सशस्त्र द्वन्द्वकालमा मारिएका, वेपत्ता पारिएका र प्रभावित भएका महिलाकोे एउटै प्रश्न छ– के न्याय पाइएला ?
सुजाता ढुंगाना
काठमाडौं । बर्दियाकी ३१ वर्षीय रुवि चौधरी (नाम परिवर्तन) लाई १४ वर्ष अगाडि बेपत्ता भएका श्रीमान आउलान की भन्ने अझै आशा छ । २०५७ साल फागुनमा मागी विवाह गरेकी रुविको दाम्पत्य जिवन १ वर्ष नपुग्दै समाप्त जस्तै भयो । विवाह गरेको १ महिनासँगै बसेर पढ्न नेपालगंञ्ज छिरेका श्रीमान केही महिना नवित्दै वेपत्ता भएको खबर आयो ।
१२ कक्षा पढ्दै गरेका उनका श्रीमानलाई माओवादी भन्दै सेनाले २०५८ फागुनमा नेपालगन्जबाट बेपत्ता पारेपछि उनी श्रीमान आउने बाटो कुरेर बसिरहेकी छन् । लामो समय भयो, फर्किएर आउने अत्तोपत्तो छैन । तर, आँखाहरू भने श्रीमानको आशा गर्न छोडेका छैनन् । रुवी भन्छिन, ‘नदेखेको पनि १४ वर्ष भयो अब त चिन्दिन पनि होला ।’
१४ जनाको ठूलो परिवारमा कान्छी बुहारी बनेर भित्रिएकी रुविलाई श्रीमान हराएको १ वर्षसम्म त परिवारले साथ दियो । विस्तारै उनलाई आफ्नै घर घाट जस्तो लाग्न थाल्यो । रुवि भन्छिन् ‘भागेर म साक्षरता कक्षा पढ्न जान्थे, घरका सदस्यले अरूसँग लागेको भनेर आरोप लगाउँथे ।’
उनको दुखको कथा लामो छ । पथ्थरीको समस्या भएर औषधी खाएँ, गर्भपतनको औषधी खाई भनेर तथानाम गालि गर्न थाले । त्यसपछि औषधी खान पनि छाडे चौधरी भन्छिन् ‘औषधी खाँदा परिवारले सधै गाली गर्थे औषधी किन्ने पैसा पनि भएन, खानै छोडेँ ।’ श्रीमान वेपत्ता भएपछि परिवारले दिएको मानसिक यातना सम्झँदै चौधरी भन्छिन् ‘पैसा कमाउने भएपछि सबैले राम्रो गर्दा रहेछन्, अहिले सिलाई कटाई गरेर आफ्नो जीवन चलाउँछु, घरमा सबैले राम्रो गर्छन् ।’
उमेरले ६० कटेकी दाङकी सुर्जी चौधरीका ४ सन्तान छन् । सशस्त्र द्वन्द्वका क्रममा सुर्जीका श्रीमान र जेठो छोरालाई सेनाले एकै दिन अपहरण ग¥यो । २१ भदौ २०५९ को दिन सम्झँदा अहिले पनि उनलाई आँसु आउँछ । नजिकिदै गरेको अत्तवारी पर्वको लागि बुहारीसँग मिलमा पिठो पिसाउन गएकी सुर्जी श्रीमान र छोरालाई घरबाटै सेनाले अपहरण गरेको सुनेर घर पुग्दा घरमा रूवाबासी थियो । आँखाभरी आँसु पार्दै भक्कानीएर उनले भनिन् ‘४ दिनपछि सेनासँग छोरो भएको थाहा त पाएँ तर, श्रीमानको अहिलेसम्म अत्तोपत्तो छैन । बनीबुतो गरेर छोराहरू पढाँए, अहिले छोराहरू आफ्नो खुट्टामा उभिने भएका छन् तर आफ्नो बुढा भए जस्तो नहुँदा रहेछ ।’
सन्ध्या पराजुलीका श्रीमान विद्यालयमा शिक्षक थिए । दाङमा २०५९ सालमा घरमा माओवादीले सुराकिको आरोप लगाउँदै लुटपाट गरेपछि तीन सन्तानलाई साथमा लिएर सन्ध्या र उनका श्रीमान काठमाडौं आए । काज मिलाएर काठमाडौंमा पढाउन थाले पनि तलब बुझ्न दाङ गएको बेला सन्ध्याका श्रीमान बेपत्ता पारिए । श्रीमान बेपत्ता भएको खबर झन्डै २ महिनापछि मात्र सन्ध्याले थाहा पाइन् । पहिलादेखि नै माओवादीले सेनालाई सुराकी गरेको आरोप लगाउँदै आएकाले माओवादीले अपहरण गरेको हुन सक्ने आशंका उनको छ । श्रीमान वेपत्ता भएकाले राज्यले दिएको राहात रकम लिन जाँदा प्रत्येक पटक भक्कानीने सन्ध्या भन्छिन् ‘भिड भएको ठाँउहरूमा जाँदा कतै श्रीमान पो यो भिडमा घुम्दै छन् कि जस्तो लाग्छ । तर मेरो भित्री मनमा श्रीमान यस संसारमा छैनन् जस्तो लाग्छ ।’
श्रीमानको लास र सास दुबैको पत्तो छैन । सिन्दुर पोते लगाएर हिडम् श्रीमानको पत्तो छैन, नलगाम लास देख्या छैन । समाजले हेर्ने नजर पनि अलग भइसक्यो उनि आफ्नो दुखेसो सुनाउँछिन् । मन शान्त पार्न आफ्नो मान्छे चाहिन्छ, पैसाले कहाँ हुन्छ ? सरकारले मान्छेको ठेगान लगाइदिए मनमा थोरै भएपनि खुसी मिल्ने सन्ध्या बताउँछिन् । संस्कार अनुसारको काम गर्न नपाएकोमा सन्ध्याको दुखेसो छ ।
नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वमा वेपत्ता भएका परिवारका व्यक्तिले यस्तै खालका समस्या भोग्दै आएका छन् । इन्सेकको तथ्यांक अनुसार द्वन्द्वको समयमा १३ हजार ३ सय नागरिकको मृत्यु भएको थियो जस मध्य १ हजार ३३ महिला थिए ।
शान्ति मन्त्रालयको तथ्यांक अनुसार सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता व्यक्तिहरू १ हजार ५ सय ३० जना छ । आइसीआरसीको डाटा अनुसार १ हजार ३ सय ४८ मानिस हराइरहेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता डा. विष्णु पाठकका अनुसार, ‘लगभग १ हजार ५ सय नागरिक हराइरहेका मध्ये कति महिला छन् त्यसको तथ्यांक निकाल्ने काम भइरहेको छ ।’ अहिलेसम्म तथ्यांङ्कै निकाल्न नसकिरहेका यस्ता आयोगहरू पनि पीडितलाई न्याय दिलाउनमा कति प्रभावकारी होलान केही भन्न सकिन्न ।
प्रकाशित मिति : २०७२ माघ १९ गते मंगलवार
Comment Here!