दुर/ चार जनालाई एकैठाउँमा देख्दा पनि उनलाई डर र लाज लाग्थ्यो । ‘महिला पनि अरूसँग बोल्छन् र ?’ जस्तो हुन्थ्यो । महिलाले बोल्दा गल्ती हुन्छ कि भन्ने लाग्थ्योे । ‘मलाई नसोधी केही निर्णय नगर्नुहोला,’ खानीखोला–३, मुंग्रेकी ३२ वर्षीया चन्दा पुनले श्रीमान टीकाराम पुनलाई आग्रह गरिन् । १५ वर्षमा बालविवाह गरेर घर भित्रिएकी उनले आफ्ना श्रीमानलाई गरेको यो आग्रहका पछाडि थुप्रै घटनाक्रम जोडिएका छन् ।
चन्दा पुन
चार सन्तानकी आमा चन्दासँग ०५४ सालमा विवाह गरेर घर भित्रिँदा श्रीमानसँग बोल्ने साहस पनि थिएन । बुबाआमा सानैमा बितेकाले उनले विद्यालय शिक्षासमेत पूरा गर्न सकिनन् । पाँच कक्षामै पढाइ छाड्नुपर्यो । त्यसपछि विवाह भयो ।
घर आएपछि पनि उनमा पढ्ने रहर थियो तर आफ्नो त्यो इच्छा मनभित्रै दबाएर राखिन् । यतिसम्म कि श्रीमानसँग आफ्नो चाहना व्यक्त गर्ने हिम्मत पनि गर्न सकिनन् । ‘विवाह भएर आउँदा म स्कुल भर्ना हुन्छु भन्ने शक्ति पनि थिएन’, उनले भनिन्, ‘मैले कसैलाई भनिनँ । त्यतिबेला घरकाले बुझ्ने अवस्था पनि थिएन ।’
दुई/चार जनालाई एकैठाउँमा देख्दा पनि उनलाई डर र लाज लाग्थ्यो । ‘महिला पनि अरूसँग बोल्छन् र ? जस्तो हुन्थ्यो । हामीले बोल्दा गल्ती हुन्छ कि भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘घरमा काम आइपथ्र्याे, त्यही गर्नुपथ्र्यो ।’
खाना पकाउने, घाँस–दाउरा काट्ने र भैंसी गोठालो जाने प्रमुख काम थियो चन्दाको । घरबाहिरको काम र घरको कुनै पनि निर्णय श्रीमानले मात्र गर्नुपर्छ भन्ने छाप उनको दिमागमा सानैदेखि पारिएको थियो । माइतीमा हुर्किंदै गर्दा उनले त्यही सिकेकी थिइन् । सहारे गाविस भालुखोलास्थित माइतीघरमा हुर्किएकी थिइन् चन्दा । पुरुषप्रधान समाजमा हुर्किएकी उनी हरेक काम गर्दा श्रीमानको अनुमति लिन्थिन् ।
‘महिला भएर जन्मिनु नै गलत रहेछ भन्ने सोच्थेँ तर आजकल त्यस्तो लाग्दैन,’ चन्दाले विगत र वर्तमानबीचको फरक खुट्ट्याउँदै भनिन् ।
उनमा यो परिवर्तन त्यत्तिकै आएको होइन । यसबीचमा उनले धेरै कुरा सिकेकी छन् । सधैँ घरको काममा रुमल्लिने, कहिल्यै बाहिर ननिस्कने चन्दा अहिले दिनहुँ सामाजिक कामको पोको बोकेर निस्कन्छिन् ।
जब उनी गाउँको आमा समूहमा प्रवेश गरिन्, धेरै कुरा सिक्ने, थाहा पाउने अवसर पाइन् । आमा समूहमा बसेर काम गर्दा उनले महिलाका अधिकारबारे जानकारी पाइन् । महिला र पुरुषबराबर हुन्, यी दुवैका अधिकार समान छन् भन्ने अलिअलि बुझ्न थालिन् । महिला अधिकारसँग सम्बन्धित कानुन अध्ययन गर्न थालिन् ।
‘महिलाका विषयमा लेखिएका कुनै पनि कागज, पुस्तक देख्नै हुन्नथ्यो, पढिहाल्थँे । नबुझे श्रीमानलाई सोध्थेँ,’ आफूलाई ज्ञानले तिर्खादाको अनुभव सुनाउँदा उनलाई आनन्द लाग्छ । अहिले उनी आमा समूहकी सचिव भइसकिन् । यसबीचमा उनले स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि निर्वाह गरेकी छन् ।
‘सधैँ महिला र बालबालिकाका काममा हिँडिरहनुपर्ने भएपछि यसबीचमा मैले धेरै कुरा सिकेँ,’ उनले भनिन् । यो सिकाइ र भोगाइको प्रयोग घरबाटै गर्नुपर्छ भन्ने सोच आयो उनमा ।
चन्दाले सबैभन्दा पहिले आफ्नै श्रीमानसँग आफ्ना अधिकार माग्न थालिन् । घरको काम र जिम्मेवारी बाँडफाँट गर्न थालिन् । सुरुसुरुमा श्रीमानले उनका कुरा टेरपुच्छर लगाएनन् । चन्दाले हरेस खाइनन् । घरसँगसँगै समाजमा समेत महिला अधिकारका विषयमा कुरा उठाउन थालिन् । महिलालाई एकजुट गराउँदै लगिन् ।
बिस्तारै चन्दाले सफलता पाउन थालिन् । समाजमा महिला र पढेलेखेका पुरुषले उनको नेतृत्व क्षमताको प्रशंसा गर्न थाले । ‘यो देखेर श्रीमानको व्यवहारमा पनि परिवर्तन आयो । काम र जिम्मेवारीको बाँडफाँट हुन थाल्यो,’ परिवारमा परिवर्तनका शृंखला यसरी जोडिन पुगेको बताउँछिन् उनी ।
आफ्नै तरिकाले काम गर्ने र निर्णय गर्ने श्रीमान अचेल हरेक कुरामा चन्दासँग सल्लाह लिन्छन् । ‘हिजोआज खसी–बाख्रा बेच्नुपर्यो भने
पनि मलाई सोध्नुहुन्छ । यतिमात्र कहाँ हो र ! खाना पकाइदिने, भाँडा माझ्नेजस्ता घरेलु काममा पनि सघाउन थाल्नुभएको छ,’ उनले सुनाइन् ।
दुई वर्षअघिसम्म चन्दाका श्रीमान टीकाराम घरभित्रका काम केही पनि गर्दैनथे । पुरुषले खाना पकाउन र भाँडा माझ्न हुँदैन भन्ने सोचमा पूरै परिवर्तन आएको छ अहिले ।
२०५६ मा एसएसली टेस्ट परीक्षा पास गरेका टीकाराम आफैँ अहिले श्रीमतीका प्रशंसक बनेका छन् । ‘यस (चन्दा) को क्षमता र यसले भनेको कुराले गर्दा ममा परिवर्तन आएको हो । ऊ समाजमा बोल्नसक्ने भएकी छ । महिला हिंसाका कुरा स्पष्ट राख्छे । त्यसैले उसलाई सबैले पत्याउन थालेका छन्,’ टीकारामले भने ।
बाबुआमाले जे सिकायो, केटाकेटीले त्यही सिक्छन् भन्ने चरितार्थ भएको छ चन्दाको परिवारमा । उनका छोराहरूसमेत महिलाका अधिकारबारे बुझ्न थालेका छन् । आमाको व्यवहारले बुबामा परिवर्तन आएको हाकाहाकी भन्छन्, उनका माहिला छोरा सुरेश पुन ।
‘बुबाले काम गर्न थालेको दुई वर्षमात्र भयो । ममीले सिकाएकाले होला, सबै किसिमका काम गर्न थाल्नुभएको छ,’ सुरेशले सुनाए ।
यतिमात्र होइन, आफ्नी श्रीमतीमा घरपरिवार, टोल र समाजलाई मिलाएर लैजाने क्षमता देखेपछि टीकारामले पनि महिलाको पारिवारिक महत्व बुझ्न थालेका छन् । ‘परिवारको व्यवस्थापन गरेर समाज परिवर्तनमा छोरीको भूमिका धेरै हुन्छ भन्ने कुरा बुझियो, त्यसैले छोरी पाउने आसमा चार छोरा जन्माइयो ।’
टीकारामको कुरामा चन्दा पनि सहमत छिन् । चन्दाले ‘भो अब बच्चा नजन्माऔँ’ भन्दा पनि टीकाराम छोरीको आस गरिरहेका छन् । यसलाई परिवारभित्रको सबैभन्दा ठूलो परिवर्तन मान्छिन् चन्दा ।
चन्दा घरकी कान्छी बुहारी हुन् । टीकारामको विवाह नहुँदै उनका दुई दाजुको निधन भइसकेको थियो । आठ दिदीबहिनीमध्ये पाँच बितिसके । ७९ वर्षीय बुबा अमरबहादुर पुनलाई विगतले पिरोलिरहन्छ । कान्छीबुहारी चन्दाको क्षमता र छोरामा आएको परिवर्तन नै उनको बाँच्ने आधार भएको छ अहिले ।
‘गाउँठाउँ र समाज मिलाउनैपर्यो, देश फुटाउने काम नगरोस्, मिलाउने काम गरोस्, घरको काम हामी गर्छौं,’ अमरबहादुर छोराबुहारीको खुलेरै प्रशंसा गर्छन् र सफलताका निम्ति आशीर्वाद दिन्छन् ।
६ महिनाअघि मात्र सुरु भएको लालिगुराँस छलफल केन्द्रकी सहभागी पनि हुन् चन्दा । महिला हिंसा, अधिकार र नेतृत्वबारे अन्य सहभागीभन्दा उनले धेरै बुझेकी छन् । छलफल केन्द्र र समूहले गर्ने हरेक क्रियाकलापमा उनी नेतृत्व लिन्छिन् ।
लालीगुराँस छलफल केन्द्रकी सहजकर्ता तुलसा खनाल (खत्री) ले चन्दा धेरै पहिलेदेखि स्वास्थ्य स्वयंसेविका भएकाले छलफल केन्द्रका अरू सहभागीभन्दा क्षमतावान रहेको बताइन् ।
‘हरेक कामको नेतृत्व लिनुहुन्छ, जिज्ञासु हुनुहुन्छ र समस्याहरू जुनसुकै ठाउँमा पनि स्पष्टसँग राख्न सक्नुहुन्छ,’ चन्दाबारे तुलसाको बुझाइ छ । तुलसाका अनुसार चन्दाले मुंग्रे–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका लागि खानीखोला गाविसमा गएर ३० हजार रूपैयाँ बजेट निकासा गराइन् । ‘पहिला २० हजारमात्र दिएका थिए, चन्दा दिदी गएर कराउनुभयो, १० हजार थपिदिए’, उनले भनिन् ।
आमा समूह र छलफल केन्द्र मिलेर गाउँमा २ किलोमिटर सडक बनाएका छन्, चन्दाकै नेतृत्वमा । समाजसुधार बहुउद्देश्यीय सहकारी संस्था, लघुवित्त कार्यक्रम केन्द्रकी प्रमुख पनि हुन् उनी । प्राथमिकताका आधारमा केन्द्रबाट स्थानीयलाई ऋण उपलब्ध गराउनु उनको जिम्मेवारी हो ।
सहजकर्ता तुलसाका अनुसार छलफल केन्द्रका सहभागी र आमा समूहका सदस्यले स्थानीय तहमा घरझगडा पनि मिलाइरहेका छन् । राष्ट्रिय अभियान सफल पार्न स्थानीय तहमा कार्यक्रम पनि गरिरहेका छन् । तुलसाका अनुसार अन्तर्राष्ट्रिय महिला अभियान, नागरिकता तथ्यांक संकलन, विवाह दर्ता, जन्मदर्ता तथ्यांक संकलन गरिसकेका छन् । यी कागजपत्र नबनाएका घरपरिवारलाई बनाउन सघाउने काम पनि यिनै समूहको हो । ‘भौगोलिक विकटता र शैक्षिक स्तरका कारण यहाँका महिलालाई अघि बढ्न अझै पनि धेरै समस्या छ,’ तुलसाले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘पढेलेखेका पुरुषको संख्या कम छ, महिला अघि बढनुपर्छ भन्ने सोच अधिकांशमा छैन, हाम्रो प्रयासले चन्दा दिदीजस्ता दुईचारजना महिला सक्षम हुनुभयो भने समाज परिवर्तन हुन सक्छ ।’
प्रकाशित मिति :२०७२ माघ ११ गते साेमवार
Comment Here!