राजनीतिक यात्राकी प्रेरणा–नदी


प्रकाशित मिति :2016-01-29 16:24:36

महिला अधिकार र राजनीतिक यात्रामा अनवरत बगिरहेकी एउटी प्रेरणा–नदी हुन् शान्ता मानवी । यो उनैको कथा हो ।

यशोदा अधिकारी

DSC_0526‘रातो घाँघर लगाएर बारीको पाटामा गट्टा खेल्दै थिएँ । आफन्तहरू आए, घाँघरको धुलो टकटक्याएर मलाई बोकेर घरको आँगनमा लगे । त्यहाँ राम्रो खेल्ने ठाउँ रहेछ । म त्यहाँ सजाइएका फूल–पात टिपेर भातपकाइ खेल्न थालेँ,’ शान्ताले आफ्नो बिहेको समय सम्झिइन् । बाल्यकाल थाहा नपाउँदै शान्ता मानवी बेहुली भइन् । आँगनमा खेलिरहेका बेला उनकी आमाले कानमा आएर ‘बेहुली हुँदा रुनुपर्छ, मुख छोपेर रोऊ’ भनेकी थिइन् । यो सम्झँदा अहिले उनलाई कस्तो–कस्तो लाग्छ ।

‘मचाहिँ उल्टै आमा पनि मसँगै खेल्न आउनु भो भनेर खुसी थिएँ । बेहुला र बेहुली खेलाउन लागेको होला भनेर अरूले जे भन्छन् त्यही गर्दै गएँ । पछि मात्रै थाहा भो त्यो दिन मेरो बिहे गरिदिएका रहेछन्,’ उनी भन्छिन् । सामाजिक रूपान्तरण, कृषि आन्दोलन, महिला अधिकार र राजनीतिक यात्रामा अनवरत बगिरहेकी एउटी प्रेरणा–नदी हुन् मानवी । यो उनैको कथा हो ।

नेपाल सरकारकी पशुपक्षी विकासमन्त्री शान्ता मानवीको बिहे कुनैबेला ‘बेहुला–बेहुली खेलेजस्तै गरी’ भएको थियो । यो कथा आजका पुस्तालाई अपत्यारिलो लाग्नु स्वाभाविक हो । किनकि नेपाली समाज अहिले त महिलालाई मान्छे ठानिरहेको छैन भने आजभन्दा ६० वर्षअघिको समाजको के कुरा गर्नु ?

मानवीले विवाहपछि पाएका दुःख र हन्डरबारे भनिसाध्य छैन । २००३ सालमा जन्मिएकी मानवीको २०११ सालमा बिहे भयो । आठ वर्षकी उनी, श्रीमान १६ वर्षका । नाबालकमै विवाह गरेर गएकी उनी दुई रात श्रीमानको घरमा बसिन् । दुल्हन फर्काउन गएपछि उनलाई श्रीमानले माइतीमै छाडे । बा–आमाको काखमा बस्न पाएपछि उनलाई विवाह गरेकामा कुनै चिन्ता थिएन । अरू चेलीजस्तै उनी पनि माइतीघरमै रमाउँथिन् । जब उनी ११ वर्षमा पुगिन्, आमाको निधन भयो । पिताले अर्काे विवाह गरे ।

उमेर पुगेपछि श्रीमानको घरमा पनि जानु थियो उनलाई । नभन्दै एक दिन घरतिरबाट लिन आए । ‘लोग्ने बिरामी छन् । स्याहारसुसार गर्न भनेर लिन आएका’ भनेपछि बुबाले मानवीलाई घर पठाइदिए । कान्छी बज्यैले पँधेरामा लगेर उनका गरगहना खोलिन् । उनले लगाएको रातो कपडा पनि खोलियो । नाडीमा लगाएका चुरा फुटाइदिए । त्यसपछि बज्यैले भनिन्, ‘आजदेखि तेरो भाग्य फुट्यो, तँ विधवा भइस् ।’

श्रीमान नचिन्दै विधवा हुनुपरेको त्यो घटना उनको स्मरणमा आज पनि ताजै छ । काजकिरिया गर्ने क्रममा सेतो बर्को ओढेर एउटा कुनामा मानवीका १३ दिन बिते । १४ दिनको दिन उनी आँगनमा निस्किइन् । दुईजना महिला गफ गरिरहेका थिए, ‘छोरो त खाई–खाई, अब के–के हुने हो । यो घरमा अलक्षिन राख्यो भने उधुम हुन्छ ।’ त्यो भन्ने महिला मानवीकै सासू थिइन् ।

‘छोरो टोकुवा’ भनेर सासूले उनलाई त्यही दिनदेखि घरभित्र पस्न दिइनन् । घरपछाडिको पिँढीमा ओछ्यान लगाएर केही रात कटाइन् । विगत सम्झँदै उनी भन्छिन्, ‘कतै हिँड्ने बेलामा देखिनुहुन्नथ्यो । साइत बिग्रियो भनेर छिमेकी पनि कराउँथे । म आएर कुनामा लुक्थेँ । उनीहरू बाटो लागेपछि मात्रै बाहिर निस्कन्थेँ ।’

उनले सहनै नसक्ने गरी शारीरिक र मानसिक यातना खेपिन् । सिङ्गो परिवारै खनिएपछि त्यहाँ बसिरहनु उचित लागेन । वर्ष दिनसम्म सेतो लुगा लगाएर घरमै बस्नुको विकल्प थिएन । उनी अनेक दुःखकष्ट सहेर बरखी बारुन्जेल घरमै बसिन् । वर्ष दिनको काम सकिएपछि माइत फर्किन् । माइती फर्केपछि उनी वार्षिक श्रद्धा गर्न मात्रै घर जान थालिन् । श्राद्ध सकिनासाथ ‘माइत जा’ भनेर घरकाले कराउँथे । उनी खुरक्क निस्कन्थिन् ।

DSC_0510बालविधवा भएर बस्दा माइतीमा उनले अनेक लाञ्छना झेल्नुपर्‍यो । पण्डित परिवारमा जन्मिएकी मानवीलाई जसले जे गर्नुहुँदैन भन्छ, त्यो त गर्नैपर्ने थियो । त्यसो गर्दा उनले अनेक हन्डर खाइन् । छोरी मान्छे गाउँमा जानुहुँदैन भन्ने प्रचलन थियो । कसैका छोरी–बुहारी बाहिर निस्कँदैनथे । उनी भने सेतो लुगा लगाएर बिहानै निस्केर गाउँतिर जान्थिन् । दिनभरि खेलेर साँझ घर फर्कन्थिन् । एक दिन आमाले ‘अबदेखि गाउँ जाने कि नजाने’ भनेर बार्दलीमा लगेर सिस्नुपानीसमेत लगाइन् । उनी केही नबोली बसिन् । शरीरभरि राता फोकैफोका उठे सिस्नुले पोलेर, तर पनि उनी घरबाट निस्कन छोडिनन् ।

एक दिन उनी गाउँकै कामीको आरनमा पुगिन् । कामीकाकाले फलाम पिटेको देखेर भनिन्, ‘काका म पनि पिट्छु न यो फलाम ।’ कामीकाका डरले थुरथुर भए । ‘बाहुनले यो छुनुहुँदैन’ भन्ने कामीकाकाको कुरा सुनेपछि उनलाई झन् त्यो काम नगरी भएन । उनले फलाम चुट्न थालिन् । गाउँभरि हल्ला भयो । उनलाई पछि घरभित्र पस्न दिएनन् । पूजापाठ गरेर उनलाई घरभित्र पसाइयो ।

विवाह के हो भन्ने नबुझी अर्काको घर जानुपर्‍यो । श्रीमान नचिनीकनै विधवा हुनुपर्‍यो । अलि बुझ्ने भएपछि आमा बितिन् । उनको सहारा कोही भएन । विधवा भएर माइतीमा पनि कति बस्ने भनेर पिरोल्न थाल्यो । उनका मनमा अनेक कुरा खेल्न थाले । अब माइतीघरमा बसेर जीवन निर्वाह हुँदैन भन्ने लाग्न थाल्यो । उनी घरबाट जतिसक्दो चाँडो निस्कन चाहन्थिन् ।

एक दिन कठोर निर्णय गरिन् र माइतीघरबाट निस्केरै छाडिन् । उनको जीवनको बाटो मोडियो । २००३ सालमा अर्घाखाँचीमा जन्मिएकी मानवी २१ वर्षको उमेरमा दिल्ली पुगिन् । अर्काको घरमा भाँडा माझिन् । समयक्रममा एउटा विद्यालयमा काम गर्ने मौका पाइन् । त्यही स्कुलमा काम गर्दै पढ्दै गर्न थालिन् । ठूलो संयोग, यहीबीचमा उनको पुष्पलालसँग भेट भयो । २०२८ सालमा पुष्पलालले मानवीकै अध्यक्षतामा क्रान्तिकारी महिला सङ्घको गठन गरे । समयक्रममा मदन भण्डारीसँग पनि उनले बनारसमा भेट गरिन् । यतिबेलासम्म मानवीले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेकी थिइन् ।

२०३२ सालमा एसएलसी दिइन् । उनको पहिलो परीक्षा एसएलसी नै थियो । एसएलसी उत्तीर्ण गरेपछि नेपाल फर्किन् । केही समय राजनीतिमा बिताएर उनी फेरि पढ्न बनारस गइन् । नेताहरूले नेपालमै आएर राजनीति गर्न सुझाव दिए । अन्ततः उनी आफू जन्मेको ठाउँमै फर्केर आइन् र भूमिगत राजनीतिमा सक्रिय भइन् । २०३५ सालदेखि पूर्णकालीन सदस्य भएर पार्टी काम गर्न थालिन् । उनी २०४९ सालको पाँचौँ महाधिवेशनमा आइपुग्दा नेकपा एमालेको केन्द्रीय सदस्य भइन् । पार्टीमा सक्रिय भएर काम गर्दै जाँदा उनलाई विवाहका प्रस्ताव पनि आए । पार्टीका नेताहरू पनि नजिक हुन खोज्थे । उनले विवाह गर्न चाहिनन् ।

गाउँमा जागरण फैलाउन जाँदा लुकिलुकी राति हिँड्नुपथ्र्यो । साउती मारेर कुरा गर्नुपथ्र्यो । हातले इसारा गर्नुपथ्र्यो । यसरी रातिराति सङ्गठन बनाउने, बैठक गर्ने गर्दै जाँदा गाउँमा सुरुमा महिला उनीमाथि खनिए । उनलाई देख्नै हुँदैनथ्यो । ‘हाम्रा लोग्ने बिगार्न आएकी’ भनेर कुरा काट्थे । शङ्काको दृष्टिले हेर्थे । तैपनि उनी विचलित भइनन् र पार्टीको काममा निरन्तर लागिन् । पार्टी सङ्गठन बनाउँदै जाँदा आवश्यकताले महिलाका लागि अलग्गै संस्था चाहिने महसुस गरी क्रान्तिकारी महिला सङ्घ, किसान सङ्घजस्ता सङ्गठन बनाएर वर्गीय मुद्दा उठाएपछि मात्रै उनका बारेमा समाजमा राम्रो धारणा बन्दै गयो ।

पार्टीको किसान क्षेत्रमा रहेर निरन्तर काम गरेकी मानवी नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद् सदस्य छिन् । अघिल्लो सरकारमा पनि कृषि मन्त्रालय सम्हाल्ने धोको थियो, तर उनी उपाध्यक्ष रहेको किसान महासङ्घका सचिव हरि पराजुली मन्त्रालय सम्हाल्न पुगे ।

नेपाली वाम आन्दोलन र नारी मुक्ति आन्दोलनकी नेतृ तथा सांसद मानवी अहिले मन्त्री छिन् । यो पदले उनको जीवनमा कुनै औधी खुसी ल्याएको छैन । अहिले पनि उनी सादा र यथार्थवादी जीवनशैली अवलम्बन गर्छिन् भन्ने उनको रहनसहन र बसोवासले देखाउँछ ।परिवारले सम्पत्ति नदिएपछि उनले अंशमुद्दा हालेकी थिइन् । मुद्दा जिते पनि परिवारका तर्फबाट फैसला कार्यान्वयन हुन दिइएको थिएन । तर, जब उनले मन्त्री पदको शपथ लिइन् अंशमा लफडा गर्ने देवरको छोरा, जो अहिले नेपाल सरकारका सचिव छन् उनी बधाई दिन अगाडि आए ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उनीभन्दा कनिष्टहरू उपप्रधानमन्त्री छन् । उनी एक महिना बिनाविभागीयमन्त्री, एक दिन शान्तिमन्त्री, अहिले पशुपक्षी विकासमन्त्री छिन् । मानवीलाई मन्त्री हुँदा बस्ने सरकारी निवास पनि दिइएन । आफ्नै घरमा बस्छिन् ।

‘मान्छे कोही सानो–ठूलो हुँदैन, जिम्मेवारी र मर्यादा आफ्नो ठाउँमा होला, मन्त्री भए पनि मलाई त गुन्द्री र भुइँ नै प्यारो लाग्छ,’ मन्त्री मानवी भन्छिन्, ‘म अहिले पनि रूपन्देहीका तिनै चमारबस्ती, किसान र आमाहरूलाई सम्झन्छु जसका कानमा अँधेरी रातमा गएर मैले चेतना फुकेकी थिएँ । तिनीहरू आज पनि जहाँको त्यहीँ छन् भन्ने मैले भुलेकी छैन । रवाफ देखाउने काम मबाट हुँदैन ।’

जीवनमा गरेको सङ्घर्ष सम्झँदै मानवीले भनिन्, ‘जीवनमा वेश्यावृत्ति र हलो जोत्नेबाहेक सबै काम गरेकी छु । पवित्र हृदयले मुलुक र जनताका पक्षमा काम गर्छु ।’

प्रकाशित मिति :२०७२ माघ १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: