मिडियामा महिला मुद्दा


प्रकाशित मिति :2016-01-30 10:00:15

‘तिमीहरू एक–अर्काको कुरा काटेर पिछडिएका हौ’ जस्ता टिप्पणी गरिनु महिलालाई सम्मानजनक दृष्टिले हेर्न नसक्ने आमपुरुष मानसिकता मात्रै हो । मिडियामा महिला मुद्दा किन उठ्दैनन् भन्ने सवालसँग यस्ता टिप्पणीको कुनै सम्बन्ध छैन ।

सावित्री गौतम
Sabitri gautum२०७१ साल कात्तिक २४ गतेको कान्तिपुरको पेज १४ मा दोलखाकी ७५ वर्षीया मनमाया थामी काठमाडौंको हिमालय वृद्धाश्रममा आश्रय पाएर जाँदै गरेको फोटोसहितको समाचार थियो । पूरै जीवन घरेलुश्रमिकको रूपमा बिताएर बुढेसकालमा बेसहारा बनेकी थामीको उद्धार पनि कान्तिपुरमा प्रकाशित समाचारकै प्रभावस्वरूप भएको थियो । यद्यपि ‘नोकर्नीको रूपमा जीवन बिताएकी’ लेखिएको समाचारमा ‘नोकर्नी’को सट्टा अर्को शब्द प्रयोग गर्न सकिन्थ्यो । तेस्रो पेजमा बारामा चाउचाउ किन्न गएको बेला बलात्कारपछि हत्या गरिएकी आठ वर्षीया बालिकाबारेको दुःखद् समाचारको ‘फलोअप’ थियो ।

सबैभन्दा लोभलाग्दो पहिलो पृष्ठको समाचार थियो ‘बदलिँदै समाज’ शीर्षकमा तनहुँको दमौलीका महिलाले ९० वर्षकी आइतमाया थापाको शवलाई काँध दिएको । टिसर्ट, ट्राउजर्स र आउटर लगाएकी युवतीले शवलाई अघिल्लो भागबाट बोकेकी र पूरै शवयात्रालाई महिलाले अगुवाइ गरेको तस्बिर हेर्दा खुसी र रोमाञ्चले आङ सिरिङ्ग हुन्छ । महिलाको यो साहसपूर्ण कदमलाई ‘हाफ ब्यानर न्युज’ बनाइएको कान्तिपुरको उक्त समाचार शायद कान्तिपुरमै प्रकाशित अत्यधिक लोकप्रिय समाचारमध्येको एक होला । यद्यपि शीर्षकमा ‘समाज बदलिएको’ भनिए पनि समाचारमा उल्लेखित ‘बाबुआमाको मृत्युमा छोरीले शव बोक्नुहुँदैन भन्ने मान्यता छ’ भन्ने वाक्यले नै त्यसलाई खण्डन गरेको छ । यथार्थमा विगत केही वर्षदेखि समाजका स्थापित मान्यताहरूलाई चुनौती दिँदै महिलाले आफैँ बदलिने साहस गरेका छन् र समाजले असमञ्जसकै स्थितिमा त्यसलाई स्वीकार गर्दै आएको देखिन्छ चाहे त्यो उनीहरूको भेषभूषा होस् वा सामाजिक गतिविधि ।

जेहोस्, कान्तिपुरको उक्त अङ्क महिलाको बारेमा सरोकार राख्ने सबैका लागि सङ्ग्रहयोग्य छ, सञ्चारमाध्यमले आफूमा भएको सूचना प्रवाहको तागतलाई थोरै मात्रै पनि प्रयोग गर्दा समाजमा चेतना र सकारात्मक परिवर्तन ल्याउन कति ठूलो बल मिल्छ भन्ने उदाहरणका लागि ।
त्यसकै केही दिनअघि पोखरामा ‘महिलाका मुद्दामा सञ्चारमाध्यमको भूमिका’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने अवसर मिलेको थियो । कार्यपत्र प्रस्तोता साथी पत्रकार दुर्गा अधिकारीले दाइजोका कारण परिवारबाटै जलाइएकी बाँकेकी रिहाना शेखबारे नागरिक दैनिकमा पहिलो पृष्ठमा छापिएको समाचार, त्यसपछि उनको उद्धारका लागि भएका प्रयास, उनको स्वास्थ्यमा आएको क्रमिक सुधारबारे सञ्चारमाध्यमले महत्वका साथ समाचार प्रकाशन–प्रसारण गरेको र उनको सुखद घरफिर्तीमा यी सबै जिम्मेवारीपूर्ण ‘कभरेज’लाई पनि श्रेय जाने उदाहरणका साथ कार्यपत्र प्रस्तुत गरिन् । साथै उनले सञ्चारमाध्यममा महिलाको उपस्थिति नै कम हुनु पनि महिलाका मुद्दा कम उठ्नुको एउटा कारण हो भन्ने तर्क पनि प्रस्तुत गरिन् ।

कार्यपत्रमाथि टिप्पणी गर्ने बेला पत्रकारहरूकै छाता सङ्गठनका पदाधिकारी दुई व्यक्तिले गरेका टिप्पणी उदेकलाग्दा लागे । महिलाका मुद्दामा सञ्चारमाध्यम कत्ति पनि कन्जुस छैनन्, बरु उनीहरूकै कमजोरीका कारण महिला पिछडिएका हुन् भन्ने आशयसहित एकजनाको टिप्पणी थियो, ‘तिमीहरू नै एक–अर्काको कुरा काट्छौ, एउटी महिला घरबाहिर निस्की, प्रगति गरी भनेर आफैँ ईष्र्या गर्छौ, झिनामसिना कुरामा अल्झिन्छौ ।’ अर्को टिप्पणी थियो, ‘तिमीहरू प्रिन्ट मिडियामा काम गर्न मान्दैनौ, इन्टरटेनमेन्ट बिट’ मात्र हेर्न रुचाउँछौ, फिल्डमा जान मान्दैनौ, कार्यपत्र प्रस्तोता आँखीभौँ मिलाएर आउनुभएको छ, म हुन्थेँ भने मलाई आँखीभौँ मिलाउनुपर्थेन’ आदि । व्यक्तिगत रूपमा मलाई यी टिप्पणी अत्यन्तै व्यक्तिलक्षित, अभद्र, अशिष्ट लागे । गएको भदौमा सञ्चारिका समूह पश्चिमाञ्चलको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा ‘तिमीहरू कुरा काटेर पछाडि परेका हौ’ भन्ने व्यक्तिले फेरि आफ्नो त्यही भनाइ दोहोर्‍याए ।

एक–अर्काका बारेमा टिप्पणी गर्नु याने कि कुरा काट्नु संसारभरकै मानिसको चरित्र हो । पुरुषले पनि एक–अर्काको विषयमा वा कुनै महिलाकै बारेमा कस्ता–कस्ता शब्द प्रयोग गरेर कुरा काट्छन् अझै महिला सहकर्मीको उपस्थितिलाई पूरै बेवास्ता गरेर ‘ननभेज’ कुरा काट्ने पुरुष सहकर्मीका कारण महिला कति अप्ठ्यारोमा पर्छन् भन्ने विषय आफैँमा अपरम्पार छ । रमाइलो कुरा, सञ्चारक्षेत्रकै पुरुष पनि यो मामिलामा कम छैनन् बरु बढी होलान् । नेपाली महिला वा नेपाली पुरुष मात्रै कुनै असामान्य प्राणी होइनन् कुरै नकाटी बस्न सक्नका लागि । फेरि सबै महिला वा सबै पुरुष एक–अर्काको कुरा काट्छन् भन्ने छैन । यो व्यक्तिविशेषको स्वभाव हो ।

महिलाले गाजल, लिपिस्टिक लगाउनु, आँखीभौँ मिलाउनु वा पुरुषले पनि हेयर स्टाइलिङ जेल’ वा ‘फेयरनेस क्रिम’समेत लगाउनु पनि आ–आफ्ना व्यक्तिगत रुचिका कुरा हुन् । परापूर्वकालदेखि नै पुरुष र महिलाले आ–आफ्नो शारीरिक बनावटअनुसारको शृङ्गार गरेको वा लुगा–गहना लगाएको पाइन्छ । समयअनुसार र बजारीकरणका कारण त्यसमा केही थपघट आएको अवश्य होला । यसबाहेक आफूलाई आकर्षक देखाउन चाहनु मानव मात्र नभई सम्पूर्ण चराचर जगत्कै स्वभाव हो । कुखुराको भालेले सिउर ठड्याउनु वा मयूरले प्वाँख फिँजाउनु सबै यसैभित्र पर्छन् । आफ्नो कार्यस्थल वा प्रस्तुतिमा सकेसम्म ‘प्रेजेन्टेबल’ हुन जोकोही चाहन्छ । आँखीभौँ वा कपाल मिलाउनु, दाह्री काट्नु, नुहाउनु, राम्रो लुगा लगाउनु, सरसफाइ वा छरितोपनासँग पनि जोडिन्छन् । सुन्दरताका लागि मात्रै कसैले यो गर्छ भने पनि यो नितान्त निजी कुरा भएकाले कसैलाई यसबारेमा टिप्पणी गर्ने अधिकार हुँदैन । फेरि शृङ्गारका प्रशाधन प्रयोग गर्ने र साडी–चोलो लगाउने महिलामा अधिकारको बारेमा चेतना नै नहुने र पटक्कै शृङ्गार नगर्ने वा पुरुषको जस्तो भेषभूषा अपनाउने महिला भयङ्कर नारीवादी हुने भन्ने कुनै ‘फर्मुला’ पनि छैन ।

आफू कार्यरत मिडियामा मनोरञ्जन, खेल, आर्थिक ‘बिट’ वा समाचार शाखामा काम गर्नु मात्रै नभई समाजका अन्य क्षेत्रहरू बैंकिङ, शिक्षण, गायन, अभिनय वा ‘डान्सबार’मा नाच्नेजस्ता काम कसैले तोकिदिएरभन्दा पनि आफ्नो रुचिमुताबिक छान्न पाउने नितान्त आत्मनिर्णयको अधिकार महिलालाई पनि छ । मिडियामा काम गर्ने सबै महिलालाई धुलोमैलो र घामपानीमा काम गर्नुपर्ने फिल्ड रिपोर्टिङमै रुचि हुन्छ वा हुनैपर्छ भन्ने जरुरी छैन, त्यस्तै सबैलाई चट्ट परेर टेलिभिजन क्यामेरामा प्रस्तुत हुनै मन लाग्छ भन्ने पनि छैन । टेलिभिजन पत्रकारले रूपरङको सजावटमा ध्यान दिनु वा राति डान्सबारमा नाच्ने युवतीले चर्को प्रकाशलाई चुनौती दिन गाढा शृङ्गार गर्नु पनि पेसागत विषय हुन् शायद । त्यसैले ‘तिमीहरू एक–अर्काको कुरा काटेका र शृङ्गारपटार गरेका कारण वा आफू कार्यरत मिडियामा मनोरञ्जन बिट हेरेर हिंसामा परेका हौ वा पिछडिएका हौ’जस्ता बेकारका टिप्पणी गरिनु महिलालाई सम्मानजनक दृष्टिले हेर्न नसक्ने आमपुरुष मानसिकता मात्रै हो । मिडियामा महिला मुद्दा किन उठ्दैनन् वा कसरी अझै धेरै उठाउन सकिन्छ भन्ने सवालसँग यस्ता टिप्पणीको कुनै सान्दर्भिकता नै छैन ।

सञ्चार संस्थाहरूमा महिला सञ्चारकर्मीको सङ्ख्या कम वा धेरै हुनुले नै मिडियामा महिलाका मुद्दाले प्राथमिकता पाउने–नपाउने भन्ने कुरा पनि शतप्रतिशत साँचो होइन । यो कुरा लैङ्गिक हिसाबले मात्रै महिला सञ्चारकर्मीलाई समावेश गरिनुले भन्दा ‘हाकिम’हरूबाट उनलाई दिइएको जिम्मेवारीमा निर्भर हुन्छ । उदाहरणका लागि बच्चाबच्चीलाई गीत गाउन वा चुट्किला भन्न लगाउने कार्यक्रम चलाउने जिम्मेवारी पाएकी रेडियो प्रस्तोताले पर्याप्त क्षमता र ज्ञानका बाबजुद आफ्नो कार्यक्रममा महिलाका मुद्दा समावेश गर्न सक्दिनँ किनकि उसको कार्यक्रमको ‘फम्र्याट’भित्र त्यो पर्दैन ।

त्यस्तै पत्रकारितासँग सरोकार राख्ने विभिन्न संस्था वा पत्रकार महासङ्घकै जिम्मेवार पदमा पुगेका सबै महिला पत्रकार महिलाका मुद्दामा छापा वा श्रव्यदृश्यमार्फत आवाज उठाउन दक्ष नै छन् भन्ने कुनै ग्यारेन्टी छैन र हुनैपर्छ भन्ने पनि छैन । यो आ–आफ्नो संवेदना र व्यक्तिगत क्षमताको कुरा हो अवस्थालाई केलाउन र अभिव्यक्त गर्न सक्ने । कुनै पनि संस्थामा प्रवेश गरिसकेपछि निश्चित समयावधि पार गरिसक्दा निश्चित पदमा पुग्नु कुनै असाधारण कुरा नभई मात्रै एउटा प्रक्रिया हो । संस्थागत रूपमा पत्रकार महिलाका पेसागत हकहितका लागि उनीहरूले काम गर्लान् त्यो अलग कुरा हो । नत्र वर्षौंदेखि विभिन्न राष्ट्रिय दैनिकहरूमा महिलामाथि हुने विभेद र हिंसाको विरोधमा आफ्नो कलममार्फत हुँकार भर्ने थुप्रै महिला स्तम्भकार छन् जो न त कुनै सञ्चार संस्थाका कारिन्दा छन् न पत्रकारितासँग सम्बन्धित मेचीदेखि महाकालीसम्मका कुनै पेसागत सङ्गठनका पदाधिकारी नै छन् ।

‘महिलाका लेख ठाउँ पाए मात्रै छापिन्छन्’ भनेर प्रधान सम्पादकहरूले नै सार्वजनिक रूपमा स्वीकार गरिसकेको अवस्थामा, कैयौँपटक आफ्ना लेख गर्भमै तुहाइएका, कैयौँपटक ‘थाल काटेर मुजुरा’का रूपमा छापिएकाजस्ता नमीठा अनुभव हुँदाहुँदै पनि कलम लिएर युद्धमोर्चामा होमिएका उनीहरूले हार खाएका छैनन् । कुरा कसले मुद्दा उठाउँछ भन्ने होइन महिलाका मुद्दा समग्र मिडियामा कत्तिको अटाउँछन् भन्ने हो । जसले जहाँबाट जसरी उठाए पनि हुन्छ ।


प्रकाशित मिति : २०७२ माघ १६ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: