कानुनी अज्ञानताले बालविवाह बढ्यो
दैलेखमा २० वर्ष नपुगी विहे गर्ने ३२ प्रतिशत
भिम सिजापति
दैलेख । दैलेख र सुर्खेतको सिमाना जोड्ने दक्षिण पुर्वी भागमा पर्ने लाँलीकाँडा गाविसमा बालविवाहका घटना बढेको छ । बालविवाह न्युनिकारण गर्न चेतना जगाउने उद्देश्यले उक्त गाविसमा आयोजना गरिएको एक कार्यक्रमका सहभागीले कानुनी अज्ञानताकै कारण गाँउमा बालविवाह गर्ने बढेकोमा चिन्ता ब्यक्ति गरे ।
(परिपक्व उमेरमा विहे गरेका सुरेस रोकायको जोडी ।)
दैलेखकै सवैभन्दा बढी बालविवाह हुने गाविसका रुपमा रहेको लाँलीकाँडा गाविसमा अधिकाँशले बालविवाहबारे कानुनी व्यवस्था सम्वन्धी ज्ञानकै अभावमा वर्षेनी धेरै बालविवाह हुने गरेको स्विकार गरेका थिए । लाँलीकाँडा गाविसले राखेको तथ्याङ्कमै पनि २ वर्षयता ८० जोडीले बालविवाह गरेका छन् । बालविवाह कानुनविपरित भएको थाहा पाएपनि कहाँ र कसरी उजुरी दिने भन्नेबारे जानकारी नभएकाले समर्थन गर्नुपरेको लाँलीकाँडाकै १७ वर्षीय किशोर कुशल विसीले दुखेसो पोखे ।
गाँउघरमा धेरैजसो यौन दुव्र्यवहारका घटना हुने भएपनि कानुनी सहायताबारे ज्ञान नहुँदा र समाजमा बेइज्जत हुने डरले चुप लागेर सहनु पर्ने बाध्यता रहेको मालिका बाल क्लवकी उपाध्यक्ष पवित्रा वलीले लाँलीकाँडामै पुगेकी निमित्त महिला विकास अधिकृत मनसरा शाही समक्ष दुखेसो पोखिन् ।
सरकारी निकायबाट पीडितलाई सहयोग हुने नहुने बारे नै पीडितहरू बेखवर हुने र गाँउ घरकै ठुलावडाले मिलाउने परम्पराले यौन दुव्र्यवहार पढेको उनले बताईन् । कार्यक्रममा सहभागी बाल क्लवकी सदस्य प्रतिक्षा खड्काले बालबालिका हिंसामा परे के गर्ने भन्ने बारे थाहै नभएकाले कानुनी उपचारका उपायहरू भनिदिन निमित्त महिला विकास अधिकृत शाहीसँग आग्रह समेत गरिन् । कार्यक्रममा सहभागी धेरै अभिभावक र बालबालिकाले कानुनी अज्ञानताकै कारण बालविवाह बढेको बताए । अहिले बाल क्लव र विद्यालयहरूमा बालविवाहविरुद्ध अभियान चलेपछि न्युनिकरण हुने आशा सरोकारवालाले गरेका छन् ।
बालविवाह बढेसँगै न्यूनिकरणका लागि कानुनी उपायहरूबारे भएको छलफलमा जिज्ञासा राख्दै बालबालिका
१७ वर्षको उमेरमा विवाह गर्न मानिन
लाँलीकाँडास्थित धरमपोखराका भक्तबहादुर बस्नेत अहिले ४५ वर्षका भए । गाँउघरमा चलिआएको चलन अनुसार १७ वर्षको उमेरमै विहेका लागि बुवा आमाले विहेको तयारी भैरहँदा आफूले नमानेपछि रोकिएको बस्नेतले बताए । उनले गाउँकै परम्परा अनुसार २३ वर्षको उमेरमा अमृता कुमारी विसीसँग विवाह गरेका हुन् । विवाहका लागि राजी नभएपछि केही दिन बुवाआमा पनि रिसाएको बस्नेत सम्झन्छन् । भक्तबहादुर परिपक्व नभएसम्म विहे नगर्ने सोचकै कारण गर्न नमानेको हुँ । मातृ मृत्युदर र शिशु मृत्युदर बढेकाले आफ्नो परिवारको सुरक्षाका लागि पनि उमेर पुगेपछि विवाह गरेको र अरुलाई पनि उमेर पुगेपछि विवाह गर्न सुझाव दिने गरेको भक्त र अमृता निर्धक्क भएर सुनाउँछन् ।
आर्थिक, सामाजिक र भौतिक रुपमा परिपक्व भएपछि गरिएको विहेले भविष्यलाई दुःख नपाईने उनको अनुभव छ । उनले आफूले पढेर जागिर खाएपछि विवाह गरेका हुन् । भक्त मालिका उमाविमा निमावी तहको स्थायी शिक्षक हुन् भने अमृता गाँउकै महालक्ष्मी प्राविमा प्राधानाध्यापक छिन् ।
दुःख देखेर विहे गरिनँ ।
लाँलीकाँडा झुजका सुरेश रोकायले लाँलीकाँडा गाविसको आफ्नो गाँउमा सानैमा विहे गर्दा धेरैले दुःख पाएको देखेरै विहे नगरेको बताए । ‘आफूसँगै पढेकाहरूले पनि पढ्दा पढ्दै विहे गरे । सवैको देखेर सचेत भईयो,’ सुरेशले भने । पढाईमा रुचि, घर व्यवहारलगायतका कारण बाहिर जानुपरेपछि परिपक्व भएरै विहे गरेको उनले सुनाए । मावि तहको अंग्रेजी विषयका शिक्षक समेत रहेका उनले २२ वर्षको उमेरमा दुर्गा रावतलाई विहे गरे । अंग्रेजीबाट एम.एड. गरेका रोकाय र उनकी पत्नी दुर्गाले पनि वि.एड. सकेकी छिन् । दुवैले एक अर्कालाई मन पराएर घर सल्लाहमै विहे गरेको बताए ।
दैलेखमा बालविवाह र कानुनी व्यवस्था
राष्ट्रिय जनगणना २०६८ को तथ्यांक विवरणमा दैलेखमा १० वर्ष नपुग्दै ८९४ जनाले विवाह गरेका छन् । त्यो उमेरमा विवाह गर्ने पुरुष १६३ र महिला ७३१ जना छन् । त्यसपछि १०–१४ वर्ष उमेरमा १३ हजार ३६४ ले विवाह गरेका छन् । यी मध्ये २ हजार ८ सय ११ पुरुष र १० हजार ५ सय ५३ महिला छन् । सोही तथ्यांक अनुसार १५–१९ वर्षको उमेर विवाह गरेको ७० हजार १ सय ६६ जना रहेका छन् । यो उमेरमा विवाह गर्ने पुरुष २६ हजार ७ सय ६० र महिला ४३ हजार ४०६ भएको देखिएको छ । यसरी तथ्यांक केलाउदा २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या ८४ हजार ४ सय २४ जना अर्थात ३२ दशमलव २५ प्रतिशतले बाल विवाह गरेका आफैँले विवरण दिएका छन् ।
नेपालको विवाहवारी सम्वन्धी कानूनले अभिभावकको सहमतीले १८ वर्षपुगेपछि र केटा–केटीको आफू खुशी विवाह गर्न पाउने उमेर २० वर्ष तोकेको छ, त्यो भन्दा कम उमेरमा विवाह गरे गराएको अवस्थालाई बालविवाह भनिन्छ । कानूनमा बालविवाह गराउने अभिभावकलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । बालविवाह गराउने पुरोहित, जन्ती जानेहरू र बालविवाहमा सहमती जनाउने सबैलाई १ महिना कैद वा १ हजार रुपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरेको छ ।
प्रकाशित मिति: २०७२ माघ ६ गते वुधवार
Comment Here!