महिला खबर
काठमाडौं। भूकम्प पीडित परिचयपत्र नपाएको पीडित र प्रभावितहरूले गुनासो गरेका छन्। सबैका लागि न्याय नामक संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपत्यका वरीपरीका भूकम्प पीडितहरूले सरकारी निकायका पदाधिकारी समक्ष राहत र परिचयपत्र नपाएको गुनासो गरेका हुन्।
कार्यक्रममा विशेष गरि महिला र त्यसमाथि पनि एकल महिलाले परिचय पत्र पाउन नसकेको गुनासो गरेका थिए। कार्यक्रममा बोल्दै साँखुकी भावना नेपालीले आफू एक्लै भएकै कारणले भूकम्प पीडित राहत परिचयपत्र नपाएको बताउनुभयो।
कार्यक्रममा गृह मन्त्रालयका अधिकृत जुसना भट्राईले भूकम्प प्रभावित बसेको ठाउ“को सुरक्षालाई मध्यनजर गर्दै गस्ती गर्न सुरक्षा निकायलाई परिपत्र जारी गरेको जानकारी दिनुभयो। अधिकृत भट्राईले भूकम्प प्रभावितको क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्थाले गरेको कामलाई समावेश गरेर प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो ।
त्यस्तै योजना आयोगका सह—सचिव गोपी मैनालीले विपदको समयमा स्रोत साधनको गलत प्रयोग हुने हुनाले यो विषयलाई पनि अनुगमनमा समावेस गर्न सुझाव दिनुभएको थियो । महिला बालबालिका तथा बृद्धबृद्धा सवैभन्दा धेरै प्रभावित भएकाले उनीहरूको विशेष आवश्यकतालाई मध्येनजर गर्दै छिटोछरितो परिचयपत्र वितरण गर्ने र पुर्ननिर्माण गरिनु पर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले भूकम्पबाट सवैभन्दा धेरै जोखिममा रहेका महिला बालबालिका र बृद्धबृद्धामाथि आइपर्ने जोखिम न्युनिकरणका लागि प्रहरीले काम गरिरहेको बताउनुभयो।
आयोजक संस्था सबैका लागि न्न्यायका अध्यक्ष शर्मिला श्रेष्ठले विपद सवैकालागि उत्तिकै भएपनि सवै भन्दा प्रभावित र जोखिममा रहेकाहरुलाई उनीहरलार्ई ध्यानमा राखेर नीति बनाउनुपर्ने बताउनुभयो। बिपद व्यवस्थापनमा बिभेद हुन नहुने भन्दै उहाँले राज्यले उनीहरूका लागि न्याय दिन नसकेको बताउनुभयो।
भूकम्पबाट उपत्यकाको सवै भन्दा प्रभावित साँखुका महिलालाई सीपमुलक तालिम दिइएको महिला विकास कार्यालय काठमाडौंले जनाएको छ।
प्रकाशित मितिः २०७२ माघ ८ गते शुक्रवार
Comment Here!