दिलिप खड्का
रुकुम । रुकुमको खोलागाँउ ५ की १८ वर्षीय सुस्मीता शाहको हत्या भएको ९ महिनापछि घटनाको स्थलगत अनुगमन प्रतिवेदन पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको छ । सुस्मीता शाह हत्या घटनाको स्थलगत अनुगमन प्रतिवेदन अन्तर पार्टी महिला सञ्जाल रुकुमले आज सार्वजनिक गरेको हो ।
घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक भयो तर, हत्यारा भने पत्ता लाग्न सकेको छैन । हत्यारा कहिलेसम्म प्रहरी नियन्त्रणमा अाउने हुन थाहा छैन ।
स्थानिय सामुदायिक वनमा दाउरा लिन गएकी सुस्मीताको माघ ४ गते सोमवार रहस्यमय हत्या भएको थियो । उनको हत्या कसले र किन ग-यो भन्ने कुरा भने अझै खुल्ल सकेको छैन । उनको हत्याराहरू पत्ता लाग्न नसक्दा शान्ति सुरक्षा तथा व्यक्तिको बाँच्न पाउने मानव अधिकारप्रति चुनौति थपिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दासम्म प्रहरीले घटनामा संलग्न र घटना कसरी भएको हो, भन्ने वारे पत्ता लगाउन सकेको छैन । घटना भएको दिन उपभोक्तका लागि स्थानिय सामुदायिक वनमा दाउरा खुला गरेपछि आमा र बुवा दाउरा काट्न गएका थिए भने छोरी सुस्मीता त्यो दिन पसलको काममा व्यस्त रहेको बताएको छ । दिनभर पसलमा बसेकी सुस्मीता बेलुकि करिव साडे पाँच बजेतिर पसल बन्द गरेर आमा वुवालाई सघाउन वनतिर लागेको स्थलगत अनुगमन प्रतिवेदनमा उल्लेख गरीएको छ ।
यस्तो छ अन्तर पार्टीको घटना प्रतिवेदन
वनमा काटेका दाउराको भारी बोकेर बुवा अगाडि र छोरी सुस्मीता पछाडि घरतिर हिडेका थिए । अगाडि हिडेका बुवा सरासर घर पुगेको र पसलको साँचो छोरीसँगै भएकाले बुवा प्रेम वहादुर शाह आएको बाटोमा छोरीलाई पर्खिएका थिए । करिव एकसय मिटर दूरीमा दाउराको भारी पल्टीएको अबस्थामा बुवाले भेटेको र छोरीलाई दिसा, पिसाव लागेर जंगल तिर लागेकी होली भन्ने सोचेर उक्त भारी बुवाले घर ल्याएका थिए ।
छोरी घर आउन ढिला गरेपछि बुवा प्रेम वहादुर उतैतिर सुस्मीतालाई खोज्न लागेका थिए । झमक्क रात परेकाले मान्छेहरू दाउरा ल्याउनका लागि जंगल तिर जाने आउने चहलपहल धेरै भैरहेको थियो । छोरीले धेरै ढिला गरेपछि बुवाले नानी भनेर बोलाएको तर छोरीको आवाज कतै सुनिएन ।
छोरी हराएको आधा घण्टापछि गाँउ भर हल्लाखल्ला मच्चिए लगत्तै सबेै गाँउले सुस्मीताको खोजीमा लागेका थिए । गाँउ नजिकैबाट मान्छे हराउँदा गाँउलेहरू निकै अचम्ममा परेका थिए । जहाँ दाउराको भारी बिसाईएको थियो,सोही ठाउँमा बाटोदेखि करिव ३० मिटर टाढा मोवाइल भेटिएको थियो । यस्तै मावाइल भेटिएको करिव ५० मिटर तल चप्पल फेला परेका थिए । त्यसको केही अगाडि भिरालो ठाउँमा उनले लगाएका कुर्ता सुरुवाल भेटिएका थिए ।
खोज्दै जाँदा सानो खोलाको किनारमा रहेको साजको रुखको फेदमा सुस्मीतालाई बाँधेको भेटिएको थियो ।
त्यतिवेला उनको मुखभरि रगत लतपत्तिएको, कन्चट,आँखा र शरीरको विभिन्न भागमा चिथोरीएको अवस्थामा मृत्य भेटिएपछि गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए । उनको बलात्कार गरेर हत्या गरिएको हो, या बलात्कार गर्न खोज्दा हत्या गरिएको हो भन्ने बारे अझै स्पष्ट भएको छैन ।
प्रहरी अनुसन्धान र अनुमान
घटना भएको एक घण्टापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया सुरु गरेको थियो । तर, हत्याको ठोस प्रमाण भने हालसम्म फेला पार्न सकेको छैन । मुसिकोट खलंगाबाट पटक पटक प्रहरी निरिक्षक सहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला अस्पताल जाजकोटमा गरिएको सुस्मीताको पोष्टमार्टम प्रारम्भिक रिपोर्टमा बलात्कार गर्ने प्रयासमा उनको हत्या गरिएको हुन सक्ने डाक्टरहरूले बताएका छन् । त्यहि आधारमा प्रहरीले अनुसन्धानका लागि गाउँका पाँचजना युवाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छाडेको छ ।
गाउँको नजिकै मानिहरूको चहलपहल भैरहेको समयमा घटेको उक्त घटनाको बारेमा स्थानियहरूलाई केही न केही कुरा जानकारी हुनु सक्ने तर जानकारी दिन नचाहेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले जति सक्यो स्थानियबासिको सहयोग चाहेको छ । तर कोही पनि स्थानिय बासिहरू अनुसन्धानलाई सहयोग हुने खालको प्रतिक्रिया दिदैँनन् ।
गाउँमा यसअघि थु्रपै बलात्कारका घट्ना घटेकाले यो घटना पनि बलात्कार गर्ने उद्देश्यले घटाईएको अनुमान गरिएको छ । यस्ता घट्नाले गाउँको इज्जत जान्छ भन्दै स्थानिय राजनीतिक दलहरूको रोहवरमा पैसाको मिलपत्र गरेर गुपचुप गरिदै आएको पनि खुलासा भएको छ । त्यसैले सुस्मीताको पनि अपहरण गरी हत्या गरिएको हुनसक्छ । हत्यामा संलग्नताको विषयमा स्थानियबासिलाई बढी भन्दा बढी निग्रानि गर्न अवश्यक छ ।
बलात्कारका घटना
रुकुम जिल्लाभर अघिल्लो आर्थिक वर्षमा ३ वटा बलात्कारका घटना भएको पाईएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल रुकुमको प्रतिबेदन अनुसार ३ वटा बलात्कारका घटना घटेका थिए । सञ्जालकी अध्यक्ष कल्याणी खड्काका अनुसार यी ३ वटा बलात्कारका घटना प्रहरी प्रशासनसम्म आएको भएपनि अरु बाहिर नआएका धेरै घटना पनि हुन सक्छन ।
प्रकाशित मिति २०७२ माघ १२ गते मंगलवार
Comment Here!