विषादीले महिलामा स्वास्थ्य समस्या


प्रकाशित मिति :2016-01-31 12:59:13

तरकारी र अन्य नगदेबालीमा विषादी प्रयोग गर्ने महिलामा गम्भिर स्वास्थ्य समस्यादेखिन थालेको छ । चितवन जिल्लाका ७५ प्रतिशत महिला अहिले पनि विषादी प्रयोग गरिरहेका छन् ।

नारायण ढुंगाना

चितवन । पदमपुरकी सविता आचार्यका श्रीमान लक्ष्मण कामको शिलशिलामा विदेशमा छन् । घरमा ३ जना केटाकेटी र वृद्ध बुबा छन । १४ कठ्ठा जमिनमा मुसुरो, तोरी लगायतका खाद्यबाली लगाउन उनी आफै अधिसर्नु पर्छ । बाली राम्रो होस भन्दै बालीमा विष छर्दै आएकी सविताले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘विष छरेको दिन हातखुट्टा पोल्ने, टाउको र आँखा दुख्ने हुन्छ ।’

सरस्वती आचार्यको समस्या पनि उस्तै हो । २ कठ्ठामा काउली, ५ कठ्ठामा केरा, लगाएकी आचार्यले कुखुरा पनि पालेकी छन् । हरेक बालिमा विषको ट्याङ्की आफैंले बोकेर हिड्नुपर्छ । विष प्रयोग गरेपछिका दिनमा नाक मुख दुख्ने, रिंगटा लाग्ने तथा जीउ पोल्ने गरेको सरस्वती बताउँछिन् ।

पदमपुरकै तुलसी आचार्यले अरूको देखासिकी गर्दै तरकारीको किरा भगाउन विषादी छरिन् । घरमा पुरुष भएपनि तरकारीमा विषादी हाल्न उनी आफैं जानुपर्छ । शुरुमा किरा मरेपछि तरकारी ह्वात्तै सप्रिएको देखेर दंग पनि भईन् । विषादीले आँखा दुख्ने, जीउ पोल्ने टाउको दुख्ने र कहिले काहीँ त वाकवाकी हुने समस्या हुँदा पनि यसलाई उनले सामान्य रुपमा लिईन ।

cc (1)

हातमा पन्जा, गोडामा मोजा र मुखमा मास्क बिनै विषादीसंग खेल्ने धेरै महिलालाई विषादीले पार्ने असरका बारेमा कुनै जानकारी छैन् । लुगा मैलो हुने डरले थोत्रा र छोटा कपडा लगाएर विष छर्दा छाला, नाक, मुख, खुट्टा र यौनांगमा समेत विष पुग्दा स्वास्थ्यमा असर गर्दछ भन्ने धेरै महिला जानकार नभएको तुलसी बताउँछिन् ।

चितवनकी किसान बिमला अधिकारीले पनि लामो समय भयो यसैगरी विष प्रयोग गर्न थालेको । पानीले भिज्छ, विष पर्छ भनेर छोटा र फाटेका फरिया लगाएर नांगो हातगोडामा विषादीसंग खेलेकी उनलाई अहिले टाउको र आँखा दुख्नेमात्र होईन पाठेघरबाट पानी बग्ने समस्या पनि देखिन थालेको छ । पटकपटक समस्या दोहोरिएपछि उनी जैविक विषादी प्रयोग कसरी गर्न सकिन्छ भन्ने खोजीमा लागेकी छन् ।

पुरुष तरकारीको बजार व्यवस्थापन र मजदुरको खोजीमा लाग्छन् । त्यसमाथि पनि गाउँघरका बैठक भ्याउँदैमा उनीहरूलाई फुर्सद हुँदैन । अनि महिलाले विषादी छर्नुपर्ने बाध्यता हुने कृषि कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले बताउँछन् । जिल्लामा किसान मध्ये ७५ प्रतिशत महिला विषादी छर्ने, गोडमेल गर्ने काममा संलग्न हुने वाग्लेको दावी छ । वाग्लेका अनुसार खेतबारीमा विष हाल्दा २५ प्रतिशत वोटविरूवामा र बाँकी ७५ प्रतिशत विष भुईमा हुन्छ । विषादी हेरी सातदेखि ४० दिनसम्म यसको असर रहिरहने हुन्छ ।

विष छर्नमात्रै होईन, तरकारी गोडमेल, भण्डारण, प्याकिंग तथा भान्छामा समेत महिलानै बढी संलग्न हुने हुनाले विषको असर स्वभाविक रुपमा महिलालाई बढी हुने वाग्ले बताउँछन् । असावधानीका साथ विष छर्ने गरेकाले तत्कालै असर नदेखिएपनि बिस्तारै असर देखिने संभावना हुने उनको भनाई छ ।

n-mahila

कृषि विभाग अन्तरगत विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाका प्राविधिक सहायक कमल खड्का विषादीले महिला, केटाकेटी र बृद्धबृद्धालाई चाँडो नकारात्मक असर गर्ने बताउँछन् ।

पुरुषको भन्दा तुलनात्मक रुपमा महिलाको अंग बढी संवेदनशिल हुन्छ । विषले नकारात्मक असर पूरुषमा भन्दा महिलामा पर्ने विज्ञको भनाइ छ । तत्कालै नदेखिए पनि दिर्घकालिन असर विषादीले पर्न सक्ने भएकाले विषादी प्रयोग नगर्ने उपाय अपनाउन जरुरी छ ।  गर्भवती तथा सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धालाई तरकारीको विषादीले चाँडै असर पार्छ । पछि बच्चा जन्मँदा कुनै न कुनै खोट पैदा हुने, अपांग जन्मने सम्भावना हुने चिकित्सकहरू बताउँछन् ।

भरतपुर अस्पतालका स्त्रिरोग विशेषज्ञ डा सुनिलमणि पोखरेल विषादीले बाँझोपन हुने, महिलाको यौन क्षमतामा असर गर्ने, क्यान्सर, किड्नी समस्या, मुटुको रोग  लगायतका समस्या हुने बताउँछन् ।

एक वर्षअघि काठमाडौंको कालिमाटीमा तरकारीको परिक्षणमा चितवनका तरकारीमा बढी विष प्रयोग भएको पाईयो । त्यसपछि चितवनमा किसानहरूले तरकारी बालिमा विषादीको प्रयोग घटाए । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार १५ देखि २० प्रतिशतले तरकारीमा विषादीको प्रयोग घटेकोे छ । प्रयोग घटेपनि प्रयोग गर्ने पात्र महिलानै छैन । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ लामिछाने रासायनिक विषादीको प्रयोग घटाएर किसानहरूलाई जैविक विषादीतर्फ आकर्षित गराउन थालिएको जसले धेरै महिलाले बुझ्न थालेको बताए ।

हाल नेपालमा किटनासक ४८, सुलसुले नाशक ३१, मुसा नासक ६ व्याक्टेरिया नाशक १, झारपात नाशक १८ वटा विषादी प्रयोगमा छन । जैविक विषादी ६ वटा छन् भने प्रतिवन्धात्मक विषादी १६ प्रकारका छन् । खुल्ला नाका भएकाले किसान आफैंले प्रतिबन्धित विषादी ल्याएर प्रयोग गर्ने गरेका छन् ।

अनूमति भएका विषादी हालेकोमा पनि प्रयोग भएको कम्तिमा सात दिनसम्म तरकारी टिपेर खानु हुन्न । केही हालेको ९० दिनसम्म कुर्नुपर्ने खालका हुन्छन् । तर, त्यो किसानलाई ख्याल हुन्न । आज हाल्यो भोली टिप्ने चलन हुन्छ ।

अघिल्लो वर्षको तथ्यांक अनुसार चितवनमा प्रयोग भएका विषादी मध्ये तरकारीमा मात्रै करिव ९० प्रतिशत हालिने गरेको देखिन्छ ।
राजधानी काठमाडौंमा ल्याव नै राखेर विषादी परिक्षण हुन थालेपछि किसान केही सचेत भएपनि अहिले पनि यो व्यवस्था प्रभावकारी छैन । ४ असार २०७१ मा नेपालमै पहिलोपटक तरकारीमा कति विषादी छ भनेर परिक्षण गरिएको थियो । आएका मध्ये ४ प्रतिशत खानै नहुने खालका विषादी प्रयोग भएको पाईएको थियो ।

कृषि विभागको विषादी पञ्जिकरण शाखाका प्राविधिक सहायक कमल खड्का नेपालमा पछिल्लो तथ्यंकमा १ लाख ३८ हजार केजी विषादी खपत भएको  बताउँछन् । यो नेपालको जमिनका लागि प्रति हेक्टर ३९३ ग्राम हुन आउँछ । खड्का भन्छन, ‘विदेशको अनुपातमा यो न्यून हो तर यहाँ जथाभावी विषादी हाल्ने प्रचलन कायमै छ ।’

प्रकाशित मिति: २०७२ माघ १७ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: