भिमान खोलाको शिरबाट


प्रकाशित मिति :2016-02-06 00:20:12

खरानीको धुलो हातमा उठाएर एउटा कपडामा पोको पारेँ। अन्तिम बिदाइका लागि दाहिने हात उठाएर लालसलाम गरेँ त्यहाँ भएका सबैले त्यसै गरे । अनि हत्याको बदला लिने सङ्कल्प गर्दै हामी भिमान खोलाको शिरबाट  हिड्यौँ।

गोमा देवकोटा

12246783_1034678683239853_5571379625542895131_nमेरो जन्म ००८ सालमा भएको हो । बुबा जयबहादुर कार्की र आमा भक्तकुमारीकी जेठी सन्तान हुँ म । सिन्धुलीको बितिजोर हर्कपुरमा मेरो जन्म भएको हो । चार दाजुभाइ र तीन दिदीबहिनी छन् । घरबाट बाख्रा चराउन गएको बेला केटाहरू स्कुल गएको देखेर कान्छी फुपू तारादेवीसँग पढ्ने रहर पोखेपछि फुपूले नै गाउँको बेसी तिनमाने प्राविमा पढ्न पठाउनुभयो । त्यतिबेला म नौ वर्षकी थिएँ । स्कुलमा दुई सय विद्यार्थीमा हामी तीनजना मात्र केटी थियौँ ।

जेठी छोरीको घरायसी दायित्व पनि बढी हुने भएकाले गाईवस्तुलाई घाँस काटेर मात्र म स्कुल जान पाउँथेँ । स्कुलबाट फर्केपछि पनि आधा घन्टापरको कुवामा पानी लिन जानुपथ्र्यो । घरायसी काम गर्दै र पढ्दै म सात कक्षामा पुगेँ । त्यो ०२४ सालको कुरा थियो । एक दिन म घरमै भएको बेला एकजना युवक आउनुभयो । पछि थाहा भयो, उहाँ खुर्काेटका ऋषिराज देवकोटा हुनुहुँदोरहेछ । कान्छी फुपूले मसँग विवाह गर्न कुरा चलाएकाले उहाँ मलाई हेर्न आउनुभएको रहेछ । उहाँ जैशी बाहुन र म क्षेत्रीकी छोरी भए पनि पञ्चायती राजनीति गर्ने कान्छी फुपूले पढेलेखेको केटासँग विवाह गर्दा भदैनी सुखी होली भनेर विवाहको कुरा चलाउनुभएको रहेछ । मेरो उहाँसँग सामान्य हिसाबले विवाह भयो ।

खुर्काेटमा पहिलेदेखि नै कम्युनिस्ट राजनीतिको प्रभाव भएकाले हाम्रो अन्तरजातीय विवाहलाई कसैले नराम्रो मानेनन् । घरमा सासू, ससुरा हुनुहुन्थेन, बूढीसासू मात्र हुनुहुन्थ्यो । तर, दुःख गरेर भए पनि दुई छाक खान पुग्ने माइतीको तुलनामा घरको आर्थिक अवस्था निकै दयनीय थियो । गाउँको सबैभन्दा ठूलो घर भए पनि खेत थिएन, बारी मात्रै थियो । स्कुल पढाउने भए पनि आफ्नै पहलमा स्तरवृद्धि गरेर निम्नमाध्यमिक बनाएको विद्यालयबाट आजादले एक वर्ष तलब नै नलिएको र पछि पनि आधा मात्र तलब लिएकाले घरखर्च पु¥याउन धौधौ पथ्र्यो । आर्थिक समस्या केही समाधान होला भनेर मैले सानो किराना पसल राखेकी थिएँ । पर्याप्त र नियमित रूपमा सामान राख्न नसकेकाले त्यो चलेन ।

आजाद त्यसबेला स्कुल पढाउँदै राजनीतिक काम गर्नुहुन्थ्यो । मसँग विवाह भएको दुई महिनापछि उहाँलाई प्रहरीले पक्राउ गरी रामेछाप लगेको थियो । त्यसपछि पनि उहाँलाई कहिले रामेछाप त कहिले सिन्धुलीका प्रहरीले अनेक बहानामा पक्राउ गरिरहन्थे । उहाँले त्यहीबेलादेखि माक्र्स, लेनिन र चिनियाँ क्रान्तिकारी कथाका पुस्तकहरू पढ्न दिएर मलाई पनि राजनीतिप्रति जागरुक बनाउनुभएको थियो । हुन त माइतीमा ट्युसन पढाउन केही समय बसेका सिन्धुलीकै पहिलो कम्युनिस्ट वासुदेव श्रेष्ठबाट कम्युनिस्ट राजनीतिबारे मैले थोरै जानकारी पाइसकेकी थिएँ ।

राजनीतिप्रति चासो बढ्दै गएकोे बेला ०२५ सालमा म खुर्काेटको वडा नं. २ को अध्यक्षमा निर्विरोध चयन भएँ । म स्कुलमा पनि पढ्दै थिएँ । ०२६ सालमा छोरा जन्मियो । १० महिनाको उमेरमा उसलाई टाइफाइड भयो । मेरो आठ कक्षाको जाँच चलिरहेकाले पनि छोराको स्वास्थ्यमा ध्यान दिन पाइएन । रोग बढ्दै गएर बोल्नसमेत नसक्ने भएपछि उपचारका लागि सिन्धुली लाँदै गर्दा निगाले भन्ने ठाउँमा उसको मृत्यु भयो । पहिलो छोराको मृत्युले मलाई मात्र नभएर आजादलाई पनि ठूलो पीडा दियो । औषधोपचार गर्न सक्ने केही सुगम ठाउँमा बसोबास भएको भए छोरो जोगाउन सकिन्थ्यो भन्ने सोच्दा हामीलाई पीडा हुन्थ्यो ।

खेत नभएर खान–लाउन पनि समस्या नै थियो । हामीले खुर्काेट छाड्ने निधो ग-यौँ । ०२७ सालमा सिन्धुलीकै भिमानमा बसाइँ स-यौँ । चेतनाले मात्र जनपक्षीय राजनीति फैलिन्छ भन्ने विश्वासका कारण आजाद जहाँ गए पनि शिक्षा फैलाउन लागिहाल्नुहुन्थ्यो । त्यसैले, भिमानमा पनि बसाइँ सरेकै वर्ष उहाँको पहल र नेतृत्वमा जनजागृति माध्यमिक विद्यालय स्थापना भयो । जुन विद्यालय अहिले उच्च माध्यमिक विद्यालय तथा क्याम्पससमेत बनिसकेको छ ।

भिमान आएपछि आजाद राजनीतिमा अझ सक्रिय हुन थाल्नुभयो । दिउँसो स्कुल जानुहुन्थ्यो, बिहान–बेलुका नजिकका गाउँ र कहिलेकाहीँ टाढा पनि जानुहुन्थ्यो । हामीले मालमा दर्ता भएको थोरै जमिन किनेका थियौँ, जहाँ काठको सानो घर पनि बनाएका थियौँ । तर, त्यो पर्याप्त नभएकाले रूखहरू भएको सीमा जोडिएको सम्म जमिन बढाउन म रातभरि रूखहरू काट्थेँ । वन विभागका कर्मचारी र गाउँलेले थाहा पाउलान् भनेर बिहान नहुँदै ती रूखका काठ डढाइसक्थेँ ।

खुर्काेटमा आठ कक्षामा रोकिएको पढाइ केही महिना सिन्धुलीको कमला माध्यमिक विद्यालयमा नौ कक्षा पढेपछि थप अघि बढ्न सकेन । भिमानमा आएपछि पनि औपचारिक पढाइ अघि बढाउन मिलेन । घरको काम, खेती र खेती बढाउन रूख काट्ने कामले मेरो व्यस्तता निकै बढाएको थियो । ०२८ सालमा छोरा सुवास जन्मियो । यसबीचमा उहाँको राजनीतिक सक्रियता प्रशासनको कान र आँखामा पुगिसकेको थियो । निरङ्कुश पञ्चायती व्यवस्था रहेको त्यसबेला प्रशासनका लागि कम्युनिस्ट राजनीति सैह्य हुने कुरै थिएन । यस्तैमा ०२९ सालमा प्रहरीले उहाँलाई पक्राउ ग-यो र जलेश्वर जेल चलान ग-यो । १८ महिना जेल राख्यो । आजाद जेलमा हुँदा नजिकका गाउँका साथीहरूले रातारात गोरु ल्याएर खेती गरिदिन्थे । त्यसले सहयोग पुगे पनि प्रशासनसँग नजिक रहेकाहरूको नराम्रो दृष्टिकोण हुन्थ्यो ।

जेलबाट छुटेपछि आजादले केही हप्ता खुर्काेटमा पढाउनुभयो । शिक्षा कार्यालयले ‘रामेछापको ठोसेमा पढाउन जानू’ भने पनि उहाँ मान्नुभएन । पहिलेभन्दा राजनीतिप्रति उहाँको दृढता र सक्रियता बढेको थियो । भेट्न आउने नयाँ साथीहरू पनि थपिँदै थिए । पहिले जनकपुर अञ्चलस्तरीय कम्युनिस्ट पार्टीमा मात्र सक्रिय रहनुभएको उहाँ अब नेकपा (चौथो महाधिवेशन)मा सम्बद्ध हुनुभएको थियो ।

०३१ सालमा उहाँलाई प्रहरीले पक्राउ ग-यो । प्रहरीले सिन्धुली लाँदै गरेको बेला बाँझा डुमरियानजिकै साथीहरूले प्रहरीको नियन्त्रणबाट मुक्त बनाए । त्यतैबाट उहाँ घर नफर्की भूमिगत हुनुभयो । त्यसपछि प्रशासनले उहाँलाई कडा ढङ्गले खोजी गर्न थाल्यो । यहीबीचमा भिमानका रघुनाथ कोइरालाको हत्या भयो । त्यो घटनामा नेकपा (चौम) का कार्यकर्ताको संलग्नता भए पनि उहाँको संलग्नता थिएन । तर, त्यो घटनामा पनि उहाँ संलग्न भएको आरोप लगाइयो ।

०३३ सालमा प्रशासनले हात्ती लगाएर हाम्रो घर भत्कायो, खेतबारी पनि चराइदियो । हामीले पटकपटक घर बनाएर तथा खेती लगाएर बस्ने प्रयत्न ग-यौँ । तर प्रशासनले हाम्रो सर्वश्वहरण गरेर त्यहाँ बस्न र खेती गर्न नपाउने सूचना जारी गरेपछि १७ वर्षसम्म त्यहाँ बस्न सकिने स्थिति रहेन ।

त्यसबेला नेकपा (चौम)को केन्द्रीय कार्यालय र अरू महत्वपूर्ण कार्यालय भारतमै थिए । मोहनविक्रम सिंह, निर्मल लामा, जयगोविन्द शाह, भक्तबहादुर श्रेष्ठ पनि भारतमै बस्थे । त्यसो हुँदा केन्द्रीय समितिको बैठक पनि भारतमै हुन्थ्यो । तर, आजाद भारतमा पार्टीको केन्द्रीय कार्यालय राख्ने र भारतमा नेताहरू बस्ने प्रवृत्तिको विरोधी हुनुहुन्थ्यो । त्यसैले, प्रशासनको कडा वारेन्ट भए पनि उहाँ बैठकबाहेकको समयमा नेपालमै बस्नुहुन्थ्यो ।

यसैबीच, भारतको अयोध्यामा भएको अखिल नेपाल महिला सङ्घको सम्मेलनबाट म उपाध्यक्ष बनेँ, प्रसिद्ध साहित्यकार पारिजात त्यही सम्मेलनबाट अध्यक्ष बन्नुभएको थियो । उहाँसँग भारतमा कैयौँ कार्यक्रम तथा नेपालमा पनि सँगै हिँड्ने मौका मिल्यो । शारीरिक रूपमा अशक्त भए पनि उहाँको जाँगर र बौद्धिकताले मलाई निकै प्रभावित बनाएको थियो ।
नेपालमा विद्यार्थी आन्दोलन चर्कंदै गएपछि गाउँगाउँसम्म त्यसकोे लहर पुग्न थाल्यो । आन्दोलनका कारण प्रशासनको पकड पनि केही कमजोर बन्दै गयो । त्यहीकारण म जेठो छोरा सुवास, छोरी कल्पना र कान्छो छोरा सरोजलाई लिएर नेपाल फर्किएँ । पहिले बसेकै गाउँ काउछेमा मोहन घिमिरेकै घरमा बस्न थाल्यौँ ।

राजाले जनमतसङ्ग्रहको घोषणा गरिसकेका थिए । कम्युनिस्टहरू निसर्त जनमतसङ्ग्रहको पक्षमा थिएनन्, उनीहरूले जनमतसङ्ग्रहमा भाग लिन पाँच पूर्वसर्त राखेका थिए । त्यसका लागि जनकपुरमा ०३६ जेठ २४ गते सभा आयोजना गरिएको थियो । जनकपुर क्षेत्रमा नेकपा (चौम)को बढी प्रभाव रहेको तथा त्यसको जनकपुुर क्षेत्रको प्रमुख नेता भएकाले उक्त कार्यक्रमको प्रमुख आयोजक पनि आजाद नै हुनुहुन्थ्यो ।

प्रशासनले अनेकौँ अवरोध गर्दागर्दै त्यो दिन जनकपुरको बाह्रबिघामा निकै ठूलो सभा भयो । हामी सिन्धुलीबाट खाजा, चामल बोकेर हिँड्दै हजारौँको सङ्ख्यामा सभामा पुगेका थियौँ । उदयपुर, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीबाट हजारौँ सहभागी भएका थिए । सभाका प्रमुख वक्ता मनमोहन अधिकारी हुनुहुन्थ्यो । अरू सबै वक्ता चिनेकै भए पनि सर्लाहीका अच्युतम काफ्लेलाई कमैले चिनेका थिए, उहाँको भाषण निकै प्रभावशाली रह्यो । त्यहीकारण त्यो बोल्ने आजाद नै हो भन्ने पनि धेरै थिए । तर, उहाँ सभामै उपस्थित हुनुहुन्थेन ।

नेकपा (चौम)को नेतृत्वसँग आजादको विवाद बढ्दै थियो । उहाँ नेताहरूको भारतमा बस्ने र विलासी कार्यशैलीसँग सन्तुष्ट हुनुहुन्थेन । छिटै क्रान्ति सुरु गरिहाल्ने पक्षमा हुनुहुन्थ्यो । नेतृत्वको असहमतिमै उहाँले सिन्धुली, रामेछाप, महोत्तरी, धनुषा, सर्लाही जिल्लाहरूमा लडाकु सङ्गठन पनि निर्माण गर्नुभएको थियो । जसलाई घरायसी तथा बन्दुक चलाउने तालिम पनि दिइएको थियो । यो खबर थाहा पाएर प्रशासनले तीव्र दमन सुरु ग-यो । महोत्तरीको हात्तीलेठमा दमन गर्न पुगेको प्रहरीसँगको भिडन्तमा कृष्णबहादुर राना मारिए, सयौँ कार्यकर्तालाई वारेन्ट गरियो । ती कार्यकर्ताको संरक्षण गर्नुपर्ने तथा कार्यकर्ता र जनतासँगै नेतृत्व रहनुपर्नेमा नेकपा चौमको नेतृत्व उदासीन रह्यो । यसले आजादलाई नेतृत्वप्रति थप असन्तुष्ट बनायो ।

नेतृत्वले उहाँको असन्तुष्टिलाई साम्य बनाउन पहल गर्नुको साटो कार्यकर्ताबीच ‘आजाद उग्र र अराजक’ बन्दै गएको भनेर बद्नाम गर्न थाल्यो । यसले उहाँ र नेतृत्वबीच झन् विवाद बढ्यो र अन्तमा ०३७ जेठ १४ गते पार्टीको केन्द्रीय समिति र पोलिटब्युरोको वैकल्पिक सदस्यबाट १० बुँदे भिन्न मत राख्दै राजीनामा दिनुभयो । उहाँले राजीनामा दिएको केही दिनमै मोहन घिमिरेलगायत नेकपा (चौम)का भूमिगत कार्यकर्ताहरू काउछेमा एक रात आइपुगे ।

उनीहरूले गाउँका समर्थकहरूलाई भेला गर्दै ‘आजादले राजीनामा दिएकाले बस्न र खान नदिनू’ भने । त्यसको केही दिनपछि उहाँ पनि त्यहाँ एक रात आइपुग्नुभयो । पार्टीसँग समाधान हुनै नसक्ने गरी मतभेद बढेकाले राजीनामा दिएको बताउँदै उहाँले केही समयका लागि माइत बितिजोर हर्कपुरमा जान भन्नुभयो । उहाँले तत्कालीन नेकपा मालेसँग एकता हुने सम्भावना रहेकाले उसको महिला सङ्घसँग नजिक रहेर काम गर्न पनि मलाई भन्नुभयो । त्यसपछि उहाँ राति नै त्यहाँबाट हिँड्नुभयो ।

काउछेमा हामी बसेको मोहन घिमिरेको घरमा हामीप्रति पहिलेभन्दा व्यवहार फरक भइसकेको थियो । त्यसमाथि आजादले पनि त्यो ठाउँ छाड्नु भन्नुभएकाले म तीनजना छोराछोरीलाई लिएर माइत हर्कपुर लागेँ ।

माइत पुगेको केहीपछि नै कान्छी छोरी जोसिलाको जन्म भयो । त्यसको केही दिनमा आजाद पनि त्यहाँ आइपुग्नुभयो । उहाँ त्यहाँ दुई दिन बसेपछि धेरै दिन बस्दा असुरक्षित हुने कारण रामेछापतिर जानु छ भनेर हिँड्नुभयो । उहाँले सुरक्षाका लागि बोक्ने गर्नुभएको तीन गोली लाग्ने कटुवा पेस्तोल पनि गोली सकिएको भनेर त्यहीँ छोड्नुभएको थियो । त्यसको केही समयपछि जेठो छोरा सुवास पढ्न भिमान गयो, हामी त्यहीँ बस्यौँ ।

यसैबीच फागुनमा आजाद भिमानमा पक्राउ पर्नुभएको खबर पाएँ । यो खबरले मलाई आफूमाथिको आकाश र टेकिरहेको जमिन दुवै खसेको महसुस भयो । भिमान पुग्न पैदल एक दिन लाग्थ्यो, फोेन सुविधा थिएन, भिमान जानुभन्दा बुझ्ने अर्काे कुनै उपाय थिएन । तर, काखकी जोसिलासहित अरू साना दुई छोराछोरी थिए । साथी खोजेर भोलिपल्ट बिहानै तीनजना छोराछोरी लिएर भिमान हिँडेँ ।

बेलुका बहिनीको घर भिमान बथानचौडी पुगेँ, बहिनी सीताकोे अनुहार अँध्यारो थियो । जसले नराम्रो घटना भएको जनाउ दिन्थ्यो । बहिनीको आँखा रसाएकाले नराम्रो घटना भइसकेको थप पुष्टि गर्दथ्यो । केहीबेरमै अघिल्लो दिन आजादको हत्या भएको थाहा भयो । घरजग्गा सरकारले कब्जा जमाएको, चारजना लालाबाला काखमा रहेको बेला श्रीमानको पनि हत्या भएको खबरले एउटी महिलाको मन कस्तो भयो होला ? मन पूरै भाउन्न भएर आँसु आँखाबाट झर्न सकेको थिएन । तर, त्यहाँ डाको छोडेर रुनुको अर्थ शत्रु हँसाउनु हुने हुँदा पनि मैले रुनु हुँदैनथ्यो ।

भोलिपल्ट बिहान तीन छोराछोरीलाई बहिनीको घरमा छाडेर माहिलीआमा (माइली सासू)को घरमा गएर जेठो छोरा सुवासलाई भेटेँ । उसलाई पनि बुबाको हत्या भएको थाहा भइसकेको रहेछ । बजार र गाउँका सामान्य मानिस बाटोमा सहानुभूतिपूर्ण आँखाले मलाई हेरिरहेका थिए भने जालीफटाहाहरू खुच्चिङ देखाउन हाँस्दै थिए । त्यसपछि दिउँसो देवर रमेश देवकोटा र श्याम विष्टले म र सुवासलाई भिमान खोलाको शिरतर्फ लगे । बाँसखोलाको दोभानमा पुगेपछि आगो बालेर खरानी पारेको देखियो । नजिकै एउटा खाल्टो भेटियो, जहाँ रगतका फाल्साहरू थिए । ती सबै सङ्केतहरूले स्पष्ट पार्थे– आजादको त्यहीँ हत्या भएको थियो । शरीर जलाएर पूरै खरानी बनाइएको थियो ।

मैले खरानीको धुलो हातमा उठाएर एउटा कपडामा पोको पारेँ । त्यसपछि दाहिने हात उठाएर लालसलाम गरेँ, अन्तिम बिदाइका रूपमा । मसँग छोरा र त्यहाँ भएका सबैले त्यही गरे । त्यसपछि हत्याको बदला लिने सङ्कल्प गर्दै हामी त्यहाँबाट हिँड्यौँ ।

आजादको हत्याले व्यक्त गर्न नसकिने क्षति र पीडा पु¥याएको भए पनि जीवन अघि बढाउनैपर्ने थियो । चार छोराछोरीलाई सुरक्षित राख्ने, पाल्ने र पढाउने जिम्मेवारी मेरो एक्लो काँधमा थियो । दिमागलाई जोड दिएर सोच्दा पनि सहयोग र साथ दिने कतै देखिँदैनथे । आजादले नेकपा (चौम) छाडिसक्नुभएकाले त्यो पार्टीबाट साथ–सहयोग पाउने सम्भावना थिएन । नेकपा (माले)मा पनि उहाँ गइनसक्नुभएकाले मालेबाट कस्तो व्यवहार हुन्छ भन्ने हेर्न बाँकी नै थियो । भिमानमा दिगोसँग बस्ने ठाउँ कतै थिएन । माइतमा पनि चारजना छोराछोरी पढाउने अवस्था थिएन ।

अन्योलपूर्ण केही दिनपछि एक दिन उद्धव दाहालले नेकपा मालेको सन्देश ल्याउनुभयो र भोलि दिउँसो भिमानबाट बाहिर जानुपर्ने बताउनुभयो । उहाँले भनेअनुसार नै हामी त्यहाँ कसैलाई केही नबताई ट्रकमा चढ्यौँ र उद्धव दाहालसँगै उहाँको नयाँ घर चन्द्रनिगाहपुर गयौँ । त्यहाँ केही दिन बसेपछि उहाँले नै हामीलाई हेटौँडामा बद्री खतिवडाको घरमा पु¥याउनुभयो । जहाँ मालेका नेताहरू मुकुन्द न्यौपाने र वीरबहादुर लामासँग भेट भयो । बद्री खतिवडा त्यसबेला थुनामा हुनुहुन्थ्यो भने विरोध सायद काठमाडौंमा । त्यहाँ केही दिन बसेपछि सुवासलाई चितवन लगियो भने हामी काठमाडौंतिर लाग्यौँ ।

यसरी, हाम्रो जिन्दगी नयाँ दिशामा मोडियो । त्यसपछि अनेकौँ अप्ठ्यारो सहँदै भए पनि नेकपा मालेले ०४७ को राजनीतिक परिवर्तनपछि भिमानमा हाम्रो स्थायी बसोबास नहुँदासम्म चारैजना छोराछोरी पढायो । म आफ्नो क्षमताअनुसार आजादले देखेको सपना पूरा गर्न मालेको राजनीतिक काममा भूमिगत रूपमा निरन्तर सक्रिय रहेँ । हुन त अहिले पनि गरिब र पिछडिएकाहरूले आफ्नो देश भन्न सक्ने नेपाल बनाउने आजादको सपना पूरा भएको छैन । तर, त्यसका लागि आफूले जान्दो र सक्दो गरिरहनुपर्छ भन्ने मेरो दृढता अलिकति पनि घटेको छैन । आजादको सपना पूरा गर्ने मेरो प्रयास जारी छ । अहिले पाएको अखिल नेपाल महिला सङ्घको अध्यक्षको जिम्मेवारीले आजादको सपना पूरा गराउन मलाई थप हौसला मिलेको छ ।

(देवकोटा एमालेसम्बद्ध अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष हुन् ।) 

प्रकाशित मिति २०७२ माघ २३ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: