जमुना वर्षा शर्मा
पोख्रेली उद्योगपति हरि पाण्डेसँग जो कोही पनि परिचित छन् । तर, उहाँको सफलताका हरेक पाइलामा साथ दिने पर्दा पछाडिकी नायिका तुलसा पाण्डेलाई भने कमै मान्छेले चिन्छन् होला ? तुलसा उद्योगपति हरि पाण्डेकी जीवन साथी हुनुहुन्छ । मिठो र नम्र स्वभावकी धनी तुलसा थोरै गरेर धेरै प्रचार गर्नेहरू मध्येको पनि होइन । उहाँ समाजमा पर्दाभित्र नै बस्न रुचाउनु हुन्छ । आवश्यकता भन्दा बढी विलासी जीवन भन्दा सादा जीवन रुचाउने तुलसा आध्यात्मिक मार्गमा शान्ति भेट्नु हुन्छ ।
२०१० साल भाद्र २७ गते गुल्मी हुँगामा जन्मनु भएकी तुलसा आमा चन्द्र कला भण्डारी र बुबा हरी प्रसाद भण्डारीका पाँच सन्तान मध्ये जेठाे सन्तान हुनुहुन्छ । १४ वर्षको उमेरमा आफूभन्दा ५ महिना जेठाे हरि प्रसाद पाण्डेसँग उहाँको बालविवाह भएको थियो । ऊ समय तुलसाका बुबा प्रधानपञ्च हुनुहुन्थ्यो ।
छोरीलाई पढाएर समाजमा उदाहरणीय पात्र बनाउने उहाँका बुबाको ठूलो चाहाना थियो रे । तर, बिडम्बना राम्रो परिवारको केटा पाएको भन्दै प्रधानपञ्च बनेका बुबाले खुसी खुसी छोरीको कन्यादान गरिदिनुभयो । पढाउने बाँचा गर्दै पाल्पा अर्घौलीका हरि पाण्डेसँग उहाँका परिवारले लगनगाँठो कसिदिए । त्यो बेला हरि र तुलसाले कक्षा ७ मा पढ्दै हुनुहुनथ्याे ।
विवाहपछि तुलसा पढ्न भन्दै माइती जानुभयो । छोरी पढाउनु हुँदैन भन्ने सोच अहिले पनि हाम्रो समाजमा कायमनै छ । अझ त्यो बेला त कुरै नगरौं ! विवाहपछि पढाईलाई निरन्तरता दिन माइती आएकी तुलसालाई घरबाट पटक–पटक बोलाएपछि पढ्ने इच्छा, इच्छामै सिमित भयो ।
छोरीलाई समाजमा पढाएर उदाहरणीय पात्र बनाउने तुलसाका बुबाको सपना समाजका अगाडि कजोर प-याे। विवाह गरेर दिएकी छोरीलाई जबरजस्ती माइती राख्नु हुँदैन भन्ने सोचेर ‘जाऊ छोरी घर, भाग्य भए सुख पाउली’ भन्दै विदाई गर्नुभयो । यता, श्रीमानमा परिवारको विरुद्ध उभिएर तुलसालाई पढाउनु पर्छ भन्ने परिपक्कता आइसकेको थिएन । श्रीमान पढेर इञ्जिनियर बन्नु भयो तर, तुलसा गृहिणी मात्र । उहाँको विहान ३ बजेदेखि बेलुका १० बजेसम्म घरधन्दामै समय बित्यो भने श्रीमान व्यवसायबाट अगाडि बढ्दै सफल उद्योगपति बन्नु भयो ।
विवाह गर्दा दुबै जना ७ कक्षामा अध्ययनरत थिए । तर, विवाहपछि जिन्दगीको बाटो मोडियो, हरि पाण्डे छोरा भएकै कारण स्वतन्त्रता पूर्वक पढ्ने लेख्ने अवसर जु-याे भने तुलसालाई छोरीबाट बुहारी भएकै कारण ती अवसर सबै गुमे । तुलसा भन्नुहुन्छ ‘यतिबेला विगतका दिन सम्झेर अरूलाई दोष लाउनु भन्दा परिस्थिति र सामाजिक संस्कार नै त्यहि थियो । तर आजको दिन हेर्दा आकाश जमिनको फरक छ ।’
आफूले बुहारी हुँदा भोग्नु परेका पीडादायी जिन्दगीले उहाँलाई धेरै पटक मृत्यु नजिक पुर्याएको छ । विहान ३ बजेबाट ५/६ पाथी मकै एक्लै जाँतोमा पिस्ने र ८/९ वटा बस्तुभाउका लागि घाँसपात गर्न खटिनु पर्दथ्यो । आफ्ना पीडा श्रीमानलाई सुनाउँदा बुटबलमा अध्ययरत श्रीमानले ‘नआत्तिऊ म पढेर सकेपछि तिमिलाई सुख दिन्छु’ भन्ने शब्दले भक्कानिएको मनलाई शान्त बनाउँथ्यो र पुनः उहि दैनिकीमा आफूलाई पुर्याउँथ्यो ।
दुःखका दिनहरूले तुलसालाई पछ्याइरहेको थियो उहाँले २४ वर्षमा पहिलो सन्तान छोरी जन्माउनु भयो । १८ महिनापछि दोस्रो सन्तानको रुपमा अर्को छोरीको जन्म भयो । ‘आजभोली त गर्भमै छोरा कि छोरी भन्दै भ्रुण हत्या गर्ने समाजमा त्यो बेला छोरी जन्माउँदाको पीडा कस्तो होला ?
उहाँका श्रीमानले छोराको चाहाना कहिल्यै गर्नु भएन सासु ससुराको भने छोराप्रति मोह अचाक्लिनै थियो पछि पनि २ छोरी जन्मिए ४ वटा छोरी भैसकेपछि तुलसाले छोरा पाउँदिन भनेर अर्को विवाह गर्ने हल्ला पनि निकै चल्यो । तर, श्रीमान हरि पाण्डे सन्तानलाई समान देख्ने सोचको हुनुहुन्थ्यो ।
उहाँको व्यक्तिगत चाहाना भन्दा पनि परिवारका अन्य सदस्यबाट छोराको चाहाना बढी हुँदा तुलसालाई मानसिक तनाब हुन्थ्यो । चार छोरीपछि १ छोराको जन्म भयो । त्यसपछि पनि १ छोरी जन्मिइन् ।
उहाँले ५ छोरी १ छोराको जन्म दिनु भयो । छोरा जन्मेपछि पनि उहाँले छोरी नै होकी भनेर पटक– पटक हेरेको सुनाउनु भयो । उहाँ दुई छोरीको जन्मसँगै २०३६ सालमा श्रीमानसँग पोखरा आउनु भयो । पोखरामा माछापुच्छ्रे मेटल उद्योगको सुरूवात गर्नु भयो । यो पोखराको पुराना उद्योग अन्तर्गत पर्छ ।
जीवनमा आफूले पढ्न नपाएको धोको छोराछोरीलाई पढाउने थियो । उहाँको इच्छा सबै सन्तानलाई डाक्टर बनाउने थियो । सायद मेहनत, इमान्दारीता र सधैअरूको भलो चाहाने भएर होला तुलसाका इच्छाहरू सबै विस्तारै पुरा हुँदै गएका थिए । उहाँको चाहाना अनुसार नै सबै सन्तानले राम्रो पढ्दै गए, ५ वटी छोरी एम.डी गरेर डाक्टर भए भने १ छोराले दुईवटा विषयमा स्नातकोत्तर गरे ।
सुखमय दिनहरू व्यतित गरीरहँदा अहिले ‘ती दिनहरू कसरी बिताएँ हुँला’ भन्ने लाग्छ तुलसालाई । ‘म सासु र तँ बुहारी’ भन्ने मानसिकतामा बुहारी भएर बिताएका दिनहरू सिङ्गो जीवन कथा बनिदिन्छ । त्यो बालापनमा कसैबाट सहारा नपाई बिताएका पलहरूले आज पनि आँखा रसाईदिन्छ ।
जीवनमा खुसीका रंगहरू तरंगित हुँदै थियो । घरमै डाक्टर छोरीहरू भएपछि उहाँलाई नर्सिङ्ग होम खोल्ने इच्छा थियो । उहाँले सृजनाचोकमा बनाएको घरपनि नर्सिङ्गहोमलाई लक्षित गरेर २०० कोठाको बनाउनु भएको थियो । अचानक एउटा भवितव्यले उहाँको खुसीको एउटा हाँगो भाँचिदियो । गण्डकी अस्पतालमा कार्यरत साहिली छोरी डा. शान्ति पाण्डेको २०६० सालअसार ४ गते पृथ्वीचोकमा स्कुटर दुर्घटनामा मृत्यु भयो । घटनाले तुलसाको अन्तःस्करणको शान्तिलाई चुडेर लग्यो । आखिर समालिनु त थियो नै जीवन त्यहि हो जसमा जे भोग्नु छ त्यो भोग्नै पर्छ नसोचेको भैदिन्छ सोचेको गुमिदिन्छ ।
समयको रफ्तारमा जिन्दगीका धेरै मोड र घुम्तिहरू पार भइसकेका छन् । श्रीमानको व्यवसायप्रतिको लगाव झुकाव र व्यस्ततामा आफ्ना कथा बिसाउने माध्यम बनाउन चाहानु भएन । ‘जिन्दगीको सुखद सपना देख्ने श्रीमानलाई मैले धेरै पीडा दिए भने व्यवसायमा असर पर्न सक्छ भन्ने तुलसालाई लाग्यो । पारिवारिक सबै बोझ उहाँ आफैले लिनु भयो । घर परिवारको व्यवस्थापन, बालबच्चाको पढाइमा उहाँ व्यस्त हुनुहुन्थ्यो । एकदिनको कुरा जेठी छोरी सुस्मा पाण्डे एस.एल.सीमा कास्की उत्कृष्ट भइन्, श्रीमान हरि पाण्डेले थाहा पाएपछि भन्नु भयो ‘मेरो छोरी पढ्ने स्कुल कुन हो भन त !’
समयकाे क्रमसँगै आ–आफ्नै व्यवसाय सम्हाल्ने क्रममा अहिले पोखरा फुड्स र रम्बा जनरल फुड्सको कार्यकारी प्रमुख भएर तुलसाले सम्हाल्दै आउनु भएको छ । सादा जीवन र मानवीय सेवा प्रति निकै समर्पित तुलसा जिन्दगीको खुशी र सन्तुष्टि भनेकोनै दुखी गरीवको सेवा हो भन्नुहुन्छ ।
छोरी शान्तिको मृत्युपछि उहाँले मुस्ताङ्ग चोकमा ऊँ शान्ति भवनको निर्माण गरीदिनु भयो । गोर्खा मिलन समाजबाट छोरी शान्तिको नाममा ७५ वटै जिल्लामा ७५ जनालाई नर्सिङ्ग पढाईराख्नु भएको छ । कुष्ठरोगी र वृद्धाआश्रममा उहाँ निरन्तर सहयोगको लागि पुगिरहनु हुन्छ । छोरी शान्तिकै नाममा शान्ति ट्रष्टको स्थापना गर्नु भएको छ । पाँच विकास क्षेत्रमा अस्पताल खोल्ने सोचमा पनि हुनुहुन्छ ।
अहिले ४ छोरी र ४ ज्वाई डाक्टर छन् । उहाँको छोरा श्रीराम कास्कि फाइनान्सको डाइरेक्टर छन् । आफूले बुहारी हुँदा भोग्नु परेको अवस्थाले तर्सिरहने तुलसा बुहारी कृतनालाई छोरीको दर्जा दिएर राख्नु भएको छ । बुहारी कृतनाले पनि आफुले सधै छोरीको माया ममता सासु तुलसाबाट पाएको बताउनु हुन्छ ।
आजसफल उद्योगपतिकी श्रीमती मात्रै भएर बस्नु भएको छैन तुलसा । सम्पूर्ण परिवारको व्यवस्थापन गरेर सुखी परिवारको निर्माणसँगै उहाँ उद्योगमा व्यस्त हुनुहुन्छ पोखरा फुड्स र रम्बा जनरल फुड्सको कार्यकारी प्रमुख तुलसा आफ्नो उद्योगमा निम्न आय भएका र बेसहारा भएका महिलालाई बढि प्राथमिकता दिएर रोजगार दिनु भएको छ । अहिले उहाँकाे उद्योगमा३०० जना भन्दा बढि कामदार रहेका छन् ।
प्रकाशित मिति २०७२ माघ ११ गते सोमवार
Comment Here!