निर्मला भट्ट / करिश्मा चौधरी
काठमाडौँ । गृह मन्त्री शक्ति बहादुर बस्नेतले आमाको नामबाट नागरिकता लिन चाहेका सन्तानलाई छिट्टै नागरिकता दिने सहज व्यवस्था मिलाउनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।
उहाँले तत्कालका लागि बाबुको पहिचान नभएको, पहिचान भएपनि नभेटिएको, बाबु आमाको सम्बन्ध राम्रो नभएको र बाबुको नामबाट नागरिकता नै लिन नचाहने सन्तानलाई नागरिकता दिनका लागि छिट्टै नै सहज व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।
नागरिकतासंग जोडिएका ४ वटा समस्या भएका नागरिकहरूले सहज रुपमा नागरिकता नपाएको भन्दै गृह मन्त्री बस्नेतलाई उहाँकै कार्यकक्षमा भेटघाट गर्न पुगेको सञ्चारिका समूह तथा महिला र कानुन विकास मञ्चसंगको टोलीसंग यस्तो प्रतिवद्धता जनाउनुभएको हो । नयाँ संविधानको नागरिकता सम्बन्धि हकमा धारा (११) ५ र धारा १२ मा व्यवस्था भएका कुराहरू छिट्टै ऐनमा थप्ने गरी काम भैरहेको मन्त्री बस्नेतले बताउनुभयो ।
भेटघाटमा सञ्चारिका समूहका उपाध्यक्ष नितु पण्डितले लामो समयदेखि आमाको नामबाट नागरिकता नपाएका विप्लव चौलागाइलाई सञ्चारिका समूह र कानुन विकास मञ्चको आग्रहमा गृह मन्त्रालयले नागरिकता दिलाएको प्रति धन्यवाद दिुनभयो । उहाँले संविधानमा व्यवस्था भएका नागरिकता सम्बन्धि नयाँ कुराहरू ऐनमा छिटो भन्दा छिटो थप गरेर नागरिकता लिने कार्य सहज बनाउन पहल गर्न गृह मन्त्री बस्नेतलाई अनुरोध गर्नु भयो ।
यस्तै गृह मन्त्रीसंगको भेटमा अधिवक्ता सविन श्रेष्ठले अनाथ बालबालिकाहरू र आमाको नामबाटै नागरिकता लिन चाहाने सन्तानहरूलाई नागरिकता लिन सहज बनाउनका लागि नागरिकता ऐन संशोधन गर्नु पर्ने सुझाब राख्नुभयो ।
उहाँले विदेशीसंग विवाह गरेका नेपाली छोरीहरू राज्य विहीन हुने भएकाले उनिहरूको पीडालाई पनि सम्बोधन गर्न माग गर्नुभयो । उक्त भेटघाटमा संञ्चारिका समूहका महासचिव कमला पन्थीले नागरिकता नपाएका पीडित नगरिकहरूले जुटाएको प्रमाणमा प्रशासनले विश्वास गर्दैन भने, सरकारले आफूले नै उनिहरूको प्रमाण किन खोज्दैन ? भन्दै गृह मन्त्री बस्नेतलाई प्रश्न गर्नुभएको थियो ।
गृह मन्त्रालयका सह–सचिव नागरिकता महाशाखाका प्रमुख विनोद केसी र कानुन महाशाखा प्रमुख धनराज ज्ञवालीले ऐनमा बाझिएका कुराहरूमा संशोधन गर्न दिइएको सुझाव महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।
प्रकाशित मिति २०७२ माघ १८ गते सोमवार
Comment Here!