दरिलो हुन नपाउँदै पिठ्यूमा भारी


प्रकाशित मिति :2016-02-04 17:27:45

‘नौ वर्षको अन्तरालमा मेचीदेखि महाकालीको यात्रा गर्दा मैले धेरै सामाजिक परिवर्तन भएको देखेँ ,तर जातीय छुवाछुत जस्ताको तस्तै’

देवकी विष्ट

de_oकाठमाडौं । शितका थोपाहरू जमेर हिउँ बनेका थिए । बिहानको कठ्यांग्रिदो जाडो । शितको थोपा जमेको ठाँउमा क्यामेराको लेन्स तेर्साउँदै के थिए, उकालो चढ्दै गरेको एउटा बालकलाई देखेँ । एक सरो कमिज र पाइन्ट । त्यो पनि ठाँउ–ठाँउमा च्यातिएर बाहिरी दुनियाँ नियालीरहेको थियो । नीला आँखा र त्यही आँखामा सजाएर बोकेका अनगिन्ति सपनाहरू ।

जो प्रष्ट झल्कन्थेँ बालकको आँखामा । पट पटी फुटेका हात, खुट्टा र ओठ ।  पिठ्यूमा बोकेको १५ किलाको टिनको बट्टा भित्रको खोँटो । सुदूरपश्चिमको डडेल्धुरा जिल्ला साहुखर्कमा देखेको यो दृष्य अहिले पनि मेरो मानसपटलमा झलझली देखिन आँउछ । म एकातिर ज्यान न्यानो पारेर उभिएकी थिए ।

IMG_8059

साहुखर्कको खिर बाजे (धन बहादुर देउवा) को पसलमा चिया पिउने तयारीमा थियौँ । ऊ भने बिहान ६ बजे दरिलो हुन नपाएको आफ्नो पिठ्यूमा  भारी बोकेर उकालो चढ्दै थियो ।
बालकलाई देख्न वित्तिकै उनको बारेमा जान्न मन लाग्यो
सोधेँ बाबु नाम के हो ?
मिन सार्की,
उमेरः १२ वर्ष,
पढाइ :  कक्षा ३
के बोकेको बाबु ? खोँटो, सटिक जवाफ ।
के बाट बन्छ ? सल्लाको रुख, अर्को सटिक उत्तर ।

IMG_8078
उसले एक नजर मात्र म तिर हे-यो तर, आफ्नो काम भने गरिरह्यो । सडकको छेउमा सल्लाको खोँटो टिनको बट्टामा राखिएका थिए । उसले पनि आफ्नो ठाँउमा लगेर राख्यो । मिनले भन्यो ‘आब्व ठेकेदार आँउछ यइको रुप्याँ दिन्छ बाबालाई ।’ ठेकेदारले उनीहरूलाई प्रति टिनको बट्टाको ७० रुपैयाँ दिँदो रहेछ । मिनका कलिला औलाले कलम भन्दा धेरै सल्लाको रुखबाट निस्कने खोटो संकलनमै समय बिताउँछन । उसले संकलन गरेको खोटो सडक बनाउँदा कोलदारको रुपमा प्रयोग हुन्छ । साना कलिला हातले तिनै कोमल र मिहेनती हातले संकलन गरेको खोँटोबाट ठूला ठूला पहाड र शहर बजारमा हिड्ने पक्की सडक बन्छन् ।
खिर बाजेले चिया बनाई सकेपछि मैले मिनलार्ई आँउ चिया खाउ भनेर बोलाए तर उसले शिर निहुराएर अर्को पसलको छेउमा उभियो । मिनको पछि पछि गए । किन चिया नखाएको ‘मिन’ ?

IMG_8065
उसले अप्ठ्यारो मान्दै बिस्तारै भन्यो, ‘हाम्लाई चाहा (चिया) खान नाइदिना, दोकान माइ (पसलमा)’ ।
किन ? मिन मौन रह्यो । फेरी सोधेँ के तिमीलाई सार्की भनेर हेप्छन् ? टाउको हल्लाउँदै हो भन्यो । चिया दिँदैनन् । दुध हालेको चियो खाएमा गाईले, भैसीले दुध दिँदैन रे । मिन फाटेको पाइन्टमा ठिराउँदै गरेका हात हालेर कुँदै थियौँ । उसलाई टिनको अर्को बट्टा ल्याउन हतार थियो । एकछिन रोकाएर २० रुपैयाँ दिएकी के थिए मज्जाले कुँदै ओरालो लाग्यो ।

(नौ वर्षको अन्तरालमा मेचीदेखि महाकालीको यात्रा गर्दा मैले पनि परिवर्तनलाई नियाली रहेकी छु । एक्लै केटी गाँउ—गाँउमा हिडेको देख्दा जिब्रो टोक्नेको संख्या घट्दै छ । छोरीले पनि पढ्नु पर्छ भन्ने सोच मानिसमा आएको छ । १५—१६ वर्षको उमेरमा बच्चा काखीमा च्यापेर हिड्ने किशोरीहरूले किताब च्यापेर स्कुल जान थालेका छन् । कच्ची सडकहरू केही पक्की भए र जन जीवन फेरियो । मोवाइल देख्दा तर्सिनेहरू घाँसको भारी बोकिरहँदा पनि आफूले लगाएको ब्लाउजको बिचमा राखेको मोवाइलमा हेलो गर्दै गरेको देखेँ तर परिवर्तनले जातीय विभेदमा कागजमा लेखेको र केन्द्रमा चुटिने गफको आधि अंश पनि छुन सकेन् ।)

