खेमा बस्नेत
धनगढी । धनगढी पार्क मोडको चाँदनी चोकमा आज पनि पहिलेको जस्तै भीड छ । सडकमा पातलो आवागमनका विच चोक किनारको ढेला वरिपरि भने मानिसहरू निक्कै झुम्मिएका छन् । ‘दिदी हामीलाई छिटो बनाई दिनु है’ पर छेउमा उभिएका दुई मध्ये एकले भने ‘हामी पहिले आएका हौं, ढिलो छ ।’
ठेला सञ्चालिका माया श्रीवास्तवको भने हात खाली छैन् । त्यही ठाउँमा लामो समयदेखि चटपटे बेच्दै आएकी उनलाई चटपटे दिदी भन्दा रहेछन् ।चटपटे दिदीले बनाएको चटपटे मिठो हुने भएकाले ग्राहकका आकर्षण बढेको थियो । लामो समयदेखि ठेलामा चटपटे विक्री गर्दै आएकाले पनि उनलाई चटपटे दिदी भनेर चिन्ने गरेको स्वयम् माया श्रीवास्तव बताउँछिन् ।
उनलाई चटपटे दिदी भनेको सुन्दा समेत नराम्रो लाग्दैन रे । किनकी चटपटे दिदी भनेर चिन्ने ग्राहक नै राम्रो आम्दानीका स्रोत भएको उनलाई थाहा छ ।
‘मलाई चटपटे दिदी भनेर चिन्छन् ।’ मायाले भनिन् ‘म चटपटे व्यवसाय गर्ने भएकाले कुनै अप्ठेरो पनि लाग्दैन । आखिर चटपटे दिदी भनेकै कारण मेरो व्यापार बढ्छ भने किन रिसाउँने ?’
ठेला व्यापार बाहेक मायाले घर व्यवहार पनि चलाउँनु पर्छ । विहान छोराछोरीलाई स्कूल पठाउँछिन् । घरधन्दाको मेलो सकेर वेलुका चटपटेको लागि चाहिने सामाग्री तयार गरी २ वजेतिर ठेला गुडाउँदै सधैको स्टेसनमा पुग्छिन् ।
चटपटे विक्री गरेर मायाले मासिक ९० हजारसम्म कमाउने गरेको बताउँछिन् । उनको चटपटे खान दैनिक युवायुवतीहरूको भीड नै लाग्ने गरेको छ । ‘यहीको कमाइले ६ जनाको परिवार पालेकी छु’ उनले भनिन् ।
उनले एक चटपटे बराबर १५ रुपैयाँमा लिने गरेको बताउँछिन् । चटपटेको लागि आवश्यक पर्ने भुजा, मसला,गेडागुढी र अमिलोमा लगाएतका सामग्री किन्न लगानी कटाएर विक्री भएको पैसा बचत हुने गरेको उनले बताइन् ।
उनले दैनिक दुई देखि ३ हजार रुपैयाँ सम्म कमाउने गरेको बताइन् । श्रीमानको कमाइ नभएको र जाँड रक्सी बस्न थालेपछि परिवार पाल्न आफूले चटपटे बेच्न लागेको उनको भनाई छ । सुरू सुरूमा ढेलाको व्यापार अल्छी लाग्दो भएपनि हाल आएर सानो लगानीमा सोचेभन्दा राम्रो कमाइ हुन थालेपछि श्रीवास्तव निकै खुसी छिन् ।
प्रकाशित मिति २०७२ माघ १० गते आइतवार
Comment Here!