रुपा गहतराज
नेपालगञ्ज । लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेकी बाँकेकी २० वर्षिय बिपना अहिले कारगारभित्रै एसएलसीको लागि तयारी गरिरहेकी छिन् । यो सालको एसएलसी परिक्षामा राम्रो नम्बर लिएर पास गर्ने उनको उदेश्य राखेर उनले रातदिन पढाइ गरिरहेकी छिन् ।
२०६९ साल फागुन २८ गते विवाह भएको एक हप्ता नहुँदै भारतीय बजार रुपडीयामा श्रीमानसंग घरको लागि चाहिने सामान किन्न गएकी बिपना घर फर्कन पाईनन् । श्रमानकोे लागु पदार्थ सेवन गर्ने लतका कारण उनी जेलको कालकोठरीमा दिन बिताउन बाध्य भएकी छिन् ।
घरको सामान किनमेलका लागि बजार गएका श्रीमानले थाहै नदिई उनले बोकेको झोलामा लागु औषध राखिएको कुरा उनले प्रहरीको चेकजाँचमा मात्र थाहा पाईन । उनले भनिन् ‘प्रहरीले चेकजाँच गरेपछि लागुऔषध पहिलो पटक देखेँ ।’ अहिले उनी र उनका श्रीमान लागुऔषध ओसारपसारको अभियोगमा ५ वर्षका लागि जेल सजाय भोगिरहेका छन् ।
प्रेम विवाह गरेकी उनले एक हप्तामै श्रीमानको कारणले जेलसजाय भोग्नु पर्ला भन्ने कल्पना समेत गरेकी थिइनन् । उनले भनिन् ‘श्रीमानले यसरी भुक्याएर जीवन नरक बनाउलान भन्ने कल्पना पनि थिएन । बिगतलाई सम्झेर के गर्ने ? बाँकी जीवनमा राम्रो गर्नका लागि पढाइलाई अगाडि बढाएको छु ।’ एउटै कारगारमा रहेका उनीहरूलाई हप्ताको एकदिन भेट्ने समय दिइन्छ ।
उनी जस्तै १६ वर्षिय मेलीना पनि यो साल एसएलसी दिने तयारीमा छिन् । रोकीएको पढाइलाई अगाढि बढाउन उनले कारगारभित्रबाट एसएलसी दिने निधो गरेकी छिन् । मामा पर्नेले पैसाको प्रलोभनमा पारेर ज्यान मारेको अपराध स्विकारेर उनी जेलमा परेकी हुन । उनले भनिन् ‘मामा पर्नेले बलात्कार गर्न आउँदा मारेको हो भन्ने बयान दिनु दुइ लाख दिन्छु भने प्रलोभनमा पर्दा आज यसरी फसियो ।’
कर्तव्य ज्यान मुद्धामा उनीसंगै ८५ वर्षिय आमा पनि जेलमै छिन् । ‘पढ्नका लागि किताब खोल्यो भाइ बहिनीको याद आउँछ । कसरी पढ्ने ? लोभले परिवारको बिचल्ली भयो । भबिष्य पनि बिग्रीयो ।’ उनले भनिन् । उहाहरू जस्तै बाँके कारागारमा रहेका २० जना कैदीबन्दी महिला प्राथमिक तहमा पढिरहेका छन् । कारागारमा ५० जना महिला बन्दी छन । यी मध्ये २० जनाले मात्र अध्ययन गरिरहेका छन ।
भर्ना हुने समयमा धेरै कैदीबन्दी भर्ना भएपनि पढ्ने कोठा नहुँदा धेरैले बीचमै पढाइ छोडेको कारागारभित्रै पढाउने शिक्षिका गोमा पोख्रेलले बताइन । नयाँ आउने र पुरानाहरू कैद भुक्तान भएर जाने भएकाले विद्यार्थी संख्या थोरै भएको पोख्रेलले बताइन । महिला कारागारमा रहेको प्राथमिक विद्यालयमा दुईजना शिक्षिकाले पढाउँदै आएका छन् ।
दुई जना शिक्षिकाले पाँच कक्षासम्म पढाउँदै आएका छन । तर, भर्ना हुने समयमा पुरुष र महिला गरी १ सय २० जना भर्ना भएको शिक्षिकाले जानकारी दिइन । शिक्षिका पोख्रेलले भनिन् ‘बीए/एमएमा अध्ययनरतले परीक्षा दिन बाहिर जान पाउने भएपनि एसएलसी दिन चाहनेहरूका लागि कारगारभित्र व्यवस्था मिलाइएको छ ।’
कारागारमा ५० जना महिला कैदीबन्दी र ५ सय १७ जना पुरुष कैदीबन्दी गरी जम्मा ५ सय ६७ जना कैदीबन्दी रहेको जेलर लामिछानेले जानकारी दिए । ५० जना महिला मध्ये मुद्धा फैसला भैसकेका ३७ जना महिला अहिले पनि काराकारमै छन् भने पुर्पक्षका लागि १३ जना महिला थुनामा रहेका छन ।
त्यस्तै ३ सय ७९ जना मुद्धा फैसला भई सजाय भोगीरहेका पुरुष छन् भने मुद्धा फैसला नभएर पुर्पक्षका लागि १ सय ३८ जना पुरुष थुनामा रहेका छन् । कारागारमा रहेका बन्दी मध्ये केहीले अबैध लागु औषध, केही मानव बेचविखन र कर्तब्य ज्यान मुद्धाको सजाय भोगिरहेका छन् ।
प्रकाशित मिति २०७२ माघ २१ गते बिहीवार
Comment Here!