महिला खबर
पोखरा । यतिबेला पोखरा दुई दिनको अन्तरमा दुई जना महिलाको हत्याले त्रसित भएको छ । पोखरा रामबजार नयाँ गाउँकी १९ वर्षीय योरुना (नेहा) को मंगवार घर नजिक करिव ४ सय मिटरको दूरीमा अर्धनग्न अवस्थामा शव भेटियो ।
त्यसैगरी आइतवार मालेपाटनको प्रगतिमार्गमा डेरा गरी बस्ने ४० वर्षीय सरस्वती लिम्बु मृत अवस्थामा फेला परिन । तर,यी दुई महिलाको हत्या गर्नेे अपराधीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
युरुना हत्याकाण्डको विरोधमा विभिन्न संघ संस्था अधिकारकर्मी, विद्यार्थी नागरिक समाजले पोखरामा विरोध प्रर्दशन समेत गरेका छन् । विरोध प्रदर्शनमा सहभागीहरूले युरुना हत्याकाण्डको छिटो भन्दा छिटो छानविन गरी हत्यारालाई कारवाही गर्न राज्यसंग माग गरेका छन् ।
बढ्दो अपराध र महिलाका लागि असुरक्षित समाजको बारेमा निमित्त क्षेत्रीय निर्देशक राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल पोखरा सम्झना शर्मा भन्नुहुन्छ – घटनाले महिलाका लागि समाज निकै असुरक्षित हुँदै गएको अनुभुति गराएको छ ।
पोखराका मुख्यस्थल त्यो पनि खुल्ला ठाउँमा २ दिनको अन्तरमा भएको २ जना महिलाको हत्याले महिला एवं किशोरीहरूलाई निकै त्रसित बनाएको छ ।
कतिबेला कहाँ के हुने हो भन्ने सन्त्रास सबैमा देखिएको छ । समाजमा बढ्दो अपराधलाई निरुत्साहित गर्न अब राज्य संयन्त्रले विशेष ध्यान दिनुपर्छ ।
समाज जबसम्म हत्या र हिंसा रहित हुन सक्दैन तबसम्म देशको विकास पनि सकारात्मक गतिमा अघि बढ्न सक्दैन । यसले नागरिकको बाँच्न पाउने अधिकारमाथि नराम्ररी प्रहार गरेको छ । यस्ता घटनामा प्रहरी प्रशासनले पनि नागरिकलाई विश्वस्त बनाउँदै दोषीको पहिचान गरी कारवाहीको दायराभित्र ल्याउन ढिला गर्नु हुँदैन ।
केशव शरण लामिछाने
पत्रकार
यस घटनालाई महिला मात्रको भनेर बुझ्नु हुँदैन, यो समाजका एक नागरिकको हत्या हो । सभ्य समाजको लागि निकै गम्भिर घटना पनि हो । समाजमा घटित यस्ता गम्भिर र अमानविय कार्यलाई रोक्न र पीडितलाई न्याय दिनका लागि महिला पुरुष दुवैको हातेमालो अपरिहार्य छ ।
महिला पुरुष भनेर विभाजित रुपमा हेर्नु हुँदैन सबैले यसका विरुद्ध समान आवाज उठाएर न्यायिक समाजको पक्षमा जुट्नुपर्छ । साथसाथै सञ्चार जगत, अधिकारकर्मी, नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्छ । समाजमा घटने यस्ता अपराधले धेरै कुरालाई प्रभाव पार्छ ।
भिड भाड र शक्तिको आडमा मात्रै आवाज उठाउने नभई आवाज विहिन आवाजको पक्षमा पनि क्रियाशिल हुन जरुरी छ । विभिन्न दबाब र आवाजले योरुनाको घटनामा छानविन समिति बन्यो । तर, सरस्वती लिम्बुको घटना भने त्यत्तिकै हरायो । यस्ता घटनामा प्रहरी प्रशासनले विभेद गर्नु हुँदैन ।
शान्ति गुरुङ
प्रेस चौतारी नेपाल केन्द्रिय उपाध्यक्ष
यो भयभित अवस्था हो । समाज सभ्य भन्दा पनि असभ्य र विकृति उन्मुख भइरहेको छ । दुई दिनको अन्तरमा दुई महिलाको उही प्रकृतिको हत्याले महिलाको लागि समाज असुरक्षित हुँदै गएको आभाष भइरहेको छ ।
घटना एउटा परिवारलाई मात्रै परेको भनेर बुझ्ने संस्कारको अन्त्य गर्दै गम्भिर अपराधका घटनामा सम्पूर्ण जुट्नुपर्छ । दोषीलाई हदैसम्मको कारवाही नभएरसम्म यस्ता घटना निरन्तर भईरहन्छ ।
त्यसैले यस्ता अपराधलाई निरुत्साहित गर्न राज्यले छिटो भन्दा छिटो अपराधी पत्ता लगाएर कडा कारवाही गर्ने र प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको आभाष दिलाउन सक्नुपर्छ ।
प्रकाशित मिति २०७२ माघ २२ गते शुक्रवार
Comment Here!