वैदेशिक रोजगारीमा अधिकांश दलित, पछाडी पारिएको समुदाय, गरिबी, अशिक्षित र बेरोजगार महिला छन् । चेतनाको कमि र शिक्षा अभावकै कारण अवैधबाटो विदेसिनेहरु हिंसाको मुखमा परिरहेका छन् ।
पर्वत पोर्तेल
धन कमाउने अनि मिठो खाने, राम्रो लगाउने समग्रमा सुखी जीवन विताउने सपना थियो दक्षिण झापाको कोहवरा ४ की डम्मरकुमारी विश्वकर्माको । धन कमाउन वैदेशिक रोजगारीमा जाने योजना बनाएकी डम्मरकुमारी दलालको फेला परिन । अवैध बाटो हुँदै कुवेत पुगेपछि दलालले नेपालमा भने जस्तो काम पाईनन् । कमाएर फर्किने सपनाका साथ विदेशीएकी उनले गत वर्ष आत्महत्या गरिन् ।
६ वर्ष अघि झापाकै भित्री नाकावाट दलालको प्रलोभनमा परी साउदी पुर्याइएकी झापा धाइजनकी कुमारी दाहाल चरम मानसिक एवम शारीरिक यातना पाएर फर्किएकी थिइन् । यसरी दलालको फन्दामा अवैध नाकाबाट वैदेशिक रोजगारीमा जाने महिलाहरु हिंसाको शिकार भएका घटना झापामा बढिरहेका छन् । वैदेशिक रोजगारका लागि नबुझि गलत बाटो बाट जाँदा हिंसाको मुखमा पुगिरहेका छन् । माईति नेपालको तथ्याङक अनुसार तीन वर्षमा झापाको काँकडभिट्टा नाकाबाट करिव ७ सय भन्दा वढी महिलालाई फर्काएर अभिभावकको जिम्मा लगाइएको छ । तर, अर्को भित्री नाकाबाट भारत छिर्ने क्रम रोक्न सकिएको छैन ।
सरकारले अवैध वाटोबाट वैदेशिक रोजगारीमा जान महिलालाई रोक लगाएको धेरै वर्ष वितिसक्यो । तर, महिलाको त्यतातिर जाने क्रम चाहीं रोकिन सकेको छैन । दलालहरुले झापाकै नकलवन्दा, बाहुनडाँगी, सतिघट्टा, भद्रपुरलगायतका नाका प्रयोग गरेर जसरी भएपनि गएरै छाड्ने गरेको पाइएको छ । यी नाकाबाट महिलाहरु कुवेत, इजरायल, कतार, साउदीलगायतका खाडी मुलुक जाने गरेका छन् । यस्ता नाकाबाट जाने धेरै महिलाहरु विदेशमा चरमयातना सहेर फर्किने गरेका छन् भने कति उतै हिंसा सहेर बस्न बाध्यछन् ।
दलालले अधिकांशलाई ‘हाउसमेड’ अर्थात घरेलु कामदार भनेर पठाउँछन । तर काम भने अर्कै गर्नु पर्ने बाध्यता छ । साउदीमा वसेर हालै फर्किएकी वुधवारेकी एक महिलाले अनुभव सुनाइन्‘घरमा काम गर्न भनेर लगियो तर, घरभित्रै अर्को काममा संलग्न गराइयो ।’ खाडी मुलुकमा प्राय नेपाली महिला यौनजन्य हिंसाको शिकार हुने गरेका छन् । ‘यसरी जाने अधिकांश महिलालाई सस्तो श्रम गर्न वाध्य पारिने गरिन्छ’, माइती नेपालले गरेको एक अध्ययनले देखाएको छ,‘मालिकवाट तलव नपाउनुका साथै शारीरिक र यौनजन्य हिंसाको शिकार हुने गरेका छन् ।’
हिंसा सहन गर्न नसक्दा कतिपय महिलाले आत्महत्या गर्ने गरेका छन् । वैदेशिक रोजगारीका लागि भनेर गएका महिलाहरु दलालको फन्दामा परेर मुम्वईका कोठीहरुमा वेचिएका उदाहरण पनि प्रशस्त छन् । ‘अवैध वाटो भएर विदेशिने क्रम रोकिनु साटो वरु वढेर गएको देखिन्छ’, चेलिवेटी वेचविखनविरुद्ध कार्यरत गैरसरकारी संस्था माइती नेपालको पूर्वाञ्चल कार्यालयका प्रमुख गोविन्द घिमिरे भन्छन्,‘दैनिक दर्जनौ नेपाली महिला का“कडभिट्टा नाका हुदै भारत प्रवेश गरेर खाडी मुलुक छिर्ने गरेका छन् ।’
माइती नेपाललगायतका संस्था र प्रहरीको पहलमा त्यसरी अवैध वाटो भएर जाने महिलाहरुलाई नाकावाट फर्काइए पनि उनीहरु पुनः अर्को नाकावाट भारत छिर्ने गरेका पाइएको छ । ‘नजानु भनेर फर्काउछौ तर कसैले टेर्दैनन’, घिमिरे भन्छन्,‘राम राम भन्छौ काध हाल्न सक्दैनौ ।’
चेलिवेटी वेचविखनमा कार्यरत अर्को संस्था ‘टाइनी हेण्डस्’का कर्मचारी उमेश लामा नाकामा वसेर महिलाहरुलाई सम्झाउँदा वाक्कदिक्क भएका रहेछन् । नबुझेर गएका होलान भनेर सम्झाउन खोज्दापनि उनिहरुको चेत नखुलेको बताउँदै लामा भन्छन्, ‘एकातिर रोक्यो अर्कोतिरबाट पसिहाल्छन, महिलाहरुलाई छेकेरै नसकिने रहेछ ।’
घरेलु कामदारका रुपमा रोजगारी र राम्रो कमाई हुने ठाउँमा पुर्याईदिने भन्दै बिभिन्न प्रलोभनमा पारी दलालहरुले महिलाहरुलाई भारतको बाटो हुदै लिएर जाने गरेका छन् । यस्तो काममा महिलाहरुकै संलग्नता बढी पाइएको छ । विदेश बसेर फर्किएका अधिकांश महिलाहरु यस्तो गतिविधिमा संलग्न रहेको प्रहरीको भनाई छ । प्रहरीले महिलालाई सीमाबाट फर्काएपनि उनीहरुलाई पठाउने दलाललाई भने पक्राउ गरेर कारबाही गर्न कठीनाई हुने गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका निरीक्षक रमेश वस्नेत भन्छन्, ‘पीडितले उजुरी नै दिन मान्दैनन्, त्यसैले पक्राउ परेपनि कारबाही गर्न चाही नसकिने अवस्था हुन्छ ।’
खाडी मुलुक महिलाका लागि ‘नर्क’ सावित हुने गरेका घटनाहरु दिनहुँजसो सार्वजनिक हुने गरेपनि त्यसप्रतिको महिला आकर्षण झन् बढ्दो पाइएको माइती नेपालको एक अध्ययनले देखाएको छ । ‘त्यहाँ पाइने दुःखका बारेमा प्रायः महिला जानकारै देखिन्छन्’ घिमिरेले भने,‘तर पनि अझै उनीहरुमा चेत आउन सकेको छैन ।’
वैदेशिक रोजगारीमा अधिकांश दलित, पछाडी पारिएको समुदाय, गरिबी, अशिक्षित र बेरोजगार महिला छन् । चेतनाको कमि र शिक्षा अभावकै कारण बिदेशिने क्रम वढेको अध्यययनले देखाएको छ ।
संचारिका फिचर सेवा/पूर्वाञ्चल
(पोर्तेल, कान्तिपुर दैनिका झापा स्थित संवाददाता हुन् ।)
प्रकाशित मिति २०७२ माघ२४ गते अाईतवार
Comment Here!