सङ्कटमा शिविरका सुत्केरी


प्रकाशित मिति :2016-01-26 11:00:10

सुर्खेतका विभिन्न शिविरमा बसेका बाढीपीडित महिला अहिले पनि कष्टकर जीवन बिताइरहेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल पनि भन्छन्, ‘उनीहरूलाई तत्कालै सहयोगको खाँचो छ ।’ तर, सहयोग गर्नेचाहिँ कसले ?

गीता थापा

सुर्खेत । ०७१ को साउनमा आएको बाढीपहिरोले घरबारी बगाएपछि विस्थापित भएका सुर्खेतका बाढीपीडित महिला अहिलेसम्म पनि चिसो शिविरमा बस्न बाध्य छन् । सरकारले पुनस्र्थापनामा ढिलाइ गरेका कारण जिल्लाका अस्थायी शिविरमा पाल टाँगेर बस्दै आएका गर्भवती तथा सुत्केरी महिला दिउँसोको घामको सहारामा बाँचेका छन् । रातको समयमा त्रिपालबाट ओछ्यानमा चुहिने शितका कारण सुत्केरी महिलालाई आफ्नो बच्चालाई चिसोबाट जोगाउन हम्मेहम्मे परेको छ । चिसोका कारण सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

लेखपराजुल– २ सुर्खेतकी पुष्पा रामजाली डेढ वर्षदेखि पहिरोले घरजग्गा बगाएपछि शनिमोहरको अस्थायी शिविरमा बस्दै आएकी छिन् । पुष्पा चार महिनाकी सुत्केरी हुन् । चिसोले उनका हातखुट्टा सुन्निएका छन् । चारमहिने बच्चा काखमा च्यापेर घामको प्रतीक्षामा रहेकी हुन्छिन् उनी । सुत्केरी अवस्थामा तातो कपडा र आगोको छेउमा बस्नुपर्ने, तर उनी कतिखेर घाम लाग्छ भनेर प्रतीक्षा गरिरहेकी हुन्छिन् ।

शिविरमा बस्दाको पीडा सहन नसकेर आँखाबाट आँसु झार्दै उनले भनिन्, ‘चिसोबाट बच्चा जोगाउन एकदमै सकस भएको छ, सुत्केरी भएको चार महिना भयो, त्रिपालबाट चुहिने शितसँगै बस्नुपरेको छ ।’ राहत पाएको एउटा कम्मल पनि सातजनाको परिवारलाई पुग्दैन । आगो बाल्न दाउरा छैन, ओढ्नका लागि कपडा पनि छैनन् । काखमा रहेको बच्चालाई चिसोले निमोनिया भएकाले अब बच्चालाई कसरी बचाउने भन्ने चिन्ता छ उनलाई ।

?

विस्थापित शिविरमा बस्दै आएकी लेखपराजुल– २ सुर्खेतकै सीता सुनार पनि यस्तै समस्याको सामना गरिरहेकी छिन् । डेढ वर्ष पहिले आएको पहिरोले घरजग्गा सबै लगेपछि अस्थायी शिविरमा बस्दै आएकी उनी सुत्केरी भएको चार महिनासम्म पनि राम्रोसँंग तङ्ग्रिन सकेकी छैनन् ।

सुत्केरी भएको बेलामा खाने र बस्ने ठेगान नभएकाले आमासँगै बच्चा पनि कमजोर बन्दै गएको छ । पोषिलो खानेकुराको अभाव त छँदै छ, राति पालबाट चुहिएर शरीरमा शित झर्ने हुनाले उनी थलिएकी छिन् । दुःखीलाई भगवानले पनि हेला गर्दा रहेछन् भन्दै उनी भन्छिन्, ‘चार महिनाको बच्चा त भरलाग्दो हुनुपर्ने हो, निमोनिया र चिसोले हालत राम्रो छैन ।’ हातखुट्टा सुन्निएर आफू राम्रोसँग हिँड्न पनि नसक्ने बताउने सीता चिसोकै कारण खोकी लाग्ने, टाउको दुख्नेजस्ता समस्याले सताउँदा पनि उपचार गर्ने पैसा नभएको दुखेसो गर्छिन् ।

समस्या पुष्पा र सीताको मात्र होइन, यतिबेला जिल्लाका सबै शिविरमा रहेका सुत्केरी महिलाको अवस्था दयनीय छ । महिला प्रशिक्षण केन्द्रमा रहेको शिविरमा बस्दै आएकी वीरेन्द्रनगर– ८ इत्रामकी पवित्रा नेपालीको पनि गत वर्षको साउन अन्तिममा आएको बाढीले घरको नामनिसान नै नराखेर बगायो ।

उनी पनि डेढ वर्षदेखि महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा बस्दै आएकी छिन् । सुत्केरी भएको चार महिना भएको छ । तर, उनलाई स्याहार गर्ने आफन्त पनि भएनन् । ६ महिना अगाडि कमाउनका लागि भन्दै श्रीमान भारत गएपछि उनको पनि चिसोमा विजोग भएको छ । उनले भनिन्, ‘चिसोले बच्चा बिरामी भएको छ । ओढ्ने–ओछ्याउने पनि छैन । आगो बाल्नलाई दाउरा छैन, कसैले राहत दिँदैनन्, कसरी दिन काट्ने हो ? त्रिपालबाट शित चुहिएर बिहान उठ्दा ओढेको सिरक भिजेको हुन्छ, चिसोले बच्चा रोएर सुत्न दिन्न रातभरि, हैरान हुन्छ ।’

4

सुत्केरीलाई चिसोले समस्या पारेको छ भने पुरुषसँग एउटै शिविरमा बस्नुपर्दा महिनावारी भएको समयमा महिला तथा किशोरीले समस्या भोग्दै आएका छन् । सोही शिविरमा बस्दै आएकी पद्मा कामीले चिसो भुइँमा एउटै बिस्तारामा चार आमाछोरी सुत्न बाध्य भएको बताइन् ।

आफू महिनावारी हुँदा जसोतसो समस्या समाधान गरे पनि छोरी महिनावारी हुँदा धेरै असजिलो हुने उनी बताउँछिन् । महिनावारीको समयमा सरसफाइ र आरामको आवश्यकता परे पनि आफू सधैँ समस्यामा हुने उनको भनाइ छ । बिहानदेखि साँझसम्म समस्या भोग्दै आएकी पद्मा भन्छिन्, ‘घाम र पानीले त्रिपाल चिराचिरा भएजस्तै समस्याले मेरो मन पनि चिराचिरा भएको छ ।’

महिला प्रशिक्षण केन्द्रका अनन्त दाहालले अस्थायी शिविरमा बस्दै आएका महिलालाई चिसो समयमा त्रिपालामुनि दिन कटाउन गाह्रो भएको बताए । दिनभर घाममा तातिए पनि रातभर त्रिपालमा बस्नुपर्दा आमा र बच्चा दुवै बिरामी पर्ने गरेका छन् । डेढ वर्षअघि आएको बाढी–पहिरोले गर्दा जिल्लाभरका दुई हजारभन्दा बढी परिवार घरबारविहीन भएका थिए । घरवारबिहीन भएका विस्थापित अहिले विभिन्न अस्थायी शिविरमा छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले घरवारविहीन भएका दुई हजार परिवारमध्ये केही घर फर्किएको बताए । घरजग्गा केही नहुनेहरू अझै त्रिपालमै बस्न बाध्य रहेको उनको भनाइ छ ।

हाल महिला प्रशिक्षण केन्द्रमा २० परिवार बस्दै आएका छन् । प्रशासकीय अधिकृत पौडेलका अनुसार अहिले अस्थायी शिविरमा त्रिपालमुनि बस्ने ७० जना महिलामध्ये चारजना सुत्केरी छन् । पौडेल भन्छन्, ‘तत्कालै सहयोगको खाँचो छ, साँच्चिकै विजोग छ उनीहरूको ।’ अब प्रश्न उठ्छ– उनीहरूलाई सहयोग गर्नेचाहिँ कसले हो त ?

प्रकाशित मिति २०७२ माघ १२ गते मंगलवार

(थापा सुर्खेतको साझा बिसौनी दैनिकमा कार्यरत छिन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: