‘इज्जत जाने डरमा घरभित्रै लुकेँ’


प्रकाशित मिति :2016-01-27 16:09:39

फिस्टुलाकै कारण तामाङको पाँच पटक गर्भ खेर गएकाले कुनै सन्तान छैनन् ।

रमला सिंगक

सुनसरी । कक्षा ८ अध्ययन गर्दै गर्दा  १२ वर्षको उमेरमा आफूभन्दा आठ वर्ष जेठो केटासँग राधिका राई श्रेष्ठको विवाह भयो ।  कलिलो उमेरमै भएको विवाह र पटक–पटक भएको गर्भपतनले उनलाई पिसाव चुहिने समस्या देखियो । विवाह गरेको आठ वर्षपछि पिसाब चुहिने समस्या देखिएपछि श्रीमानसँगको सम्बन्धमा पनि खटपट सुरू भयो ।

समाज र परिवारले पनि उनलाई ‘इज्जत नभएकी लवस्तरी मुतुवा फोहोरी केटी भनेर घृणा गर्न थाले । तर, आफूलाई के भएको हो भन्ने थाहा भएन । राधिकाले भनिन् ‘घर बाहिर जाँदा र गाडीमा चढ्दा कैयौँ पटक पिसाबले लुगा भिजेर लाजमर्दो हुन्थ्यो ।’ १६ वर्षको उमेरमा उनको पहिलो गर्भ खेर गयो ।

पिसाबले लुगा भिजेको देख्नेले उनलाई कैयौँ पटक फोहोरी केटी भनी घृणा र तिरस्कार गर्दै थुक्दा मानसिक धेरै पीडा हुन्थ्यो । त्यही पीडामा उनले चार वर्ष बताइन् । उनले आफूलाई फिस्टुला भएको धेरैपछि मात्र थाहा पाइन् ।  उनले भनिन्, ‘विगत मलाई सम्झनै मन छैन । अहिले सम्झँदा पनि कहाली लाग्छ । तर अहिले खुसी छु, सबैले राम्रो व्यवहार गर्छन् ।’

२२ वर्षमा लागेकी राधिका उपचारपछि फिस्टुलाबाट छुट्कारा पाएकी छिन् । उनको जीवनमा फेरि खुसी फर्किएको छ । उनको जस्तै पीडा ओखलढुंगाकी ६० वर्षीय संचमाया तामाङले पनि २५ वर्षसम्म भोगिन् । समाजमा इज्जत जाने डरले पिसाब चुहिने समस्या बारे खुलेर परिवारलाई बताउन सकिनन् ।

????????????????????????????????????

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागमा फिस्टुलाको उपचार गरिहेका  विरामी

निरन्तर पिसाब चुहिने फिस्टुला रोगको समस्याबाट पीडित भएकै कारण तामाङले अधिकांस समय घरभित्र बसेरै बिताइन् ।  फिस्टुलाको उपचार सफल भएपछि भेटिएकी उनले भनिन्, ‘निरन्तर पिसाब चुहिने भएकाले लाज र इज्जत जाने डरले गाँउ टोलमै गईनँ, घरमै लुकेर बसें ।’ कहिले काहीँ नजिकैको हाट बजार र छिमेकीकोमा निस्कँदा देख्नेहरूले उनलाई ‘गतिछाडा फोहोरी छिःछि मुतुवा आइमाई’ भनेर तिरस्कार गर्दथे ।  फिस्टुलाकै कारण तामाङको पाँच पटक गर्भ तुहिएकाले आफ्नो कुनै पनि सन्तान नभएको बताइन् ।

तामाङ र राधिका जस्तै पाँचथर भारपाकी ५५ वर्षीया देबीमाया रिजालको पीडा पनि कम छैन । उनका लगातार ४ छोरी जन्मिए । छोरा नपाएको भन्दै उनलाई परिवारका सदस्य, आफन्त र छिमेकी सबैले हेला गर्न थाले । छोरा पाउने धुनमा २८ वर्षको उमेरमा उनले पाँच सन्तानलाई जन्म दिइन् । त्यसपछि उनलाई पनि पिसाब चुहिने समस्याले समायो ।

उपचारका लागि कयौं अस्पताल र धामीझाँक्री कहाँ पुगिन । कति खर्च भयो भन्ने त लेखाजोखा नै भएन । केही सिप नलागेपछि उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन् । त्यहाँ स्त्री तथा प्रसूति विभागका चिकित्सक डा मोहनचन्द्र रेग्मीलाई आफ्नो समस्याको बारेमा वताईन् । त्यसपछि ७ दिन भित्र उनको समस्या समाधान भयो ।  उनले भनिन्,‘उपचारपछि अहिले मैले सम्मानपूर्वक हिँड्डुल गर्न र बस्न पाँए, कसैले मलाई अहिले छिःछि र दुरदुर गर्दैनन् साँच्चि नै पुनःजिवन पाएको जस्तो लाग्छ ।’

????????????????????????????????????

दिदी बहिनीहरूमा यस्तै पिसाब चुहिने समस्या भए नलुकाई उपचारका लागि आउन उनले अनुरोध समेत गरिन् । उनीहरू जस्तै ३ सय ५० जना महिलाले अहिले फिस्टुलाको उपचारपछि समाज र परिवारमा सम्मानजनक जिवन बिताइरहेका छन् । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिस्टुलाका कारण पिसाव चुहिरहने समस्याबाट नारकिय जिवन बिताईरहेका महिलाको निशुल्क उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ ।

पिसाब थैलीबाट निरन्तर पिसाव चुहिने समस्याबाट पीडित महिलालाई समाज र परिवारमा गतिछाडा भएको आरोप लगाउने गरिन्छ । तर,वास्तविकता त्यस्तो नभएर सानै उमेरमा गर्भवती हुनु र प्रसवको बेला समयमै शल्यक्रिया नभएको अवस्थामा पिसाव थैली फुटेर फिस्टुला समस्या हुने गरेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मीले बताए ।

उनले भने ‘फिस्टुलाको कारण महिलाको पिसाबको थैली र दिसा थैली प्वाल पर्ने भएकाले निरन्तर दिसा र पिसाब बग्ने गर्छ । त्यसलाई शल्यक्रिया गर्नैपर्छ ।’ फिस्टुला रोग भएका महिलाको निरन्तर पिसाब र दिसा बग्ने भएकाले शरीर र लगाएको लुगा फोहोर हुने, दुर्गन्धित हुने र त्यसैबाट थप संक्रमण हुने भएकाले मातृमृत्यु दर रोक्न निःशुल्क उपचार सेवा सुरू गरिएको हो ।’ फिस्टुला भएकै कारण ९५ प्रतिशत महिलाले मरेको बच्चा जन्माउने, समयमा उपचार नहुँदा धेरै आमाहरू सन्तानबिहिन हुने उनको भनाइ छ ।

उनका अनुसार बयस्क अवस्थाकी महिलामा फिस्टुला भए श्रीमानले मात्र होइन घर परिवार र समाजले समेत घृणा गर्न सक्ने भएकाले उनीहरू झनै पीडित हुने गरेका छन् ।  नेपालमा फिस्टुला भएका महिला मध्ये ३० प्रतिशत एक्लै बस्न बाध्य भएको तथ्यांक रहेको बताउँदै भने ‘प्रतिष्ठानमा फिस्टुलाको उपचार गर्न आएका १६ जना मध्ये तीन जनाको पाठेघरको शल्यक्रिया गर्दा चिकित्सक वा कुनै कारण वस पिसाब थैली काटिएर फिस्टुला भएका छन् ।’

????????????????????????????????????

फिस्टुला हुनुमा ८८ प्रतिशत असुरक्षित प्रसव मुख्य कारण रहेको उनले बताए । विधि नपु-याई पाठेघरको शल्यक्रिया गर्दा १२ प्रतिशतमा फिस्टुला हुनसक्ने डा रेग्मीले बताए । प्रत्येक वर्ष फिस्टुलाका पाँच सय नयाँ विरामी थपिदै आएको उनले बताए ।  महिलामा हुने विभिन्न रोग मध्ये २० प्रतिशतमा फिस्टुला हुन सक्ने भएकाले मातृमृत्यु दर घटाउने उद्देश्यले राज्यले फिस्टुलाको निःशुल्क उपचार सुरु  गरेको हो ।

उपचारका लागि आउने विरामीलाई निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधी, आउने जाने खर्च र कुरुवालाई समेत खर्चको व्यवस्था गरिएको डा रेग्मीले बताए । धरानको वीपी प्रतिष्ठान, पाटन अस्पताल र सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा पनि फिस्टुलाको निःशुल्क उपचार हुने गरेको छ ।

प्रकाशित मिति २०७२ माघ १३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: