प्रतिस्पर्धी उविकला


प्रकाशित मिति :2016-01-29 09:53:36

उविकलाको लडाइँ तीन उद्देश्यले अघि बढिरहेको छ । पहिलो, गाविसस्तरका सबै संघसंस्थाको नेतृत्वमा महिला पुग्नुपर्छ । अधिकांशमा उनी पुगिसकेकी छन् । कतिपयमा नेतृत्वका लागि संघर्षरत छिन् । दोस्रो, जिल्ला र तेस्रो केन्द्रीय नेतृत्व उनको सपना हो । ‘मैले महिलामाथि हुने घरेलु हिंसा नजिकबाट देखेकी छु । म अर्काले भनेको सहन सक्दिनँ । श्रीमानले श्रीमती कुटेका घटना हाम्रो समाज बग्रेल्ती छन् । सायद त्यही भएर मैले अहिलेसम्म विवाह नगरेको,’ आफू अविवाहित रहनुको कारण खुलाउँदा उविकलाका आँखामा महिला हिंसाविरुद्ध आक्रोशका ज्वाला पढ्न सकिन्थ्यो ।

उविकला नेपाली

uwikalaगुमी–४, सुर्खेतकी ३६ वर्षीया उविकला घरकी दोस्रो सन्तान हुन् । दिदीबहिनीको घरजम भइसक्यो । दुई भाइले पनि विवाह गरिसके । उनले अहिलेसम्म बिहे गरेकी छैनन् । गर्ने सुर पनि छैन । अँ, परिवार र समाज परिवर्तनको भूमिकामा भने उनको अठोट, जिम्मेवारी र सक्रियता तीव्र छ । अधिकांश समय यही काममा दिँदा पनि हुन सक्छ, उनी अविवाहितै रहेकी ।

गाविस स्तरका हरेक संरचनामा उविकला प्रतिनिधित्व गर्छिन् । कतिपयमा नेतृत्व नै । महिला नेतृत्व स्थापित गर्न उनी पुरुष नेतृत्वसँग दिनरात जुझिरहेकी छन् । अधिकारको लडाइँमा होमिएकी उनलाई व्यक्तिगत जीवनबारे सोच्ने फुर्सदै कहाँ छ र ?

संघर्षशील छोरीको प्रगति र उपलब्धिमा रमाएका उनका ६३ वर्षीय बुबा पलबहादुर सार्की भन्छन्, ‘विवाहबन्धनमा बाँधिएपछि आफूले चाहेको काम गर्न पाइँदैन । अरूको नेतृत्वमा हिँड्नुपर्छ भन्छे । त्यसले मैले पनि जोडबल गरेको छैन ।’

उविकलाको लडाइँ तीन उद्देश्यले अघि बढिरहेको छ । पहिलो, गाविस स्तरका सबै संघसंस्थाको नेतृत्वमा महिला पुग्नुपर्छ । अधिकांशमा उनी पुगिसकेकी छन् । कतिपयमा नेतृत्वका लागि संघर्षरत छिन् ।

जिल्ला र केन्द्रीय संरचनामा पनि महिला पुग्नुपर्छ भन्ने उनको सोच छ । महिलालाई जिल्ला स्तरीय संरचनाका नेतृत्वमा पनि पु¥याउने लक्ष्य छ उनको । ‘म नेपाली कांग्रेसको सक्रिय सदस्य पनि हुँ, महिला संघको केन्द्रीय सदस्य बन्ने लक्ष्य छ,’ उनले भनिन्, ‘केन्द्रीय राजनीतिमा पुग्न पैसा चाहिन्छ, जुन मसँग छैन ।’

यद्यपि, उविकला क्षमता प्रदर्शनमै विश्वास गर्छिन् । केन्द्रीय राजनीतिको जग स्थानीय सक्रियता र सफल नेतृत्व नै हो भन्ने केन्द्रविन्दुमा राखेकी उनी अहिले सबैको प्रतिस्पर्धी बनेकी छन् ।

‘मैले गरेको काम र मेरो भविष्य देखेर मेरा सहकर्मी दलका साथीहरू आत्तिन थाल्नुभएको छ, त्यसैले अरू जोसुकैलाई नेतृत्व दिने भने पनि देऊ तर उविकलालाई नदेऊ भन्ने साथीहरू पनि छन्,’ उनले सामुदायिक वनको नेतृत्वमा पुग्न खोज्दा भएका अवरोध स्पष्ट पार्दै सुनाइन् ।
केन्द्रीय राजनीतिलाई मध्यविन्दुमा राखेर स्थानीय सक्रियता बढाएकी उनी गाविस स्तरका हरेक संरचनामा छिन् ।

uwikala11

०५६ मा एसएलसी गरेकी उविकलालाई त्यतिबेलासम्म सामाजिक क्षेत्रबारे कुनै जानकारी थिएन । एसएलसीलगत्तै उनी बिरामी परिन् । बीचमा पढ्न पाइनन् । त्यसैले उनले बल्ल प्लस टु उत्तीर्ण गरिन् ।

०६४ देखि सामाजिक अभियान र नेतृत्वको काम थालेकी हुन् उविकलाले । शान्ति सम्झौतापछि गुमीको दशरथपुरमा माओवादी शिविर बस्यो । सीमाको गाविसका लागि सिँचाइ कुलो निर्माण गर्न १२ लाख बजेट छुट्ट्याइयो । सिँचाइ कुलो निर्माण समितिमा उनी सचिव भइन् । ‘पढेलेखेको, बोल्न जान्ने महिला भएर होला, मलाई त्यसमा सचिव बनाइयो तर त्यतिबेलासम्म मलाई समिति के हो ? यसको काम, कर्तव्य र जिम्मेवारी के हो भन्ने पनि थाहा थिएन । आर्थिक हिसाब–किताब पनि केही थाहा थिएन,’ सामाजिक क्षेत्रको पहिलो अनुभव सुनाइन् ।

२०६४ मै उनले नागरिक शिक्षा र मतदाता शिक्षाको तालिम दिन गुमी, मैनतरा, रामघाट, कल्याण र लेखपर्सा गाविसमा तीन महिना जुटिन् । ०६५ मा दलित उत्थान समाज संघकी कोषाध्यक्ष भइन् । अन्य तीनजना महिला प्रतिस्पर्धीलाई उछिनेर ०६६ पुसमा उनी त्रिवेणी सामुदायिक छलफल केन्द्रकी सहजकर्ता बनिन् । केन्द्रमा सहभागी महिलालाई उनी अधिकार, महिला हिंसा, संरचना र महिला नेतृत्वको आवश्यकता र महत्वबारे पढाउन थालिन् ।

सामाजिक मुद्दाबारे केन्द्रमा छलफल हुन थाल्यो । अहिले यो केन्द्रबाट पाँच महिला नेतृत्व तहमा पुगेका छन् । तीन वर्षसम्म सहजकर्ताको भूमिका निर्वाह गरेपछि उनमा एकाएक आत्मविश्वास बढेर आयो । त्यसपछि गाविस स्तरका संघसंस्थामा नेतृत्वदायी भूमिकाका लागि पहल गर्न थालिन् ।

अहिले उनी गुमी गाविस महिला सञ्जाल महिला अधिकार मञ्चकी अध्यक्ष छिन् । महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष, गुमी–४ र ५ नमुना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी सचिव, जिल्ला महिला अधिकार मञ्चकी सदस्य पनि हुन् उविकला । हालै काठमाडौ सम्पन्न राष्ट्रिय अधिवेशनमा उनी राष्ट्रिय महिला अधिकार मञ्चकी राष्ट्रिय सदस्य पनि निर्वाचित भएकी छन् ।
उनको नेतृत्वमा महिला सञ्जाल र समूहले संयुक्तरूपमा गत साउनको बाढीपहिरो पीडितका लागि २ लाख ७२ हजार ५३ रूपैयाँ संकलन गरेको छ । वडास्तरमा सञ्जाल विस्तार भएको छ । चालु बजेट छुट्ट्याएर बचेको बजेटलाई शतप्रतिशत मानेर त्यसको दश प्रतिशत रकम महिलाका समस्या समाधानमा खर्च गर्ने निर्णय गराएकी छन् उनैले । त्यही बजेटबाट नेतृत्व सीप तालिम, बंगुर र बाख्राका पाठा वितरण गर्ने भनेर ३५ हजार र ३१ हजार ५ सय रूपैयाँ छुट्ट्याइएको छ । महिला सहकारी घर निर्माणका लागि ५२ हजार, सामुदायिक क्लिनिक र शौचालयलाई गरेर २६ हजार बजेट निकासा भएको छ ।

प्रजनन र स्वास्थ्यसम्बन्धी नाटकमार्फत जनचेतना फैलाउने भनेर २० हजार र महिला सञ्जाल सुदृढीकरणका लागि ८ हजार रूपैयाँ छुट्ट्याइएको छ । उनकै नेतृत्वमा एकदिने अन्तक्रिया कार्यक्रम गरेर जुवातास र जाँडरक्सी नियन्त्रण गर्न गाविस सचिवको संयोजकत्वमा विधान मस्यौदा समिति गठन भएको छ ।

सहकारी संस्थातर्फ उनले ऋण लगानी र ऋण असुलीलाई प्रभावकारी बनाउन धितो अनुगमन तथा मूल्यांकन समिति गठन गरेकी छन् । यसले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको छ । सहकारीको भवन निर्माणका लागि २ कट्ठा जग्गासमेत किनिएको छ ।

‘४ वडामा पानीको धेरै अभाव छ, यहाँका लागि एक करोडको योजना ल्याउने कोसिस गरेकी थिएँ, धेरै राजनीति भयो गर्न पाइनँ,’ उनले भनिन् । डोरेनी थुम्का ग्रामीण सडक निर्माण समिति अध्यक्ष हुँदा उनको नेतृत्वमा ३५७० मिटरको सडक विस्तार भएको थियो । गाविसको बजेटमा करिब २ लाख रूपैयाँ र जनश्रमदानबाट यो सडक खनिएको थियो ।

uwikala111
छलफल केन्द्रको पहल र उविकलाकै नेतृत्वमा गुमी स्वास्थ्यचौकीमा कुरुवा घर निर्माण हुँदैछ । यसका लागि केन्द्रले २० हजार २ सय रूपैयाँ संकलन गरेको थियो । अहिलेसम्म ६७ हजार खर्च भएको उविकला बताउँछिन् । ‘बिरामी लिएर आउने मान्छेलाई बस्ने र खाने ठाउँको ठूलो समस्या छ, यो घर बनेपछि उनीहरूलाई धेरै सुविधा हुन्छजस्तो लागेको छ, निर्माण समितिमा बसेर उविकलाले यसको निर्माणमा समन्वयात्मक भूमिका खेलिरहनुभएको छ,’ स्वास्थ्यचौकीका प्रमुख पूर्ण घर्तीले भने ।

दलित उत्थान समाज संघका तर्फबाट उविकलाले जनजाति, अपांग, जेष्ठ नागरिक, पिछडावर्गको उत्थानका लागि बजेट निकासामा पहल गरेकी छन् । पहिलो वर्ष ०६५÷६६ मा ४९ हजार बजेट निकासा भएकोमा पछिल्लोपटक ०७१र७२ मा ८० हजार रूपैयाँ निकासा भएको छ । हरेक वर्ष रकम बढेको देखिन्छ । यो रकम त्यही वर्ग र समुदायको क्षमता र सीप विकासमा खर्च भइरहेको उविकला बताउँछिन् । उल्लिखित वर्गको उत्थानका कार्यक्रम, प्रोत्साहन र उत्प्रेरणाका कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘उहाँले जनअपेक्षाभन्दा बाहिर गएर कसैले अनियमितता गर्‍यो भने खुलेरै विरोध गर्नुहुन्छ,’ गुमी–४, दलित उत्थान चुनौती समूहका अध्यक्ष इन्द्रबहादुर सुनारले भने ।

०६६ देखि ०६९ सम्म स्थानीय सामुदायिक वनमा सचिव भएर पनि काम गरिन् उविकलाले । आफू समितिमा हुँदाहुँदै नयाँ अध्यक्षले वनको काठ व्यवस्थापनमा बदमासी गरेको उनी बताउँछिन् । यसबारे अख्तियारमा पनि बेनामी उजुरी परेको थियो । जिल्ला वन अधिकृतसमेत स्थलगत निरीक्षणमा गए । ‘मूल समितिको सचिवमा महिला, कोषाध्यक्षमा पनि महिला हुँदाहुँदै यो बदमासी भएपछि मैले यसको अध्यक्षमा पनि महिला नै हुनुपर्छ भनेर कुरा उठाएँ,’ उनले भनिन्, ‘सानो पदमा महिला राखेर बदमासी गर्न पाइँदैन भन्ने मेरो तर्क थियो ।’

यसपछि सामुदायिक वनको आकस्मिक साधारणसभा बस्यो । उपस्थितहरूले उनलाई मूल समितिको सचिवमा बस्न आग्रह गरे तर मानिनन् । ‘सभाका ९५ प्रतिशतले अध्यक्षमा मलाई सिफारिस गरे तर पाँच प्रतिशतले मानेनन्,’ उनले भनिन् । त्यसपछि उविकला २५ प्रतिशत उपभोक्ताको हस्ताक्षर संकलन गर्न २ देखि ७ वडा घुमिन् । उनले त्यो लगेर जिल्ला वन कार्यालयमा बुझाइन् । २१ दिनभित्र साधारणसभा गरेर नेतृत्व परिवर्तन गर्ने निधो भयो ।

उविकलाका अनुसार एकाएक स्थानीय नेता र शिक्षक वन कार्यालय गए । दुई पक्षबीच भनाभन भयो । त्यतिबेला जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसिया थिए । उनले नेता र शिक्षकहरूको कुरा सुने ।

‘हामी बोल्दा चुप लाग भने उनले, हामी जर्‍याकजुरुक उठेर तपाईं को हो चुप लाग भन्ने भनेपछि चौरसिया अर्को कोठामा गए, पछि कर्मचारी युनियनका अध्यक्ष आएर कुरा मिलाए,’ उविकलाले भनिन्, ‘यति गर्दा पनि वन समितिमा महिलालाई जान दिएका छैनन् । त्यसमा अहिले पनि जिल्ला वन कार्यालय र अध्यक्षको मिलोमतोमा अनियमितता भइरहको छ ।’

उनका अनुसार महिलालाई पछि पारेका कारण यो वनले दुई वर्षसम्म काम गर्न सकेको छैन । पाँच दलले समितिका पदमा भागबन्डा गरेका छन् । तीनपटक साधारणसभा बोलाउँदा पनि सफल भएको छैन ।

एमाओवादी जिल्ला कमिटी सदस्य डम्बरबहादुर सुनार उविकलाको नेतृत्व कुनै पनि पुरुषको भन्दा माथिल्लो हैसियतमा रहेको बताउँछन् । ‘सबै महिला अगाडि बढ्नुपर्छ, हरेक बैठक र संस्थाका कार्यक्रममा महिलाले नेतृत्व पाउनुपर्छ भन्ने कुरामा उहाँको जोड र अडान देखिन्छ,’ उनले भने, ‘उहाँको सफलताले हेर्दा धेरै माथि पुग्नुहुन्छ जस्तो लाग्छ ।’

गुमी गाउँ कमिटी, एमालेका अध्यक्ष भीमराज शर्माले शैक्षिक योग्यता र हिम्मत भएकी महिलाका रूपमा उविकलालाई चित्रण गर्छन् । ‘समाजलाई अग्र गतिमा लैजान सकारात्मक सन्देश दिनुभएको छ, उहाँको नेतृत्वले राजनीतिक प्रतिस्पर्धामा महिला पनि आउन थाले भन्ने संकेत गर्छ,’ उनले भने, ‘विधिबाट आउने जुनसुकै नेतृत्व आवश्यक छ, म त्यसलाई चुनौती ठान्दिनँ ।’

नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य पदमबहादुर गुरुङले उविकलालाई विकासशील व्यक्तिको दर्जा दिए । ‘उहाँ यो पार्टी त्यो पार्टी नभनेर सबै पार्टीका महिलालाई एकजुट गराएर अघि बढिरहनुभएको छ,’ उनले भने, ‘हामीसँग सधैँ मलाई पछि नपार्नू है भन्छिन् ।’

गुरुङले समाज अहिले पनि महिलालाई खुलेर अघि बढाउने पक्षमा नरहेको बताए । अझ कुनै पनि राजनीतिक दलमा महिलालाई नेतृत्व तहमा पुर्‍याउनुपर्छ भन्ने चेत नै नभएको उनको ठहर छ । ‘हरठाउँ र क्षेत्रमा महिला पछि पर्ने आर्थिक कारणले हो, यो राजनीतिमा पनि देखिन्छ,’ उनले भने ।

उविकलाले यो पनि बुझेकी छन् । ‘मेरो अन्तिम सपना केन्द्रीय राजनीतिमा पुग्ने हो तर खै म कसरी पुग्छु होला र ! मेरो आर्थिक पक्ष कमजोर छ,’ उनी भन्छिन् ।

प्रकाशित मिति :२०७२ माघ १५ गते शुक्रवार
 

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: