पटकपटक गर्भपतन


प्रकाशित मिति :2016-01-27 10:16:38

गर्भनिरोधक साधन प्रयोग गर्न झन्झट मान्ने महिला पटकपटक गर्भपतन गराउँदा प्रजनन् स्वास्थ्यमा जटिल समस्या आउँछन् भन्नेमा अनविज्ञ देखिन्छन् ।

सुशीला बुढाथोकी    

काठमाडौं । महाराजगञ्जकी रीता बस्नेत (३५) ले ०७२ मङ्सिरमा पाँचौँपटक गर्भपतन गरिन् । अहिल्यै बच्चा नचाहिएको भन्दै उनले पटकपटक गर्भको बच्चा फालेकी हुन् । विवाहित भए पनि परिवार नियोजनको स्थायी साधन प्रयोग नगरेको र अस्थायी साधन प्रयोग गर्न झन्झट लाग्ने भएकाले गर्भ बसेको उनको भनाइ छ । ०७२ असोजमा बालाजुकी समिता राई (३५) ले तेस्रोपटक गर्भको बच्चा फालिन् । विवाहित राई दुईवटा बच्चा पहिल्यै भएको र उनीहरू हुर्किसकेकाले अब बच्चा नजन्माउने बताउँछिन् । उनले पनि परिवार नियोजनका स्थायी साधन प्रयोग गरेकी छैनन् ।

रीता र समिताजस्तै धेरै विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्नुभन्दा गर्भपतन गरिरहेका छन् । गर्भपतनको सेवा दिइरहेका स्वास्थ्य संस्थाहरूमा सेवा लिनेमा बढी सङ्ख्यामा विवाहित महिला देखिनु सामान्य हुन थालेको छ । विशेषगरी बच्चा जन्माइसकेका वा बच्चा जन्माउन नचाहने नवविवाहिताहरूले गर्भनिरोधकका साधन प्रयोग नगरेर गर्भपतन गर्ने प्रवृत्ति धेरै देखिन थालेको छ ।

ecfcaef24176396e8a3c47cb17c89c50स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष ०७१/७२ को एक अप्रकाशित रिपोर्टअनुसार कुल ७८,५९२ जनाले गर्भपतन गराएकामध्ये एकतिहाइ अर्थात् ६६,५६६ महिला २० वर्ष उमेर माथिका थिए ।  यिनमा आधाजसोले शल्यक्रियामार्फत गर्भपतन गराएका थिए । विभागकै अघिल्लो वर्ष ०७०/७१ को रिपोर्टले पनि गर्भपतन सेवाको दुरुपयोग हुनु समस्या बन्दै गएकाले गर्भपतन गर्नुपर्ने खास कारणबारे बुझाउन विभिन्न क्रियाकलाप र चेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताएको छ ।

महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक संविधानले नै सुनिश्चित गरेको छ । विभिन्न कारणले अनिच्छित बसेको १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा फाल्न सकिने कानुनी प्रावधान छ । बलात्कार, अन्य करकापले गर्भ बसेकोमा १८ हप्तासम्मको तथा आमाको शारीरिक तथा मानसिक अवस्था जोखिमपूर्ण भएको अवस्थामा, भ्रुणको विकास राम्रोसँग नभएमा वा असामान्य भएमा चिकित्सकको सल्लाहबमोजिम गर्भावस्थाको जुनसुकै अवस्थामा पनि महिलाले गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ ।

यस्तो कानुनी व्यवस्था भए पनि अस्पतालहरूमा गर्भपतन सेवा लिनेहरूमा विवाहित महिलाकै सङ्ख्या धेरै देखिन्छ । गर्भपतनको सेवा दिइरहेको परोपकार प्रसूतिगृहमा महिनामा तीन सयभन्दा बढी महिला गर्भपतन सेवा लिन आउने गरेको र तीमध्ये करिब ९५ प्रतिशत विवाहित नै हुने प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । उनी भन्छन्, ‘प्रायजसो महिलाले जानाजान नभई तयारीको अभावमा गर्भ बसेको बताउँछन् भने कतिमा गर्भनिरोधकको साधनले खराब गर्छ भन्ने सोचाइ छ, कतिले भने गर्भपतनलाई नै सजिलो मानेका पनि देखिन्छन् ।’

विशेषगरी पति–पत्नीमा गर्भनिरोधक साधन प्रयोग गर्नेबारेमा योजना नहुने र बच्चा यति मात्रै जन्माउने भन्नेबारे सल्लाह नहुने मुख्य समस्या देखिएको निर्देशक डा. गौतमको भनाइ छ । ‘हामीले गर्भपतन गर्न आएका सबै महिलालाई पुनः अनिच्छित गर्भ नहोस् भनेर स्वास्थ्य सल्लाह र परिवार नियोजनका साधनबारे जानकारी दिएर पठाउँछौँ । तैपनि कतिपय महिलाले बारम्बार गर्भपतन गराएका भेटिन्छन्,’ उनी भन्छन् ।

चिकित्सक तथा अधिकारकर्मी डा. अरुणा उप्रेती गर्भपतन परिवार नियोजनको साधन मानिनुहुँदैन भन्ने मान्यता पहिलेदेखिको भए पनि स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा यस्तो भइरहेको मान्छिन् । गर्भपतनका मानसिक असरहरू महिलामा अत्यधिक देखिए पनि धेरैले नबुझेर यस्तो गरिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘डाक्टरकहाँ एक–दुईचोटि गएपछि बुझ्नेहरू पनि छन्, तर यसबारे धेरैलाई जानकारी दिनु आवश्यक छ ।’ परिवार नियोजनको साधन उपलब्ध हुँदा पनि पटकपटक गर्भपतन गराउनु स्वास्थ्यका हिसाबले निकै जोखिमपूर्ण हुने उनको भनाइ छ ।

गर्भनिरोधकका साधनका रूपमा खानेचक्कीदेखि लिएर स्थायी बन्ध्याकरण सेवा देशैभर उपलब्ध छन्, तर प्रयोगकर्ताको सङ्ख्या न्यून देखिन्छ । देशभर गर्भपतनको सेवा दिन हजारौँको सङ्ख्यामा क्लिनिक खुलेका देखिन्छन्, तर तिनले परामर्शभन्दा आर्थिक लाभलाई हेर्ने भएकाले महिलाले गर्भपतन र परिवार नियोजनसम्बन्धी परामर्श पाउनेमा अन्योल देखिन्छ । ०५२/५३ देखि सरकारले पनि गर्भपतनको छुट्टै सेवा दिन २४ वटा क्लिनिक स्थापना गरेको छ, तर यसले सहरी क्षेत्रका महिलालाई मात्र सेवा पु-याइरहेको छ ।

बारम्बार गर्भपतन गर्दा महिलामा यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी थुप्रै समस्या देखापर्ने चिकित्सक बताउँछन् । प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार धेरैपटक गर्भपतन गराउँदा पाठेघर झर्ने, फिस्टुला, पाठेघरको सङ्क्रमण तथा बाँझोपनसमेत हुनसक्छ । गर्भपतनलाई सामान्य ठानेर कतिपय महिलाले आफूखुसी औषधि सेवन गर्ने पनि देखिन्छ । यस्ता महिलामा औषधिले नकारात्मक असर गरेपछि मात्रै अस्पताल जाने प्रवृत्ति देखिन्छ । यसले महिलाको प्रजनन् स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ भने कतिले अत्यधिक रक्तस्राव, सङ्क्रमण तथा औषधिको प्रतिकूल असरका कारण ज्यानैसमेत गुमाएका भेटिन्छन् ।

गर्भपतनको जोखिम व्यवस्थापन गर्न ढिलो भइसकेको परिवार स्वास्थ्य महाशाखाका शाखा प्रमुख घनश्याम पोखरेल बताउँछन् । उनका अनुसार परिवार नियोजनका कार्यक्रमलाई हरेक जिल्लामा सूक्ष्म तरिकाले लान विभिन्न कार्यक्रम सञ्चालन भए पनि नयाँ पुस्तालाई बारम्बार गर्भपतन गर्दा हुनसक्ने असरबारे जानकारी दिन सकिएको छैन । शाखा प्रमुख पोखरेल भन्छन्, ‘अहिले कम्तीमा एकपटकसम्म गर्भपतन गर्ने महिलालाई अनिवार्य रूपले परिवार नियोजनका साधन प्रयोग गर्न परामर्श दिने गरिएको छ । यसबारे चेतनामूलक कार्यक्रमहरू गर्नैपर्ने अवस्था आएको छ ।’
(गोपनीयताको कारण महिलाको नामथर परिवर्तन गरिएको छ ।)

प्रकाशित मिति २०७२ माघ १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: