महिला खबर
काठमाडौं । एक महिनामा १२ जना किशोरी तथा महिलाको बलात्कार भएको छ । सञ्चारिका समूह नेपालले पुस महिनामा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १२ जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको हाे । यस अवधिमा बलात्कारसम्बन्धी २९ वटा समाचार सामग्री प्रकाशित भएको समूहका सचिव विमला तुम्खेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘अनुगमनमा दैनिक पत्रिकाका खेलकुद र मनोरञ्जनसम्बन्धी समाचार बाहेक समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको छ ।’ यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक तथा अंगे्रजी दैनिकहरू द काठमाण्डु पोष्ट, रिपव्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल समेटिएको विज्ञप्तिमा उल्लेख छ ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो भने जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य विषयमा केन्द्रित रहेर सञ्चार अनुगमन गरिएको समूहले जनाएको छ ।
पुस महिनामा हत्याका १० वटा घटना भएका थिए र हत्यासम्बन्धी ४४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका ५ वटा समाचार सामग्री प्रकाशित भएका भने यौन दुव्र्यवहारका ३ वटा घटना भएका थिए र १० वटा समाचार सामग्री प्रकाशित थिए । स्वास्थ्य अधिकार हनन्का २ वटा घटना र ४९ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।
आर्थिक अधिकारसँग सम्बन्धित ३३ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको समूहको भनाइ छ । मानव बेचबिखनसम्बन्धी ३३ र राजनितिक अधिकार हननसम्बन्धी १६ समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धी ४ वटा घटना भएका थिए र ७८ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बहुबिवाहका ६ वटा समाचार प्रकाशित भएका थिए । घरेलु हिंसाका २ वटा घटना भएका थिए र १३ वटा समाचार सामग्री प्रकाशित भए । यो महिना दाईजो सम्बन्धि २ वटा घटना भएका थिए र ४ वटा समाचार सामग्री प्रकाशित थिए ।
महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा जम्मा ३१ समाचार छापिएका थिए । सबैभन्दा बढी समाचार (७६ वटा) तेस्रो पृष्ठमा छापिएका थिए । महिला हिंसासम्बन्धी समाचारको स्थान सन्तोषजनक थियो । अनुगमनले महिलामाथि हिंसा गर्नेमा राज्य (२) ,परिवारका सदस्य (१३), छिमेकी (७), पीडक उल्लेख नभएका (२६) र अन्य ९) भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय २, फोटो समाचार ३, लेख ३८, सफ्ट न्यूज ५१ तथा हार्ड न्यूज २७० प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज ३२, सफ्ट न्यूज ३६ र १५ वटा लेखमा फोटो/स्केच प्रयोग गरिएको थियो ।
जारी विज्ञप्तिमा भनिएको छ ‘सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखेको छ । समाचारको ‘फलोअप’ सन्तोषजनक छैन । यो महिना बलात्कारका १ र हत्याका २ वटा मात्रै ‘फलोअप’ समाचार प्रकाशित भएको देखिन्छ ।’
‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (३२) पाइएको छ र समाचार साम्रगीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै स्पष्ट नीतिको अभाव देखिन्छ । यस महिना पीडितका १३ वटा तस्बिर छापिएका थिए भने पीडकको जम्मा ६ वटा तस्बिर छापिएको सचिवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २०७२ माघ १८ गते सोमवार
Comment Here!