त्यो दिनको यो सफलता


प्रकाशित मिति :2016-01-31 12:31:00

महिला नेतृत्वको विशेषता केलाउँदै टीकाले ‘विद्यालयप्रति आमचासो बढेको’ बताइन् । ‘महिला खटेर काममा लागेको देखियो, कामप्रति लगनशील भएको पनि पाइयो,’ उनको भनाइ छ ।

टीका बिसी
tika dvत्यो दिन उनी कहिल्यै भुल्दिनन् । पुरुष प्रतिस्पर्धीहरूलाई पराजित गरेर नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा पुग्न सफल भएकी थिइन् उनी त्यसै दिन ।जिन्दगीको यो सबभन्दा ठूलो उचाइमा पुग्नु भेरीगंगा नगरपालिका–१२, सुर्खेतकी ३१ वर्षीया टीका बिसीका लागि सजिलो भने थिएन ।

आठजना पुरुष उनको प्रतिस्पर्धामा थिए । चुनाव हुने असोज १३ को साँझ ती पुरुष उम्मेदवार टसमस नगरी विद्यालयका कक्षाकोठामा बसिरहेका थिए । उम्मेदवारी फिर्ता लिनुहुन्न भन्ने पुरुषहरूको भिड उत्तिकै थियो ।

साँझ छिप्पिँदै गर्दा अध्यक्षकी एक्ली महिला प्रत्यासी टीकालाई उम्मेदवारी फिर्ता लिन विभिन्न दबाब र प्रलोभन देखाइयो । टीका पनि पुरुषभन्दा कम थिइनन्, टसमस भइनन् । सहमतिका नाममा समाजका नागरिक अगुवाले गरेका सबै प्रयास असफल भए ।

पुरुष उम्मेदवारहरूको दबाब चिर्न टोलछिमेकका युवा महिला विद्यालय प्रांगणमा भेला भएका थिए । उनीहरूको एउटै स्वर थियो, ‘हामीलाई महिला नेतृत्व चाहिन्छ, यहा“ राजनीति गर्न पाइँदैन ।’

महिला साथीसंगीको साथ पाएर चुनावी लडाइँमा होमिएकी टीकासामु पुरुष उम्मेदवारहरूको केही जोड चलेन । बिस्तारै एकपछि अर्को पुरुषले धमाधम आफ्नो उम्मेदवारी फिर्ता लिन थाले । ती कसैले पनि महिला उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा भने गरेनन् ।

‘म महिला उम्मेदवारलाई समर्थन गर्छु भनेर उम्मेदवारी फिर्ता लिने पुरुष कोही भएन, सबैले पुरुषलाई नै समर्थन गरे,’ टीकाले त्यो दिन सम्झिँदै भनिन्, ‘उनीहरू महिलाले काम गर्न सक्दैनन् भन्दै कक्षाकोठाबाट बाहिरिन्थे ।’

आखिरमा चारजना पुरुष टीकाले भनेजस्तै गरी उम्मेदवारी फिर्ता लिएर बाहिरिए । कक्षाकोठामा अध्यक्षका पाँचजना प्रत्यासी बाँकी भए— चार पुरुष र एक्ली टीका ।

गोलाप्रथाको कुरा उठ्यो तर टीका सहमत भइनन् ।
‘गोलाप्रथाका लागि थुप्रै प्रयास गरिए तर मैले थुतिनँ,’ टीकाले भनिन्, ‘मैले जिल्ला शिक्षा कार्यालयको प्रक्रियाअनुसारै जानुपर्छ भनेर अडान लिएँ ।’

साँझ परिसकेको थियो । बाहिर नाराजुलुस चलिरहेको थियो । यसबीच छलफल केन्द्रकी शिक्षिका नर्वदा वलीले भनिन्, ‘सामान्यतया निमाविमा चुनावमा जानु हुँदैन । सर्वसम्मतबाट हुनुपर्छ ।’
उनले यसो भने पनि विवादको टुंगो लागिसकेको थिएन । कसैले काठमाडौंमा रहेका टीकाका श्रीमानलाई फोन गरेर उम्मेदवारी फिर्ता

गराइदिन दबाबसमेत दिएछन् । ‘सा“झ ६ बजेको थियो, श्रीमानले फोन गरेर गाली गर्नुभो । फोनमै हप्काउनुभो । मैले पछि कुरा गर्छु भनेर फोन राखेँ,’ टीकाले घटनाक्रम सम्झिइन् ।

यसबीच केही पुरुषले उनलाई ‘श्रीमानबाट कुट्न लगाउ“छु’ भन्दै धम्की दिए । कसैले ‘तेरो घर भाँडिन्छ’ भन्दै डर देखाए त कसैले ‘श्रीमान नौ डाडापारि छन्, तैंले काम गर्न भ्याउँदिनस्, फिर्ता लिए हुन्छ’ भनेर मनोबल गिराउन खोजे ।
टीकालाई यी कुनै पनि डरधम्की र त्रासले छुनसम्म सकेन ।

उता, उम्मेदवारी दिएका कतिपय पुरुषको कागजपत्र नै पुगेन । उनीहरूको आठ कक्षा उत्तीर्ण प्रमाणपत्र फेला परेन । यही कारणले उनीहरू उम्मेदवारी फिर्ता लिन बाध्य भए । एक–एक गर्दै पुरुष उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिँदै गएपछि अन्तमा पठबहादुर पुनमात्र बाँकी रहे ।
पुरुषतर्फबाट पठबहादुर र महिला उम्मेदवार टीका– प्रतिस्पर्धा चर्कै थियो । अन्तिममा पठबहादुरले समितिको सदस्य पदमा टीकासँग सम्झौता गरे ।

टीका बिसी सर्वसम्मत अध्यक्ष चुनिइन् । अध्यक्ष पदमा उम्मेदवारी दिन उनले आफ्नो जेठो छोरालाई बोर्डिङ स्कुलबाट झिकेर त्यही विद्यालयमा भर्ना गरेकी थिइन् ।

‘महिलाले अन्तिमसम्म महिला नेतृत्व भन्दै नाराबाजी गरेपछि एकपटकलाई विचार गरौं न त भनेर मैले आफ्नो उम्मेदवारी फिर्ता लिएँ,’ पुनले भने, ‘टिकाजीले पनि तपाईंहरू सदस्यमा बसिदिनुस् भनेर बारम्बार आग्रह गर्नुभयो ।’ अन्तिममा आएर सदस्य पदमा सम्झौता गर्ने थप दुईजना अध्यक्षकै पुरुष प्रत्यासी थिए । ‘त्यति सजिलो गरी म अध्यक्ष भएकी होइन,’ टीका भन्छिन्, ‘यसका पछाडि मेरो माइती, घरपरिवार र टोल–समाजको ठूलो सहयोग छ ।’

यसो भन्दै गर्दा उनले एउटा कुरा भन्न छुटाइनन्, ‘मेरा हरेक प्रयासमा पुरुषप्रधान सोच र प्रवृत्ति अवरोध भएर खडा भए ।’
त्यसो त यहा“सम्म आइपुग्दा उनले धेरै किसिमका अनुभव बटुलिसकेकी छन् । विभिन्न किसिमका तालिम, कार्यशाला र भ्रमणले उनलाई जुझारु र स्पष्ट बनाएको छ । संगिनीहरू उनलाई ‘हठी, जिज्ञासु र छिटो बुझ्न सक्ने’ साथीका रूपमा चिन्छन् । तिनै साथीहरूको सिफारिस र सल्लाहमा उनी उम्मेदवार भएकी थिइन् ।

टीका ०६८ देखि सुरु छलफल केन्द्रकी उत्कृष्ट सहभागी पनि हुन् । पछिल्लो समय नेतृत्वका लागि उनले यही केन्द्रबाट महिला अधिकार र हिंसा तथा महिला नेतृत्वबारे धेरै सिकेकी थिइन् ।

‘उहाँ अरूभन्दा निकै जिज्ञासु हुनुहुन्थ्यो, मिहिनेती पनि,’ कक्षाकी सहजकर्ता केशरी घर्ती (बुढाथोकी) ले भनिन्, ‘अहिले सबैको उदाहरण बन्नुभएको छ ।’

टीका स्वयं पनि छलफल केन्द्रमा सहभागी हुनुअघि आफूलाई संरचना र नेतृत्वबारे केही थाहा नभएको स्वीकार गर्छिन् । छलफलक्रममा दुवै विषयको ज्ञान भएपछि त्यो स्थानमा महिला पनि पुग्नुपर्दो रहेछ भन्ने थाहा पाइन् । उनले यसअघि ०६१ देखि नै समूह र संघ–संस्थामा काम गर्न थालेकी हुन् । तिनमा काम गर्दा सफलताभन्दा अवरोध धेरै भोगेको उनको अनुभव छ ।

टीका सर्वसम्मत अध्यक्ष त भइन् तर यहा“सम्म आइपुग्दा उनले जीवनमा धेरै संघर्ष गरेकी छन् । धेरै अवरोध र अपहेलना सहेकी छन् । त्यसलाई चिर्न जिज्ञासु स्वभाव, लगनशीलता र अनुशासन सधैं उनको साथ रह्यो । यही स्वभावले समिति अध्यक्षका रूपमा जिम्मेवारीका अढाई वर्ष अवरोध र समस्यालाई चिर्न सफल भएको उनको ठहर छ ।

टीकाले महिला नेतृत्वको आवश्यकता र प्रभावकारिता पुष्टि गरिसकेकी छन् । उनको नेतृत्वले भेरीगंगा नगरपालिका–१२, तल्लो थानीचौरस्थित यो विद्यालयको कायापलट भएको छ । यसले समाज परिवर्तनमा एउटा ठूलै सन्देश छाडेको छ, ‘जिज्ञासु र लगनशील भएपछि पुरुष मात्र होइन, महिला पनि अघि बढ्न सक्छन् ।’

अहिले पनि उनले आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा धेरै चुनौती सामना गरिरहेकी छन् । अधिकांश अवरोध र चुनौती लैंगिक विभेदस“ग जोडिएका छन् ।

‘टीकाले कामै गर्न सक्दिन भन्नेहरू नभएका होइनन्, यस्तो भन्नेहरूको संख्या विस्तारै घट्दै गएको छ,’ उनी भन्छिन् । महिला भएकैमा अवरोध सिर्जना गर्नेहरूलाई उनले मुखभरिको जबाफ होइन, नतिजामूलक काम गरेर आफ्नो खुबी देखाइदिएकी छन् । र, यही कारण हो, विद्यालय सँगसँगै टोल, समाज र परिवारमा उनको वाहवाही छ ।

०४६ फागुन १० गते स्वीकृत भएको नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक हरिबहादुर नेपाली टीकाको नेतृत्वमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । ‘उहाँ आएपछि विद्यालयमा धेरै पहिलेदेखि अड्किएका काम भएका छन् । मेरो कामको बोझ नै हल्का भएको छ,’ उनी भन्छन् ।

नेपालीका अनुसार विद्यालयका अधिकांश काम टीका आफैं गर्छिन् । सरोकारवाला निकायमा जाने, सिफारिस गराउनेलगायत काममा उनीआफैं खटिन्छिन् । समितिको निर्णय गर्ने जिम्मेवारी पनि उनकै हो ।

‘पुरुष अध्यक्ष हुँदा सबै काम तपाईं गर्नुहोस् भन्नुहुन्थ्यो, यस कारण मैले विद्यार्थीलाई समय दिन पाएको थिइनँ । महिला नेतृत्वमा आएपछि मेरो धेरै समय बचत भएको छ । त्यो समय विद्यार्थी र उनीहरूको शैक्षिक स्तर उकास्नमा खर्च गरिरहेको छु,’ उनी भन्छन् ।

महिला नेतृत्वको विशेषता केलाउँदै टीकाले ‘विद्यालयप्रति आमचासो बढेको’ बताइन् । ‘महिला खटेर काममा लागेको देखियो, कामप्रति लगनशील भएको पनि पाइयो,’ उनको भनाइ छ । यतिमात्र होइन, विद्यालयप्रति अभिभावकको चासो पनि बढेको उनको अनुभव छ । अभिभावक भेलामा अधिकांश महिला हुन्छन् । छात्रवृत्ति र परीक्षाफल सार्वजनिक गर्ने कार्यक्रममा समेत महिलाहरूको उपस्थिति बढी हुन थालेको छ ।

‘हरेक घरपरिवारमा छोराछोरी बुबास“ग भन्दा आमासँग बढी खुल्छन् । उनीहरूको भावना बुबाले भन्दा आमाले बुझेकी हुन्छिन् । ती आमाले अचेल छोराछोरीको पढाइको स्तर र गतिविधिमा चासो दिन थालेका छन् । यो नै सबैभन्दा ठूलो उपलब्धि हो,’ प्रधानाध्यापक नेपालीले भने । उनका अनुसार यसले विद्यार्थीको पढाइको स्तर र समग्र विकासमा सकारात्मक सन्देश दिएको छ ।

‘के देख्नुहुन्छ त महिला नेतृत्वको कमजोरी ?’ भनेर सोध्दा उनको जबाफ छ, ‘घरायसी परिवेशमा धेरै समय बिताएकाले होला, अलि बढी बुझाउनुपर्ने हुन्छ ।’

अध्यक्षका अन्तिम प्रतिस्पर्धी तथा सदस्य पठबहादुर पुन पनि महिला नेतृत्वसँग काम गर्न सहज हुने अनुभव सुनाउँछन् । ‘पुरुष–पुरुषबीच सधैं टकराव भइरहन्थ्यो, झगडा धेरै हुन्थ्यो । अहिले यो समस्या छैन,’ उनले भने ।
यस्तै अनुभव सुनाउ“छिन्, विद्यालयकी शिक्षिका अम्बिका चपाई (थानी) ।

‘सबैभन्दा सजिलो हामीलाई भएको छ । विद्यार्थी पनि शिक्षकसँग भन्दा शिक्षिकासँग बढी खुल्छन्,’ उनले भनिन्, ‘महिला नेतृत्व असफल हुन दिनुहुन्न भन्ने भावना बढेको छ ।’

सबैभन्दा गहिरो कुरा उनले यसरी व्यक्ति गरिन्, ‘विद्यालयको सबै हिसाबकिताब प्रस्ट छ । पहिला पुरुष हु“दा सानातिना खर्चको हिसाबकिताब नराख्ने र विवाद भइरहने हुन्थ्यो । त्यस्तो समस्या अहिले छैन । अहिले एक रूपैयाँको पनि हिसाबकिताब हुन्छ ।’

टीकाको नेतृत्वमा विद्यालयले का“चुली नै फेरेको छ । धेरै यस्ता नीतिगत निर्णय भएका छन् जसबाट अभिभावकलाई विद्यालयप्रति अपनत्व महसुस भएको छ । भौतिक पूर्वाधार थपिएका छन् । सुविधाहरू त्यत्तिकै बढेका छन् ।

टीका अध्यक्ष भएपछि ६–७ कक्षाका विद्यार्थीले कम्प्युटर चलाउन पाएका छन् । बिजुली जोडेको छैन भनेर अघिल्लो नेतृत्वले जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध कम्प्युटरसमेत ल्याएको रहेनछ । किनेको छ महिनादेखि ती कम्प्युटर पसलमै थन्किएका थिए । टीका आफैंले कर्मचारीस“ग गएर ती कम्प्युटर विद्यालय ल्याइन् ।

त्यसपछि बिजुली जडानको निम्ति खर्च पुगेन । त्यसका लागि चाहिने पा“च हजार रूपैयाँ एकमुष्ट भएन । उनले व्यक्तिगत रूपमा २ हजार २ सय रूपैयाँ थपेर विद्यालयमा विद्युत जडान गरिन् । ‘पैसा नभएरभन्दा इच्छाशक्ति नभएर अघिल्लो समितिले विद्युतसमेत जोडेको रहेनछ,’ टीका भन्छिन् ।

अहिले विद्यालयमा बत्ती छ । र, ६–७ कक्षाका विद्यार्थीले कम्प्युटर चलाउन पाइरहेका छन् ।  कतिपय विद्यार्थी पहिले चटाईमा बसेर पढ्थे । उनले २२ हजार रूपैयाँ जुटाएर १० वटा टेबुलकुर्सी बनाइन् । यसका लागि उनले स्कुलको २१ रोपनी जग्गालाई आर्थिक स्रोत जुटाउने माध्यम बनाइन् । यो जग्गामा बर्सेनि उम्रने घा“स बेचेर आएको पैसा पनि विद्यालयको विकासमा खर्च गर्न थालिन् । विद्यालयले आफ्नो प्रयोजनका लागि किनेर राखेका भाँडाकुँडा सार्वजनिक कार्यक्रममा भाडामा दिने निर्णय गरिन् । त्यसबाट आएको पैसा पनि भौतिक पूर्वाधारमै खर्च गर्ने व्यवस्था गरिन् ।

पहिले विद्यालयको चौर साँघुरो थियो । अधिकांश जग्गामा आ“पका रुख थिए । यसले विद्यार्थीलाई पढाइबाहेक खेलकुदलगायत अतिरिक्त क्रियाकलाप गर्न ठाउँको अभाव थियो । विद्यालयका कार्यक्रमसमेत खुम्चिएर गर्नुपर्ने बाध्यता थियो । यही बाध्यता र समस्या समाधान गर्न उनले ती रुख काट्ने निर्णय गरिन् । ऐलानी जग्गामा भएका रुखसमेत काटिए । त्यसबाट आएका काठ बिक्री गरियो । वन कार्यालयले वर्षौंदेखि यसको अनुमति दिएको थिएन । टीका आफैं कार्यालय धाएर यो निर्णय गराइन् । एक लाख ६७ हजार रूपैयाँ खर्च गरेर स्कुलको चौर विस्तार गरिन् ।

शौचालय नभएका कारण छात्राहरू रजस्वला भएका बेला विद्यालय नै आउ“दनथे । अहिले टीकाले जिल्ला शिक्षा कार्यालय धाएर आफ्नै पहलमा आर्थिक स्रोत जुटाउँदै शौचालय बनाइन् । पानीको त्यत्तिकै अभाव थियो । अहिले निकै परबाट पाइप ओछ्याएर विद्यालयसम्म पानी ल्याइएको छ । यसमा एउटा गैरसरकारी संस्थाले सहयोग गरेको छ । विद्यालय प्रांगणमा सरस्वतीको मन्दिर पनि बनाइएको छ ।
टीकाले नेतृत्व सम्हालेपछि विद्यालयमा यस्ता धेरै काम भएका छन् । यी काम गर्ने बेला धेरै बाधाअड्चन नआएका होइनन् । उनले ती सबै अड्चनलाई साहसपूर्वक चिरिन् र सफलतासाथ अघि बढिन् ।

यति हुँदाहुदै टीका पुरुषको एउटा बानीबाट वाक्क भएको बताउँछिन् । ‘अगाडि हुन्छ भन्दिने, काम गर्ने बेला पछि हट्ने र साथ नदिने,’ उनले दुखेसो सुनाइन् ।

यस्ता थुप्रै तीता अनुभव छन् उनका । अध्यक्ष भएपछि उनी बजेट माग्न सबभन्दा पहिला तत्कालीन छिन्चु गाविस (अहिले भेरीगंगा नगरपालिका) पुगिन् । सचिवले भने यस्तो जबाफ दिएछन्, ‘बजेट आए पनि तपाईं के गर्न सक्नुहुन्छ ?’
‘उहाँको कुरा सुनेर साह्रै चित्त दुख्यो,’ टीकाले भनिन्, ‘जसोतसो २५ हजार रूपैयाँ निकासा गराएँ ।’

इलाका वन कार्यालय, छिन्चुका प्रमुखलाई भेट्दा पनि यस्तै नमीठो अनुभव संगालेकी छन् उनले । ऐलानी जग्गाका आ“पका रुख काट्न पाऊँ भन्ने व्यहोराको निवेदन लिएर उनी कार्यालय प्रमुखको कार्यकक्षमा गएकी थिइन् । इलाका प्रमुखले परिचय नै नगरी एक्कासि टीकालाई भनेछन्, ‘दुई दिनको पद पाएँ भन्दैमा यत्रो तिम्रो औकात ! ऐलानी जग्गाको रुख काट्ने ?’

टीकाले पटक–पटक कागजपत्र हेर्न आग्रह गरिन् । टीकाका अनुसार प्रमुखले मन नलागी–नलागी हेरे । र, ‘तपाईं जंगल फडानी गर्न पाउनुहुन्न’ भनेर फिर्ता पठाइदिए ।टीका तैपनि पछि हटिनन् ।‘के कारणले स्वीकृत हुँदैन, सल्लाह चाहियो,’ उनले भनिन् ।

त्यसपछि उनले फेरि फाइल अघि सारिन् । त्यतिञ्जेल झन्डै आधा घन्टा भइसकेको थियो । यस अवधिमा ती प्रमुखले आफ्नो कोठाभित्र आएका आगन्तुकलाई कुर्सीमा बस्नसमेत लगाएनन् । टीकाले फाइल उनकै टेबुलमा राखेर आफू कार्यालयबाहिर बसिन् । र, त्यहीँबाट विद्यालयका प्रधानाध्यापकलाई फोन गरिन् ।

प्रधानाध्यापक आएपछि प्रमुखको व्यवहारमा एकाएक परिवर्तन आयो । ती कार्यालय प्रमुख नम्र भएर बोल्न थाले । भने, ‘छ महिनापछि आउनू ।’ कार्यालयले तत्काल केही उपाय नसुझाएपछि विद्यालयको व्यवस्थापन समितिको निर्णयबाट सबै रुख काटिए । ‘मैले मनमनै सोचेँ, मेरो काम बिगार्ने उद्देश्यले म कार्यालय पुग्नुअघि नै त्यतिबेला कसैले वनको प्रमुखलाई खबर गरेको रहेछ,’ टीकाले भनिन्, ‘पछि त्यो व्यक्ति पनि पत्ता लाग्यो ।’

टीका तीनवर्षे कार्यकालका लागि समितिको अध्यक्षमा चुनिएकी हुन् । ०७२ असोजमा उनको कार्यकाल सकिँदैछ । ‘अब मेरो कार्यकाल धेरै दिन बाँकी छैन । जिम्मेवारी पूरा गर्ने क्रममा मलाई असहयोगभन्दा सहयोग गर्नेहरू नै धेरै भए,’ टीकाले भनिन्, ‘असहयोग गर्नेले भने धेरै दुःख दिए ।’

एक सामान्य गरिब परिवारमा जन्मिएकी टीका अहिले जस्तोसुकै चुनौती सामना गर्न तयार भएकी छन् । यसको प्रमुख श्रेय उनी आफ्ना श्रीमानलाई दिन्छिन् । नेपाली सेनाको प्राविधिकका रूपमा कार्यरत श्रीमानको प्रेरणा, सुझाव र सल्लाहलाई आफ्नो सफलताको मूलमत्र मान्छिन् उनी ।

घर र माइतमा ठूलो संघर्ष गरेर एसएलसीसम्मको पढाइ पूरा गरेकी छन् उनले । फुपूको छोरा (दाइ) को जोडबलमा उनले आफूभन्दा अघिल्ला दिदीहरूलाई पढाइमा उछिनेकी हुन् । होइन भने आर्थिक अभावका कारण बुबाआमा उनलाई पनि ५–६ कक्षाभन्दा बढी पढाउने सोचमा थिएनन् ।

 टीकाले ०५७ मा १० कक्षा पढ्दापढ्दै प्रेमविवाह गरेकी हुन् । विवाहपछि उनले आफ्नो पढाइलाई नियमितता दिन पाइनन् । परिवारको माइलो छोरासँग विवाह गरेपछि उनलाई तत्काल गृहस्थीले च्याप्यो । घरमा सासू, देवर र श्रीमानमात्र थिए । टीकाले १० कक्षा पढ्दापढ्दै विवाह गरे पनि उनकी देवरानी भने एसएलसी पास गरेको भोलिपल्ट घर गर्न आएकी थिइन् ।

‘मैले त घर आएर पढन पाइनँ, यिनलाई चाहिँ पढाउ“छु भन्ने सोच आयो,’ देवरानीलाई बिहे गरेर आएको दुई साताभित्र पढ्न पठाएकी टीकाले भनिन्, ‘म घरका सबै काम गर्छु, तिमी प्लस टु पढ्न जाऊ भनेँ, उनी गइन् । अहिले सुर्खेतमा कोठा भाडा लिएर पढ्छिन् र त्यहीँको शिशु स्याहार केन्द्रमा पढाउँछिन् ।’

उनले देवरानीबाट एउटै आशा राखेकी थिइन्– अहिले उनलाई सहयोग गरे भोलि परिआउँदा सहयोग पाइएला । तर, ठिक उल्टो भयो ।
अहिले देवर छुट्टिसकेका छन् । आमा पनि उनैस“ग बस्छिन् । त्यतिबेलासम्म उनको पढ्ने इच्छामा तुषारापात भइसकेको थियो । पहिलो सन्तान जन्मिसकेको थियो । सन्तान हुर्काउन पनि घर छाड्न मिलेन उनले । उता श्रीमानले ०६० मा जागिर सुरु गरिसकेका थिए । उनले घरगृहस्थी सम्हाल्नुपर्ने थियो । दोस्रो बच्चा ०६२ मा जन्मियो, जसलाई हुर्काउँदा हुर्काउँदै पा“च वर्ष बित्यो ।
त्यसपछि भने पढाइको चाहना पूरा गर्ने बाटोमा अघि बढिन् टीका ।

०६७ मा छिन्चुको शारदा उच्च माविमा भर्ना भइन् । पहिलो वर्ष नेपाली विषय लाग्यो । पूरक परीक्षामा एसएलसी उत्तीर्ण गरिन् । ‘म अझै पढ्न चाहन्छु,’ उनी भन्छिन्, ‘श्रीमानले मलाई अझै पढ्नुपर्छ भनिरहनुभएको छ ।’

टीका अध्यक्ष त हुन् नै, उनले घरगृहस्थी पनि सम्हाल्नुपर्छ । दुई छोराको रेखदेख जिम्मा उनकै काँधमा छ । खर्च जोहो गर्न कुखुरा र खसी पालेकी छन् । जग्गा–जमिनमा आठ रोपनी सगोलमा छ भने तीन रोपनी नामसारी हुन लागेको छ ।

उनका अनुसार पहिले महिला बाहिर काममा निस्किँदा अनैतिक कार्य हुनसक्छ भन्ने सोच थियो । महिला सदस्यलाई आफ्नो गाउँबाहिर काम गर्न त झनै गाह्रो थियो । उनलाई भने माटो परीक्षण गर्न गाउँगाउँ डुल्नुपर्ने र बीउ लगाउने तरिका सिकाउनुपर्ने हुन्थ्यो । पुरुष सदस्यहरू यी काममा नजाने ।

‘हामी जसोतसो घरकालाई मनाएर काममा गइरहेका थियौं । हाम्रा एक सहकर्मी सदस्यको घरमा त बाहिर डुलेको निहुँमा कलह नै भयो । श्रीमान र श्रीमतीबीच कुटाकुट भएर गर्भमा रहेको बच्चा खेर गयो,’ टीकाले तीतो अनुभव बाँडिन्, ‘यो घटनापछि म पनि समूह छाड्न बाध्य भएँ ।’

उक्त संस्था छाडे पनि समाजमा थप क्रियाशील हुने हुटहुटी भने रोकिएन ।
सुर्खेतकै लेकप्राजुल गाविस–८ मा माइत भएकी टीका सामान्य गरिब कृषक परिवारकी आठमध्ये पा“चौं सन्तान हुन् । उनको बाल्यकाल त्यति सहज थिएन । उनीभन्दा जेठी दिदीहरू सबैले ५–६ कक्षासम्म मात्र पढ्ने मौका पाए । उनको पालादेखि मात्र पढाइ अलि माथि उक्लिएको हो । अरू सन्तानलाई बाबुआमाले बाख्रा र भैंसी बेचेर पढाए । सायद त्यसैले, जेठा भाइ स्नातकोत्तर गरेर सरकारी सेवामा छन् । कान्छो बिएड पूरा गरेर भारतीय सेनामा छन् । बहिनी पनि बिएड गरेर नेपाली सेनामा जागिरे छिन् ।

प्रकाशित मिति :२०७२ माघ १७ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: