खेमा बस्नेत
कैलाली । घोडाघोडी नगरपालिका ९ की मिना खनाल अहिले १४ वर्षकी भईन् । स्थानीय जनप्रगतीशील माविमा कक्षा ७ मा पढ्दै आएकी उनको सपना भविष्यमा डाक्टर बन्ने छ । तर, पारिवारको दयनिय आर्थिक अवस्थाको कारण डाक्टर बन्नु त के विचमै विद्यालय छाड्नु ग-याे ।
मिनाका बुबा अपाङ्ग छन् । घरको आम्दानीले छाक नटर्ने भएपछि उनका दाईहरू रोजगारीको लागि भारत पसेका छन् । दाईको कमाइले दैनिक चलाउन ठिक्कै ।
माध्यमिक शिक्षा आर्जनको लागि सरकारले निशुल्क शिक्षा उपलब्ध गराउँदै आएपनि निशुल्क शिक्षा सिकाइका लागि चाहिने लत्ताकपडा, कापी कलम जुटाउन नसक्दा उनले विचमै विद्यालय छोड्नु पर्ने अवस्था आयो ।
‘दाईले पठाएको पैसाले दिदी र मलाई पढ्न पुग्दैन् । एक चिज किन्यो भने अर्कोको अभाव खड्की रहन्छ । मन भएर पनि पढ्न सकेको छैन् ।’उनले भनिन् ।
मिनाको पढाइको लागि स्थानीय गैरसरकारी संस्थाले छात्रवृति प्रदान गरेपछि भने पढाइमा सहजता हुने मिनाले बताएकी छिन् । मिनाको पढाइप्रतिको चाहना र कमजोरी पारिवारिक आर्थिक स्थितिलाई मध्यनजर गर्दै फाया नेपालले आफ्नो स्थापना दिवसको अवसरमा १० हजार आर्थिक छात्रवृति प्रदान गरेको थियो ।
शिक्षा,पोषण,ज्येष्ठ नागरिक, विपद न्यूनिकरणलगायत बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले यसअघि पनि मिनालाई कक्षा ५ मा पढ्नको लागि छात्रवृति प्रदान गरेको थियो ।
‘कक्षा ६ मा छात्रवृति उपलब्ध नगर्दा पढाइलाई निरन्तरता दिन समस्या परेको देख्यौ ‘फाया नेपालका अध्यक्ष शेर बहादुर बस्नेतले भने ‘त्यसैले कक्षा ७ को अध्ययन पुरा गर्न छात्रवृति उपलब्ध गरेका छौं । आगमी वर्षमा उनको पढाइमा सहयोग गर्न आवश्यकता अनुसार छात्रवृति दिदैँ जानेछौं ।’
फाया नेपालले आफूद्धारा स्थापना भएको फाया मिलिनियन सामाजिक कोषद्धारा विपन्न विद्यार्थीहरूलाई छात्रवृति वितरण गर्ने गरेको छ । यही कोषबाट कक्षा ५ मा हुँदा मिनालाई १५ हजार नगद छात्रवृति प्रदान गरेको थियो ।
छात्रवृतिले आफ्नो डाक्टर बन्ने सपना पुरा हुने मिनाले आशा राखेकी छिन् । फाया नेपालले पढाईको लागि सहयोग गर्ने भएपछि ठूलो मान्छे बन्ने सपना पुरा भएको उनको भनाइ छ ।
‘स्कुलले पैसा लिदैन तर कितावकामी किन्ने पैसा नहुँदा विद्यालय जान छोड्न लागेकी थिए ।’ मिनाले भनिन् ‘फायाको म प्रतिको मायाले मेरो पढ्ने रहर पुरा हुने भएको छ ।’ आर्थिक रुपमा कमजोर परिवारमा हुर्किदै आएकी मिना पढाइमा भने अब्बल छात्रा हुन् । उनी आफ्नो कक्षामा दोस्रो विद्यार्थी हुन् ।
प्रकाशित मिति २०७२ माघ १२ गते मगलवार
Comment Here!