एकछिन मैले आफैलाई प्रश्न गरे र आफैलाई सम्झेँ । म महिनामा एक पटक महिनावारी हुँदा ४ दिनसम्म एक ठाँउमा बस्नु पर्ने, कसैलाई नछुने, खाना पनि टाढाबाट दिदाँको दृष्य सम्झेँ । आफूलाई भएको आत्मगलानी सम्झेँ  । तर त्यो ४ दिन मात्र थियो । जुन मैले पहिला प्रत्येक महिनाको ४ दिन झेल्नु पथ्र्यो । दलित भन्ने शब्द र व्यवहार मिन सार्कीले जन्मे देखि मृत्युसम्म कसरी सहन सक्छ ? एकदमै पिडा भयो ।

IMG_8075
उ जव घरबाट बाहिर निस्कन्छ । हामीलाई ‘न’छो’ भन्ने शब्द आँउछ । जब उसलाई कसैले छुन्छ, सुनपानी छर्केर भित्र पस्छन् । जब उ केही खान खोज्छ ,उसको हातमा टाढाबाट फ्याकिन्छ ।
खिर बाजेको पसल भित्र ठूलो अगेनाको वरपर बसेर निकै गफ भइरहेको थियो । टाउकोमा पालेर राखेको ‘जुडी’ (टुप्पी)को विषयमा । जसको जुडी छ । ऊ बाहुन हो । एक जना भन्दै थियो । अर्को काम्ने धामी हो भन्दै थियो । हामीसँगै गएको जीवन श्रेष्ठ नेवार थियो । उसको सबैभन्दा लामो जुडी थियो । उसलाई देख्दा एक जना सेतो लुगा लगाएको धामीले भने ‘तिमी लामा हौँ ?’ उसले आधा नेपाली आधा डोटेलीमा ‘हामी लामा नाइ हो, हामी पनि बाहुन हो’ भन्दै जुडी देयायो । यो बहस चल्दै थियो । मैले साहुखर्कका खिर बाजे अर्थात् धन बहादुर देउवा(७८) लाई सोधेँ, ‘तपाईले यहाँ दलितलाई चिया दिनुहुन्न ?
जातको, जुडीको कुरा भइरहेको बिचमा मेरो फरक प्रश्न सुन्दा सबैले मेरो मुखमा हेरे । धन बहादुर देउवाले भने ‘दुध चिया दिएमा गाई, भैँसीले दुध दिन्न । हाम्रो चलन छैन दिने ।

IMG_8081
सबैले कुरा थपे, ‘खाएग्या कालो चिया दिन्छौँ, उनीहरूलार्ई ऊ त्यो देली (ढोका) मा । खाएको गिलास आफू धोएर जान्छन् ।’
उनीहरू त्यो मासमा आफुलाई नफाप्ने, छुवाछुतका कुरा गरिरहेका थिए । दलित भनेर त्यस्तो ठुलो भेदभाव गरिरहेका थिए । म मौन रहेर खिर बाजेको पसलमा चिया खाएँ । ठूलो अगेनामा आगो तापेँ, कुरा सुनेँ र हिँडे । उनीहरुलाई के थाहा । म महिनावारी भएको । उनीहरु बिर्सेका थिए म युवती भनेर । म महिनावारी भएर पनि हिडिरहेको । उनीहरू मैले खाएको गिलास धुन्छन् । मेरो शरीरमा बेकार रगत बगिरहेको बेला उनीहरुसँगै बसेर चिया खाएँ ।

IMG_8061

सायद उनीहरु आफ्नो घरको श्रीमती, छोरी, बुहारीले त्यसो गरेको थाहा पाए के गर्थे होला राम्रोसंग थाहा थियो । म महिनावारी भएको कुरा भनेको भए उनीहरुले त्यो मिन सार्की भाइलाई गर्ने व्यवहार भन्दा बढी गर्थे वा शहर, बजारका पढे लेखेका ग्राहक भड्किन्छन् भनेर मौन विदाइ गर्थे । सुदूरपश्चिममै हुर्के बढेकोले अनुमान लगाउन त्यत्ति समस्या थिएन । मलाई मेरो गन्तव्यमा पुग्नु थियो । बाटोको विवादमा मुछिएर मेरो उद्देश्य कमजोर बनाउनु थिएन । पढे लेखेको, क्यामेरा भिरेको, बोल्ने, अनि मलाई ठूलो गाडीमा चढेर, दुई जना केटासंग हिडेको देखेर पनि होला उनीहरूको मानसिकता अरू भन्दा फरक भएको हुनसक्छ ।

प्रकाशित मिति २०७२ माघ २२ गते  शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: