घटना बाहिर आउनु हिंसाविरुद्ध जागरणको सूचक हो : प्रहरी महानिरीक्षक
महिला खबर
काठमाडौं। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सामाजिक व्यवहार, संस्कार र चेतनाका कारण महिलामाथि हुने अपराधमा कमी आउन नसकेको बताउनुभएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुखहरूको राष्ट्रिय कार्याशालामा बोल्दै अर्यालले पछिल्लो समयमा महिला र बालबालिकामाथिको अपराध बढेको बताउनुभयो। तर, यो राम्रो संकेत भएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो— ‘पछिल्लो समयमा हिंसाविरुद्धको चेतनाका कारण न्याय खोज्दै प्रहरीमा आउनेको संख्या बढेको छ, घटना यसरी बाहिर आउनु र बढ्नु अपराधविरुद्ध जागरणको सूचक हो।’ निरन्तर घटनाहरू यसरी बाहिर आएमा हिंसामा कमी आउने विश्वास उहाँको थियो।
दक्षिणपुर्वी एशिया मै नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा राम्रा काम भएको भन्दै उहाँले अझैपनि कानुनी सुधार र महिलामाथिको अपराध अनुसन्धान प्रभावकारी हुन नसकेको बताउनुभयो। प्रहरी संगठनलाई पनि लैंगिकमैत्री बनाउने प्रयास भइरहेको भन्दै उहाँले नयाँ बनेका र बन्ने संरचना यसै अनुसार बनाइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव यादव कोइरालाले शक्ति संरुचना यहि रुपमा रहुन्जेल महिला तथा बालबालिका माथिको हिंसामा कमी नआउने बताउनुभयो। पुरुष भएकै कारण जे पनि गर्न सक्छु भन्ने मानसिकताको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो ‘काम धेरै भएका छन्, तर सामाजिक मुल्य मान्यता, व्यवहार र सोचमा परिवर्तन नभएका कारण परिणाममा देख्न सकिएन।’
छरिएर रहेका कानुनका कारण पनि समस्या भएकाले एकिकृत कानुन बन्नुपर्नेमा उहाँको जोड थियो। ट्रान्जिट होम नहुँदा प्रहरीकहाँ आउने हिंसा पीडित महिलालाई राख्न समस्या भइरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो ‘हरेक ठुला शहरमा ट्रान्जिट होमको आवश्यकता पर्छ।’
प्रहरी अतिरिक्त महानिरिक्षक विज्ञानराज शर्माले महिला र बालबालिकामात्रै नभएर बृद्धबृद्धापनि जोखिममा रहेकोले यस तर्फपनि छलफल हुनुपर्ने औंल्याउनुभयो।
दुईदिनसम्म चल्ने यो राष्ट्रिय कार्याशालामा देशभरीबाट १ सय १० जना महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सहभागी छन्। कार्यशालाले सेवा केन्द्रले अहिलेसम्म गरिरहेका कामको समिक्षा गरी भावी कार्ययोजना बनाउने छ।
प्रकाशित मितिः २०७२ माघ ७ गते विहीवार
Comment Here!