सतवरिया मृत्युकथाको भित्री पाटो


मधेशमा ज्वरो, निमोनिया र झाडापखाला

प्रकाशित मिति :2016-02-02 14:50:17

वीरगन्जबाट २० किलोमिटर परको एउटा गाउँ सतवरियामा दुइ महिनायता एउटै वडाका २६ जनाको मृत्यु भयो । सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘ज्वरो आएर’, ‘चिसोले’, ‘निमोनिया भएकोले’ उनीहरुको निधन भएको बतायो । आजको दिनमा कुनै व्यक्तिले मृत्युवरण गर्नुमा यी कारणहरु पर्याप्त छन् ? सतवरिया घटनाको भित्री पाटो ।

राधेश्याम पटेल

पर्सा । वीरगन्जबाट २० किलोमिटर पश्चिममा पर्छ पोखरिया नगरपालिका । गएको बर्ष मात्रै नगरपालिका घोषणा भएको यसको वडा नम्बर ४ मा पछिल्लो दुई महिनामा २६ जनाको मृत्यु भयो । १३ माघमा वीरगन्जका सञ्चार माध्यमले यो दुखद घटना बाहिर ल्याए । त्यसको भोली र पर्सिपल्ट राजधानीका केहि सञ्चार माध्यमले यसलाई छिटफुट स्थान दिए ।

घटनास्थल पुग्न कठिन हुने पहाडको कुनै दुर्गम गाउँमा होइन, मधेशको त्यो पनि नगरपालिका भित्र । २०७२ मङसिर पहिलोसातादेखि र माध पहिलोसातासम्मका २ महिनामा एउटै वडाका २६ जनाको मृत्यु । कारण जेसुकै भएपनि एउटै वडामा यति ठूलो मानवीय क्षती हुनु सामान्य घटना थिएन । अनि हामी सतवरियाको त्यो वस्तीमा पुगेर खोतल्यौ यो प्रकरणको भित्री पाटो ।

यस वडामा दुई हजार ६ सय हाराहारी जनसंख्या रहेछ । घरधुरीका हिसावले हजाम १५ घर, चमार २७५ घर, लोहार २५ घर, कानु ३ सय घर, अहिर ७५ घर, पहाडी समुदाय १५ घर, रौनियार २५० घर, कोइरी १० घर रहेछन् । गाउँमा सवैभन्दा पहिला भेटिइन प्रमिलादेवी कानु । एक महिना अघि मात्रै १२ बर्षीया छोरी गुमाएकी प्रमिलादेवीसंग कुरागर्ने शब्द थिएनन् । निन्याउरो मुहारले धेरै कुरा भन्थ्यो । शोकाकुल परिवेशमा घर अगाडी उभिएर बल्लतल्ल भनिन, ‘अहिले पनि विश्वास लाग्दैन रानी वितेको ।’

ससुरासंग प्रमिला जसले ६ बर्षकी छोरी रानी गुमाइन ।

                            ससुरासंग प्रमिला जसले ६ बर्षकी छोरी रानी गुमाइन ।

रानी कक्षा ६ मा पढ्थिन् । डेढ सातादेखि विरामी थिइन् । झाडापखाला लागेको थियो । प्रमिलाले गाउँकै अस्पतालका डाक्टरलाई देखाइन । त्यहाँ दिएको अषौधीले काम गरेन । हजुरबुवाले छिमेकी हरिहरपुर गाउँको एउटा झाँक्री बोलाएर झारफुक गराए । रानीलाई सन्चो भएन । नजिकैको बसतपुर गाउँको चिनेको झोले डाक्टर मुन्नाबाट औषधी किनेर खुवाए  । उल्टो रानी बर्बराउन थालिन । एक दिन रानीले ‘हजुरबुबा, मेरो आँखाले केही पनि देख्न सक्दैन’ भनिन । ससुरा वुहारी भएर रानीलाई  वीरगंज स्थित नारायणी  उपक्षेत्रीय  अस्पताल पु-याए । केहि बेरमै उनको मृत्यु भयो । चञ्चले उमेरकी खेल्ने छोरी गुमाएको कानु परिवारका कुनै सदस्य पनि नरोइकन बोल्न सक्दैनन् । निकैबेर थामिएर आमा प्रमिलाले भनिन् ‘पोखरिया अस्पतालमा राम्रो डाक्टर राखिदिनु, नत्र अस्पताल बन्द गरी दिनु ।’

सतवरीया गाउँकै सोनु साह कानुको ६ महिना २ दिनको छोरो अर्जुन बित्यो । अर्जुन र करण दुई जुम्ल्याहा जन्मिएका थिए । ती मध्ये जेठा अर्जुनको माध पहिलो साता मृत्यु भयो । राती आमाको दुध चुसेर निदाएका अर्जुन विहान आमा बिउझँदा जीवीत थिएनन् ।

पोखरिया बजारमा मिठाई पसल छ सोनुको । छोराको मृत्युले पत्नी विक्षप्त भएकी छन् । सोनु भन्छन, ‘एक सातासम्म त जीवन नै समाप्त भए झैं लाग्यो । हिजोआज जिउ अलिक हलुको हुदैछ ।’ छोरा अर्जुनलाइ कुनै रोग थिएन । राति सकुशल सुतेको छोरो विहान जिवित थिएन । घटना कसरी भयो भन्नु ? कसको दोस भन्नु ? विखलबन्दमा छ साह परिवार । अव करणलाई कसरी बचाउने भन्ने चिन्तामा छन् उनीहरु ।

3 Arjun parents sonu n bindu

यो दुइ महिनामा गाउँका अरु २४ जनाले ज्यान गुमाएका छन् । एकपछि अर्को गरेर यहि वडाका मानिस मर्न थालेपछि गाउँ त्रसित छ । एउटै वडामा यति ठूलो भवितव्य कसरी पर्न गयो भनेर गाउँलेहरु चर्चा गर्छन । चिसो र जाडोलाई दोष दिन्छन् ।
सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सवैको मृत्युको कारण भेटेको रहेछ । घटनाले धेरै चर्चा नपाओस र पत्रकारले पनि ‘अज्ञात कारणबाट मानिस मरेको’ समाचार नदिउन भनेर हुनसक्छ जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘सवैको मृत्युको कारण खुलेको’ प्रतिवेदन नै सार्वजनिक ग¥यो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा मातहतमा रहेको पोखरिया अस्पतालका मेडिकल अधिकृत डा. रोशन चौरसियाले २६ जनाकै मृत्युको कारण सार्वजनिक गरे ।

१३ माघ २०७२ मा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका शाखा अधिकृत राजकिशोर दासको नेतृत्वमा सतवरिया गाउँमा प्रारम्भिक अनुगमन तथा तथ्यांक संकलन गरियो । जस अनुसार, ‘सोनु साह कानुको ६ महिना दुई दिनको छोरा अर्जुन मृत फेला परेको, रामबाबु साहकी छोरी रानी कुमारी (१२) चिसोले, जानकी देवी (७४) झाडापखाला र ज्वरोले, जादोलाल महतो (६५) टाउकाको घाउले, रामचन्द्र महतो (७३) फोक्सोको क्यान्सरले, धुन साह कानु (९०) पक्ष घातले, सोमरावती मियाँ (३४) आत्महत्या गरेकोले, प्रद्युम्न रामको १२ दिने छोरी चिसोले, शिवदुलारी चौहान (५५) अपाङ्ग पक्षघातले, लालबहादुर ठाकुरको नाती (३ महिना) मृत फेला परेकोले, पुकार साह (२०) ब्रेन टयूमरले, रामाज्ञा साह कानु (७५) मृगौला खराब भएकोले, ढोँडा महतो (७४) मृर्गौला खराब भएकोले, रोज मियाँ (७३) खोकी र ज्वरोले, कमहीदेवी राम (७०) ज्वरो र खोकीले, समुन्द्रदेवी राम (२२) धेरै रगत बगेकोले, उनकी एकदिनकी छोरी कम तौलकी भएकोले, श्रीराम महतो चौहान (६०) मानसिक रोगी भएकोले, नन्दलाल साह (१०२) बुढो भएकोले, भोजियादेवी (७५) पुरानो दमको रोगी भएकोले, रिंकु कुमारी राम (५ महिना) झाडापखाला तथा ज्वरो आएकोले, आरतीकुमारी राम (१८) मृगौला खराब भएकोले, मक्सुद मियाँ (५५) लिभर क्यान्सरका कारणले, लोथा महरा चमा (६०) झाडा पखालाले, उनकी २ दिने नातिनी मृत फेला परेकीले, बाबुलाल राम (५५) पक्ष घातबाट मृत्यु भएकोले ।’

5 babulal's daughter sunita

बिपन्न र गरिवी
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको यो प्रतिवेदन माथि राष्ट्रिय र क्षेत्रीय स्तरमा खासै वहस र चर्चा नै भएन । पुस र माध महिनाभित्र मधेशको एउटा गाउँका यति धेरै मानिस मर्दा काठमाडौले कुनै चासो वा चर्चा गरेन, मधेशमा पनि यसको गम्भिरतावारे वहस, छलफल भएन ।

यति ठूलो नागरिक क्षतीमा ज्वरो आएर, निमोनिया भएर, कम तौलको भएर भने जस्ता कारण उल्लेख गरेर प्रतिवेदन दिन कुनै विशेषज्ञको जरुरी पर्दैन । त्यस अर्थमा जनस्वास्थ्य कार्यालय पर्साको त्यो प्रतिवेदन सरकारी झारा टराइ मात्रै थियो । बरु घटनाको सामाजिक अर्थ राजनीतिक दृष्टिबाट वहस, बिश्लेषण जरुरी थियो । यसो भएन ।

यो मृत्युकथाले किन मुलुकभर चर्चा पाएन ? दलित वस्ती घुमेर फर्केपछिको हाम्रो निचोड के हो भने त्यहाँ मर्नेहरु सवैजसो विपन्नर गरिव थिए । उनीहरु आफै बोल्न सक्दैनथे । उनीहरुको पक्षमा बोलीदिने पनि कोही थिएन ।
हामीले पटक पटक कुरा कोटयाएपछि स्थानीय ६० बर्षिय जोगिन्दर साह कानुले मुख खोल्दै सरकारतिर औला उठाएर । उनले भने ‘यो घटना हुनुमा ‘पोखरिया अस्पतालको लापरवाही जिम्मेवार छ ।’

अनि हामीले पोखरिया अस्पतालको ब्यवस्थापन र यहाँको जनशक्ती बारे जान्न खोज्यौ । २ करोड ५१ लाख रुपैंयामा प्राथामिक स्वास्थ्य केन्द्रबाट स्तर उन्नती भई निर्माण भएको पोखरिया अस्पताल अहिले थला परेको अवस्थामा छ । १५ शैया क्षमताको उक्त अस्पतालको उद्घाटन २०५९ सालमा तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोले गरेका थिए । आर्थिक बर्ष २०७२/०७३ को बजेट जम्मा ६३ लाख ८९ हजार रुपैयाँ छ । यस मध्येबाट बर्षेनी १० लाख रुपैयाको औषधी खरिद गर्नुपर्छ । यसमा चर्को चलखेल हुनेगर्छ ।

अस्पतालमा मुस्किलले एक जना चिकित्सक र कर्मचारी भेटिन्छन् । एक मेडिकल सुपरिटेन्डेन्ट र दुई मेडिकल अधिकृतको दरबन्दी छ । तर अस्पतालमा जम्मा दुइजना मेडिकल अधिकृतहरु डा. रोशन चौरसिया र डा. अनिसा महतो मात्रै छन् । ६ जना नर्सको दरबन्दी रहेको यस अस्पतालमा केहि दिन अघिसम्म ३ जना नर्स सेवामा थिए । पुष्पा ओली, सुवेक्षा चापागाँइ र रीना पासवान सरुवा भएर एक महिना पहिले अन्यत्र गइसके । जन स्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतोका भनाइमा, ‘मध्यमाञ्चाल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले सरुवा गरेकोले अहिले अस्पतालमा एक जना पनि नर्स छैनन् ।’

३ दरबन्दी रहेकोमा एक जना मात्र अनमी छन् । १२ माघदेखि ती अनमी दिपिका सिंह पनि सुत्केरी विदामा छन् । एचएमा एक जना सबिना माझी र अहेबद्वय नरेश साह र रामनारायण सिंह छन् । ल्याब टेक्निसियनमा निरीक्षक सुशिल चौरसिया छन् । मासिक ४० भन्दा बढि सुत्केरी केस आउने यो अस्पतालको ‘बर्थिग सेन्टर’ अहिले बन्द छ ।

अस्पताल किन यतिबिध्न लथालिङ्ग भयो ? जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा प्रमुख महतो र अस्पताल विकास समितिका प्रमुख उमेश चौहानका आ–आफना तर्क छन् । अस्पताल विकास समितिका प्रमुख उमेश चौहानको उदासिनताले औषधी खरिद लगायतका काम नभएर यस क्षेत्रको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको महताको भनाइ छ । तर चौहान यो मान्न तयार छैनन् । उनी भन्छन्, ‘औषधी खरिदमा टेण्डर प्रक्रिया पुरा गर्नुपर्ने भएकोले दुई महिना ढिलो भयो । सर्वसधारण मार्कामा परे ।’

पोखरिया नगरपालिका वडा नम्बर ४ का वडा सचिव साधु साह रौनियार ‘अस्पताल र औषधी बाहेक यो गाउँमा अरु पनि समस्या रहेको’ ठान्छन । उनका भनाइमा, ‘यही वडामा यति ठूलो क्षती हुनुमा सामाजिक कारण पनि छ । साधु भन्छन, ‘शिक्षा र सचेतनाको कमी छ । गरिबिका कारण रोगको पहिचान गरी समयमा उपचार गर्न सक्दैनन् । त्यसैले यति ठुलो क्षती भयो ।’  ज्वरो, झाडापखाला र निमोनिया जस्ता मामुली कारणले यति धेरैको मृत्यु हुनु मानव अधिकारका दृष्टिले पनि थप वहस र छलफलको बिषय हुनुपथ्यो, जो भएन ।

4 rinku 5month mother

आफन्तहरु के भन्छन् ?

रुकसाना खातुन  :  हजुरबुबा रोग मियाँ ७३ बर्षको हुनुहुन्थ्यो । ज्वरो आएको थियो, खोकी लाग्थ्यो ।  ५ दिनदेखि खाना खानु भएको थिएन ।  विहान १० बजे घरमै उहाँको निधन भयो । एक महिना हुनलाग्यो, हामीलाई धेरै मायाँ गर्ने हजुरबुबा बिना घर सुनसान भएको ।

करिमन राम  : आमा कलहीदेवी राम ७० बर्षकी हुनुहुन्थ्यो । एक महिना पहिलेको कुरा हो । १० दिनदेखि ज्वरो र खोकीले आमालाई सताएको थियो । ७ दिनदेखि भात रुचेको थिएन । नजिकैको बसन्तपुर गाउँमा रहेको डा.मुन्नाको औषौधी पसलमा लगेर उपचार पनि गरायौ । आमालाइ कालले कतिछिटो टिपेर लग्यो, हामीलाई पत्तै भएन । नराम्रो लागी रहेको छ ।

रामशरण राम :  बुहारी २२ बर्षीया समुन्द्र देवी ८ महिनाकी गर्भवती थिइन् । धेरै रगत बग्न थालेपछि रक्सौलको डंकन अस्पतालमा भर्ना गरायौँ । पेटमा बच्चाको अवस्था ठिक नभएकोले चिकित्सकहरुले अप्रेसन गरेर जिवितै बच्ची निकाले । केही बेरमा बुहारीको मृत्यु भयो । भोलीपल्ट नातीनीले पनि संसार छाडिन ।

रामप्रसाद चौहान :  बुबा ढोडा महतो ७० बर्षको हुनुहुन्थ्यो । दुवै मृगौलामा पत्थरी थियो । ३ दिनसम्म डाइलेसीस गरेर अप्रेशन गरियो । तर, विस्तारै मुटुको चाल मन्द हुदै गयो र फोक्सोले काम गर्न छोड्यो । चिकित्सकले बाच्ने आशा कम छ भनेका थिए । शल्यक्रिया गरेको २ दिन पछि उहाँको मृत्यु भयो ।

लालसा देवी चौहान : मेरी छोरी ८ दिनमा गई । अहिले छोरी वितेको पनि १ महिना भयो । राती राम्रोसंग दुध खाएर सुतेकी छोरी विहान ३ बजे छामछुम गर्दा उसको श्वास चल्न छोडेको थियो । के कारणले मृत्यु भयो थाहा पाइन । अहिले सम्झदाँ पनि नराम्रो लाग्छ ।

शोभादेवी राम : मेरी छोरी रिन्कु ६ महिनाकी थिइ । पहिलो छोरी सबैले धेरै माया गर्थे । एक्कासी झाडापखाला लाग्यो । पोखरिया अस्पताल लगेँ । नजिकमा पाइने औषौधी खुवाएँ । त्यसपछि नारायणी उपक्षेत्रीय अस्पताल लगेँ । त्यहाँ चिकित्सले निमोनिया तथा भाइरलले झाडापखाला भएको भने । भारतको मोतिहारी लाँदै गर्दा बाटोमा उनको प्राण गयो ।

सुनितादेवी राम : बुबा बाबुलाल राम ७० बर्षको हुनुहुन्थ्यो । उहाँ अपाङ्ग हुनुहुन्थ्यो । उपचारको लागी नारायाणी उपक्षेत्रीय अस्पताल लग्यौ । त्यही उहाँ बित्नुभयो । डाक्टरले मधुमेह र रक्तचाप बढेकोले बचाउन मुस्किल छ  भनेका थिए । डाक्टरका भनाइमा नियमित औषधी नखाएकोले उहाको ज्यान गएको हो ।

खोज पत्रकारिता केन्द्रबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: