नन्दा थापा
काठमाडौं । मिलापत्र गरिएका घरेलु हिंसाका घटनाको प्रभावकारी अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । साथीले काठमाडौंमा आयोजना गरेको घरेलु हिसां पीडित महिलाको न्यायमा पहुँच, सुरक्षा नीति पुनःस्थापनामा गरिएका व्यवस्थाहरू सम्बन्धि पैरवी छलफल कार्यक्रममा बोल्ने व्यक्ताहरूले मिलापत्रपछि अनुगमन नभएका कारण महिला हिसांका घटना दिनप्रदिन बढ्दै गइरहेको बताएका छन् ।
कानुनी व्यवस्थाको बारेमा पीडित र पीडक दुवैलाई जानकारी नभई मिलापत्र वा फैसला हुने क्रम बढेको उनीहरूको भनाइ छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका विनिता भट्टराईले मन्त्रालयले महिला समूह, सहकारी समूह, लैंगिक हिंसा विरुद्धको निगरानी समूह, किशोरी समूह र पीडित महिला तथा किशोरीको लागि मंगलासाहना पुनःस्थापना केन्द्र स्थापना गरेको बताउनुभयो ।
नेपाल बार एसोसियशनका महासचिव सुनिल कुमार पाख्रेलले नजिकका नातेदारबाट महिला हिंसाका घटना बढी भइरहेको बताउनु भयो । उहाँले ऐन कार्यान्वयन फितलो हुँदा समस्या जहाँको त्यही रहेको विचार व्यक्त गर्नुभयो । सोही कार्यक्रमा बोल्दै अधिवक्ता नविन कुमार श्रेष्ठले घरेलु हिसां सम्वन्धिका घटना बाहिर कमै आउने गरेकोे बताउनुभयो । घरेलु हिंसा सम्वन्धि उजुरी प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, स्थानीय निकाय अथवा सिधै अदालतमा पनि दिन सकिने भएपनि हिंसाका घटना कमै मात्रामा दर्ता हुने उहँले बताउनुभयो ।
आर्थिक वर्ष ७०/७१ मा साथी संस्थामा ६ हजार ८ सय ३५, राष्ट्रिय महिला आयोगमा २ सय ९६, आर्थिक वर्ष २०६९ मा ओरेकमा ७ सय ९३ , २०१४ मा इन्सेकमा २ हजार ४ सय ९६ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएको उक्त कार्यक्रमा जानकारी दिएको थियो । साथीका संस्थापक अध्यक्ष बन्दना राणाले घर शान्ति भए मात्र समाज शान्ति हुँदै राष्ट्र समृद्ध हुने बताउनुभयो ।
प्रकाशित मिति २०७२ माघ १७ गते आइतवार
Comment Here!