महिला खबर
सुनसरी । बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले सुनसरीको चाँदबेला गाविसलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाविस घोषणा गरिएको छ ।
चाँदबेला गाविस समिति र गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप–समितिको संयुक्त आयोजनँ र सरोकारवालाहरूको सहभागितामा बालविवाह मुक्त गाविस गरिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले चाँदबेलालाई बालविवाह मुक्त गाविस घोषणा गर्नुभएको हो ।
घोषणा कार्यक्रममा बोल्दै पन्थले समारोहमा बालविवाह समाजको कलंकको रुपमा रहेकाले त्यस्तो प्रथालाई सवै मिलेर निरुत्साहित गर्न चाँदबेलालाई बालविवाह मुक्त गाविस घोषणा गरिएको बताउनुभयो ।
यो गाविसमा थारू, खवास र झाँगड जातीको बाहुल्यता छ भने बाँतर र मुसहर र मुश्लिम जातीको पनि बाक्लो बसोबास रहेको छ ।
यी समुदायमा धेरै बालविवाह गर्ने चलन रहेको र बालविवाहले महिलाको व्यत्तित्व विकास, सामाजिक पारिवारिक र व्यक्तिगत शारीरिक विकासमा समेत असर पर्ने भएकाले बालविवाह मुक्त गाविस घोषणा गरिएको अगुवाहरूको भनाइ छ ।
सुनसरीको सदरमुकाम इनरुवादेखि पूर्व इटहरी उप महानगरपालिकादेखि दक्षिण, मधेली गाविस पश्चिम, औराबनी र सतेरझोरा गाविसको उत्तरमा रहेको चाँदबेलामा २६ जातजातीको बसोबास रहेको छ ।
यहाँ १ हजार २ सय ७९ घरधुरी र ३ हजार ४ सय २५ महिला र ३ हजार ४ सय ७३ पुरुष गरी ६ हजार ८ सय ९८ जनसंख्या रहेको छ ।
सदरमुकाम इनरुवासँग सिमाना जोडिए पनि शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक रूपले पछाडी परेकाले यी ठाउँमा बालविवाह हुने गरेको अगुवाहरूको भनाइ छ ।
प्रकाशित मिति : २०७२ माघ ११ गते सोमवार
Comment Here!