रुपा गहतराज
नेपालगञ्ज । महिला प्रहरीलाई कुटपिट गर्ने विरुद्ध बाँके प्रहरीले आज जिल्ला अदालतमा सार्वजनिक मुद्दा दर्ता गरेको छ । ड्यूटीमा रहेका प्रहरी हवलदार बावरी चन्द र जवान भगवती शाहीमाथि गत सोमवार साँझ वीपी चोकका एकै परिवारका तीन दिदी बहिनीले कुटपिट गरी घाइते बनाएका थिए ।
ड्यूटीमा खटिएका महिला प्रहरीमाथि कुटपिट गर्ने ती दिदी बहिनीलाई सार्वजनिक अपराध ऐन अन्तरगत् प्रहरीले मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिनुभयो । प्रिया पोरवाल, सीमा पोरवाल र ललिला पोरवालले मोटरसाइकल पार्कि स्थल नजिकै आगो बालेपछि प्रहरी महिलाले आगो निभाउन अनुरोध गरेका थिए ।
पटक–पटक आग्रह गर्दा पनि आगो ननिभाएपछि महिला प्रहरीले आफंै आगो निभाउन खोज्दा उनीहरूमाथि दिदी बहिनी खनिएका थिए । .
प्रहरीले तीन दिदीबहिनी सहित उनीहरूको बुवालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । अदालतले उनीहरूमाथि थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ । ड्युटीमै रहेका सुरक्षाकर्मी महिला कुटिँदा पनि बाँकेका महिला अधिकारकर्मीले भने कुनै चासो दिएका छैनन् ।
घटना भएको २४ घण्टा वित्दा पनि महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंगठनले आवाज त परै जावस् विज्ञप्ति समेत निकालेका छैनन् । महिला मानव अधिकार रक्षक सञ्जाल बाँकेका अध्यक्ष अक्षरी पोख्रेलले कुटिएको खवर प्राप्त भएपनि व्यस्तताका कारण घटनाबारे विस्तृतमा बुझ्न नपाएको बताउनुभयो । अन्तर पार्टी महिला सञ्जाल बाँकेले पनि अहिलेसम्म घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । सुरक्षाकर्मी महिलामाथि कुटपिट हुनु खेदपूर्ण भएको बताउने गरेका महिला अधिकारकर्मीहरूले औपचारिक रुपमा भने त्यसको विरोध गरेका छैनन् ।
प्रकाशित मिति २०७२ माघ ६ गते बुधवार
Comment Here!