जमुना वर्षा शर्मा
पोखरा । झण्डै ३ दशक देखि नेपाली सिने जगतमा विभिन्न चरित्र बोकेका पात्रको अभिनयमा सक्रिय चर्चित नायिका गौरी मल्ल पोखरामा भएको लिटरेचर फेष्टिवलमा भने फरक विधाबाट प्रस्तुत भइन् ।
कार्यक्रमको अन्तिम प्रहरमा रहेको कविता बाचन सत्रमा प्रस्तोता कवि सरस्वती प्रतिक्षाले नेपाली चलचित्रकी चर्चित नायिका गौरी मल्ललाई कविका रुपमा मञ्चमा आमन्त्रण गरिन् ।
मन्द मुस्कानका साथ मञ्चमा उपस्थित हुँदा दर्शकहरू निकै उत्साहित र शान्त तरिकाले उनलाई हेरीरहेका थिए । सधै पर्दामा देखिने नायिकाले कस्तो कविता सुनाउने हुन् भन्ने खुल्दुली दर्शकमा स्पष्ट देखिन्थ्यो ।
गौरी मल्लले अभिवादनका साथ आफ्नो केही गुनासो समेत जोडिन् ।
‘ म बाल्यकालदेखि कविता लेख्दै आएकी छु , आज पर्यन्त पनि लेख्न छाडेकी छैन, तर पनि म साहित्यकारको भिडमा आफूलाई भेटाउँदिन । सायद मेरो कृति प्रकाशित छैन त्यसैले म साहित्यकार बन्न सकिन ।’
आफ्नो अनवरत साहित्य यात्रामा सधै साहित्यलाई सम्मान र माया गरिरहेको पनि उनले बताइन् । दर्शक निकै आतुर देखिन्थे गौरीका कविताको आनन्द लिन ।
गौरी बिस्तारै प्रवेश गरिन् कविताको शिर्षकमा उनको कविताको शिर्षक थियो ‘फेरी आमा बन्नु छैन् मलाई’ । सबैभन्दा प्रिय र सम्मानित शब्द जो कोहीका लागि ‘आमा’ नै हो , माफ गर्नुहोला ‘मलाई फेरी आमा बन्नु छैन ।’ उनले प्रस्तुत गरेका शब्दबाट दर्शकलाई स्तव्ध बनाईसकेको थियो उनले कविताको प्रारम्भ गर्दै सुरु गरिन् ।
जब सारा दुनियाँ निदाउँथे,
म थाकेर चुर भएका
तिम्रा पाउहरू दबाउँथे
चाहे तिमी कामबाट थाकेर आऊ, या यात्राबाट,
म जिज्ञासु, तिमीलाई वार्तामा भुलाउँथे….. ।
सामाजिक विभेदको जडमा महिला भएकै कारण भोग्नु परेको शारीरिक मानसिक पीडाको प्रसंगलाई विम्बात्मक रुपमा बडो संवेदनशिलताबाट प्रस्तुत गरिएका कविताका शब्दहरु निकै मार्मिक थिए ।
एक तमासले गौरीलाई सुनिरहेका दर्शकले शब्द शब्दको अर्थमा भावुकता खोजिरहेका थिए । बाचनशैलीको प्रखरतामा पनि उत्तिकै माहिर गौरी कविताको अन्तिममा अलि आक्रामक रुपमा प्रस्तुत हुँदै भनिन् –
सन्तानको नियति यदि यस्तै हो भने
अर्को ‘ आफू ’ जन्माउनु छैन मलाई
आमा यदि
तिमी जस्तै मात्र हुन्छन् भने
अर्को आमा बन्नु छैन मलाई
अर्को आमा बन्नु छैन मलाई ।।
गौरीका कविता सुनेपछि पोखराका युवा कवि मन क्षेत्रीले प्रतिक्रिया दिँदै भने ‘सामान्य रुपमा उनले आमालाई विम्ब बनाएर विद्रोहको भाषा बोले पनि कविताको गहिराईमा पुग्दा छोरा र छोरी बीचको विभेदलाई सगोल रुपमा उतारेकी छिन् ।
प्रकाशित मिति २०७२ माघ २० गते बुधवार
Comment Here!