड देखेर पनि सरितालाई आफूले राम्रै गरेको जस्तो लाग्दछ ।

तराईमा जन्मि, हुर्किएकी साह आफ्नो आवाजको कारण मुख्य भूमिका नपाउँदा दुःख लाग्ने बताउँछिन् । भन्छिन् ‘मुख्य भूमिका पाउन गोरो नै हुनु पर्दो रहेछ की क्या हो ।’ नाटकमा आम्दानी नभएपनि समाजको वास्तविकतासँग नजिक रहेर काम गर्न पाउने भएकाले यो क्षेत्रमा रमाउन सकेको उनको भनाइ छ । सरिताले हारजित, मेण्डोमाया,एल्लो कमेडी र झलेन्द् प्रसादको लिलामा अभिनय गरेकी छन् ।

sarita shah 1

धरानकी रेणुका कार्कीले रङ्गमञ्चमा अभिनय गर्न थालेको चार वर्ष भयो । चार वर्षसम्म शिल्पी थिएटरमा अभिनय गरेकी कार्की अहिले स्वतन्त्र रूपमा नाटक प्रस्तुत गर्दै आएकी छन् । रंगमञ्जमा महिला कलाकारले धेरै समस्या भोग्नु परेको उनी बताउँछिन् । उनी भन्छिन् ‘यौन हिंसामात्र हिंसा होईन् । कम पारिश्रमिक  थिएटर बाहिर अन्य काम गर्न नपाउनु पनि हामीले भोग्नु पर्ने हिंसा हो ।’

अवसरबाट बञ्चित हुनु परेकाले धेरै रंगकर्मी महिला आर्थिक रूपमा कमजोर भएको कार्कीको अनुभव छ । एउटा थिएटरमा मात्र सीमित रहेर काम गर्दा बाहिरका धेरै अवसर गुमाउनु पर्छ, त्यसैले आफूले स्वतन्त्र रहेर काम गरेको कार्कीको भनाई छ । महिला कलाकारले आफूले भोगेको समस्याका बारेमा अहिले पनि खुलेर कुरा गर्न सक्ने अवस्था छैन । उनले कोमा, सान्दाजूको महाभारत,  हारजित, एल्लो कमेडी र मेण्डोमायामा अभिनय गरेकी छन् ।

सर्वनाम थिएटरका सञ्चालक अषेश मल्ल पछिल्लो समय नाटकप्रति आकर्षण बढेको बताउँछन् । पहिला नाटक खेल्न र हेर्न नरूचाउने धेरै भएपनि २०६२—६३ को आन्दोलनपछि नाटकमा रूचि राख्नेको संख्यामा वृद्धि भएको मल्लको भनाइ छ । नाटक सिक्न आउने महिलाको संख्या बढेपनि यो पेशालाई निरन्तरता दिने निकै कम हुने मल्ल बताउँछन् ।

विवाहपछि धेरै कलाकारले अभिनय गर्न छाड्ने बताउँदै मल्ल भन्छन् ‘श्रीमानले श्रीमतीलाई र घरपरिवारले बुहारीलाई अभिनय गर्न पठाउने निकै कम छन् ।’ पछिल्लो समयमा युवापुस्ताले चलचित्र क्षेत्रमा जान नाटकलाई भ-याङ बनाउने गरेकोले पलायन हुनेको संख्या धेरै देखिएको उनको भनाई छ । सर्वनाममा मासिक तलबमा काम गर्ने तीन जना महिला कलाकार छन् ।

ashash malla

मण्डला थिएटरका सञ्चालक राजन खतिवडा महिला रंगकर्मीले निरन्तरता दिन नसक्नुमा परिवार नै प्रमुख कारक रहेको बताउँछन् । पछिल्लो समय महिला रङगकर्मीले मोडेनेला भनेर बनाएको समूहले पनि उनीहरूको नाटक प्रतिको मोह बुझ्न सकिने खतिवडाको भनाइ छ ।

समय—समयमा आफ्ना समस्याका बारेमा छलफल गर्ने र कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहने भएकाले पनि महिला सशक्त भएर आउने सम्भावना उनी देख्छन् । तर, नाटकमा अभिनय गर्नेहरू अहिले पनि आर्थिक रूपमा बलियो नभएकाले विकल्प खोज्दै काम छोड्नेहरू पनि उत्तिकै छन् ।

काठमाडौं मल थिएटरका सञ्चालक केदार श्रेष्ठ पुरूषलाई कठिन रहेको कला क्षेत्रमा महिलाले सहज अवस्था नरहेको बताउँछन् । परिवार र आफन्त नै नाटक हेर्न पुग्ने भएकाले विभिन्न चरित्रमा छोरीलाई नाटकमा देख्दा पेशा छोड्न दवाव आउने भएकाले पनि महिला कलाकार पारिवारीक तनाव लिएर बस्नु पर्ने उनको तर्क छ । उनी भन्छन्, ‘बालकृष्ण समको पालामा जस्तो पुरूषलाई महिला बनाएर खेल्न पर्ने अवस्था छैन । त्यसैले यस क्षेत्रमा विस्तारै महिलाको संख्या बढ्छ भन्ने मलाई लाग्छ ।’

प्रकाशित मिति २०७२ माघ ५ गते म‌गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: