खेमा बस्नेत
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका बल्चौरका बादी महिलाको हातमा सीप छ तर, सदुपयोग गर्न सकेका छैनन् । सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले अस्थायी रुपमा पूर्व पश्चिम राजमार्गको छेउमा बसोबास गरिरहेका बादी महिलालाई विभिन्न किसिमका सीप मुलक तालिमहरू उपलब्ध गराएका भएपनि लगानी अभावमा सीपको सदुपयोग गर्न नपाएको उनीहरूले गुनासो गरे ।
तालिम लिएपछि बादी महिलालाई थेरै भएपनि लगानीका लागि सहयोग गरिदिए मात्र सीपको सदुपयोग हुने भिमा बादी बताउँछिन । उनले भनिन् ‘बादी महिलाले आफ्नै लगानीमा बाँस र बेतबाट अधुरो सामाग्री बनाए पनि थप आवश्यक सामग्री किन्ने पैसा छैन, सीप भएर के गर्ने ? ।’
बादी महिलाले मैन बत्ती बनाउने, बेत र बाँसबाट विभिन्न सामग्री बनाउने, विभिन्न खानाका परिकार बनाउने लगायतका सीपहरू सिकेका छन् । महिलाले अहिले बेत र बाँसका कुर्चि, टेवुल, मुडा, कलमदानी लगायतका सामाग्री बनाउन लागेका भएपनि अन्य आवश्यक कच्चा पदार्थ किन्न नसक्दा काम अधुरै रहेको सुनाए । बादी अधिकारकर्मी रमा बादीले लागि आवश्यक पर्ने कच्चा पदार्थ किन्ने क्षमता बादी महिलामा नभएका कारण मैनबत्ती बनाउने काम गर्न अझै समस्या भएकोे बताइन् ।
एक संस्थाले ५/६ जना बादी महिलालाई काठमाडौं लगेर ६ महिना सिलाईकटाई र मैनबत्ती बनाउने तालिम दिए तर, लगानीको अभावमा अहिले तीं महिला बेकाम भएर बासिरहेको बादी समुदाय उत्थान विकास तथा जिल्ला समन्वय समितिका उपाध्यक्ष नन्दराम बादीले बताए । स्थानीय रोशनी बादी, जिउली बादी, देउकी बादी लगायतका बादी महिलाले काठमाडौं पुगेर सीप सिकेका थिए । तर आर्थिक अभावमा तीं महिलाहरुले सीकेको सीपलाई सदुपयोग गर्न सकेका छैनन् ।
‘संघ–संस्थाहरूले सीप सिकाएपछि आर्थिक रुपमा पछाडि परेका बादी महिलालाई केही मात्रामा लगानी गर्ने वातावरण मिलाएको भए हुन्थ्यो,’ बादी समूदाय उत्थान विकास तथा जिल्ला समन्वय समितिका संयोजक नन्दराम बादीले भने–‘सिकेको सीपलाई सदुपयोग गर्न नसक्दा बादी महिला अहिले भारतका विभिन्न शहरहरूमा काम गर्न जान थालेका छन् ।’ महिलाले सिकेको सीप सदुपयोग गर्न पाएको भए अहिले बादी महिला आर्थिक उपार्जनको राम्रो बाटोमा लाग्ने उनको भनाइ छ ।
घुमेर र मागेर खाने परम्परालाई छोड्दै आत्मनिर्भर बन्न खाजिरहेका बादी समुदायका महिलालाई अहिले आर्थिक अभावले पिरोलेको छ । सिकेको सीप पनि आर्थिक अभावमा सदुपयोग गर्न नपाएका उनीहरू श्रीमान सहित भारतका विभिन्न शहरहरूमा काम गर्न जानेक्रम बेढेको छ ।
प्रकाशित मिति : २०७२ माघ १९ गते मंगलवार
Comment Here!