प्रकाश सिंह
मैला (हुम्ला) । हुम्लाको सवैभन्दा विकट गाविस मैला बस्ने भावना बुढाले ४ महिना अघि गाविसमा रहेको मैला स्वास्थ्य चौकीमा बच्चा पाईन् । स्वास्थ्य चौकीमा बच्चा पाएको भएपनि उनले पाउनु पर्ने सुत्केरी भत्ता र न्यानो झोला पाइनन् । चार महिना बच्चा पाएको भएपनि आफूले सुत्केरी भत्ता र न्यानो झोला भने अहिलेसम्म नपाएको गुनासो पोखिन् ।
त्यस्तै सोही गाँउ की रमिला जैसीले पनि तीन हप्ता अघि मैला स्वास्थ्य चौकीमा बच्चा जन्माईन् । सरकारले दिने सुत्केरी भत्ता र न्यानो झोला पाउने आशमा स्वास्थ्य चौकीमा गएर बच्चा जन्माएँ, तर आफूलाई केही नदिएको उनले वताईन् । यी सुविधाका बारेमा बुझ्दा स्वास्थ्यकर्मीलाई तलवका लागिमात्रै रकम आएको र न्यानो झोला पनि नभएकाले नदिएको भन्दै कर्मचारीले आलटाल गरेको जैसीले वताईन् । भावना र रमिला जस्तै मैला गाबिसका अन्य स्वास्थ्य चौकीमा बच्चा जन्माएका महिलाले एक वर्षदेखि सुत्केरी भत्ता र न्यानो झोला पाउन सकेका छैनन् ।
मैला स्वास्थ्य चौकीमा प्रसूति सेवा केन्द्र स्थापना भएको एक वर्ष भयो । तर, स्वास्थ्य चौकीमा सुत्केरी हुँदा दिनुपर्ने प्रोत्साहन भत्ता र न्यानो झोला पाएका छैनन् । एकवर्षदेखि स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएका ७८ जना महिलाले प्रोत्साहन भत्ता र न्यानो झोला नपाएको स्वास्थ्य चौकीका ईन्चार्ज देवीलाल सुनारले जानकारी दिए । स्थायी कर्मचारी नबस्ने र जिल्लामा समन्वय अभावमा आमा सुरक्षा कार्यक्रमको सुविधा उनीहरूलाई दिन नसकिएको सुनारले वताए ।
आफूहरूले पटक पटक जिल्लामा पहल गरेको भएपनि यो सुविधा यहाँ ल्याउन नसकिएको अनमी जुनिला खोकालिङ्गले वताईन् । पटक पटक स्वास्थ्य व्यवस्थापन समितिमा कुरा राखेपनि स्थायी कर्मचारी नबस्ने भएकाले समस्या भएको उनको भनाइ थियो । पहिलाको अहेब सरुवा भएको एक वर्षसम्म स्थायी अहेब नआएकाले खाता सञ्चालनमा नआएकाले समस्या भएको उनले वताईन् । ‘हामीले दिनसक्ने सेवा सुविधा त दिइरहेका छांै, तर प्रोत्साहन भत्ता र न्यानो झोला दिन सकेका छैनौ, जिल्लाबाट जहिले आउँछ त्यसपछि दिन्छौं’ उनले भनिन् ।
स्वास्थ्य संस्थामा सुत्केरी गराइ मातृ र शिशु मृत्युदर घटाउने उद्देश्यले सुत्केरी भएका बेला हिमाली जिल्लामा १५ सय रुपैयाँ, नियमित चार पटक निः शुल्क गर्भजाँच गराए बापत ४ सय रुपैयाँ गरी १९ सय रुपैयाँ र न्यानो झोला पाउनु पर्ने अनिवार्य व्यवस्था सरकारले गरेको छ ।
सरकारले २०७१ को मंसिर महिनाबाट महिलालाई म्याक्सी र नवजात शिशुलाई टोपी, भोटोलगायतका सामान सहितको न्यानो झोला उपहार दिन सुरु गरेको हो । स्वास्थ्य संस्थामा सुरक्षित प्रसूतिका लागि महिलालाई आकर्षित गर्न र चिसो, सिताङ्ग र फोहोरजन्य संक्रमणबाट शिशुमृत्युदर कम गर्ने आमा र शिशुलाई उपहार दिन थालिएको हो ।
अझै थुप्रै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी भए वापत पैसा पाइन्छ भन्ने जानकारी पनि छैन् र आफूले पाएको छैन, बिकट गाउँका महिलालाई केही जानकारी छैन्, सरकारले के दिन्छ के दिँदैन्, आफूहरूलाई केही जानकारी हँुदैन्’ मैला गाविसकी भावना बुढाले भनिन् ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी नरेश श्रेष्ठले आमा सुरक्षा कार्यक्रम अन्र्तगतको कात्तिक महिनासम्मको पैसा खातामा हाली सकेको वताएका छन् । स्थायी अहेब त्यहाँ नगएकाले र स्वास्थ्य व्यस्थापन समितिको अध्यक्ष जिल्लामा नआएकाले खाता सञ्चालनमा समस्या भएको भन्दै उनले आलटाल गरे । एक वर्षदेखि स्वास्थ्य व्यवस्थापन समितिको खातामा पैसा हालिसकेको भएपनि सुत्केरी तथा गर्भवती महिलाले भने पाउन नसकेको उनले स्वीकार गरे ।
।
तस्बिर: प्रकाश सिंह
प्रकाशित मिति: २०७२ माघ ८ गते शुक्रवार
Comment Here!