प्रसूति विभागमा बसेको एक महिना भयो । तर उनलाई लिन र हेर्न अहिलेसम्म कोही आफन्त आएका छैनन् । प्रतिष्ठानकै चिकित्सक, नर्सहरूले उनलाई खाना र लगाउने लुगाको बन्दोबस्त आफ्नो पकेट खर्चबाट गरिदिएका छन् ।
रमला सिंगक
सुनसरी । लगातार पिसाब चुहिने समस्या भएपछि घर छाडेर ओढारमा बस्दै आएकी जाजरकोट लहै ३ लवेसा बस्ने ३८ वर्षीय कालिका खड्काले नयाँ जीवन पाएकी छिन् । पिसाब चुहिने रोग फिस्टुलाबाट पीडित उनीलाई उनकै गाउँ नजिकैको ओढारबाट गत पुस १३ गते उद्धार गरिएको हो । उनलाई उद्धार गरी उपचारका गर्न विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याईएको छ ।
हाल प्रतिष्ठानकै स्त्री तथा प्रसूति विभागको फिस्टुला कक्षको वेड नम्बर २९ मा बसिरहेकी कालिका खड्का पिसाब चुहिने समस्याका कारण पाचँ वर्षसम्म जाजरकोटकै चमेरे ओढारमा एक्लै बसेकी थिइन । ओढारमा बस्दा दिनभर दाउरा खोज्थिन् र नजिकैको होटलमा पु¥याए वापत खाना खान पाउँथिन् । मानिसहरू उनीसंग बोल्न समेत हिचकिचाउने गर्दथेँ । पिसाब फेरेको थाहा नपाउने, मुतुव भनेर उनलाई सवैले घृणा र तिरस्कार गर्थे तर, फिस्टुलाको कारण पिसाब बग्ने गरेको उनलाई थाहा थिएन ।
उनलाई जाजरकोटकै अन्जना शाह रावलले धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसूति विभागका चिकित्सक डा .मोहन चन्द रेग्मीसंग कुरा गरेर गत पुस २० गते फिस्टुलाको निशुल्क शल्यक्रिया गरिदिने भएपछि उद्धार गरी धरान ल्याइएको थियो ।
खड्काले भनिन्, ‘मुनमा विरह लाग्या छ । अर्काको ठाउँमा बस्न मुन छैन । मुलाई लिन माण्ठा पठाई दिनु । या बसेर क्यार्ने ?’
उनका अनुसार पहिलो श्रीमानबाट बच्चा नभएपछि छोडपत्र गरिन् । दोश्रो विवाह गरिन् । पहिलो बच्चा जन्मेको एक दिनमा म¥यो । दोश्रो बच्चा गर्भमा मरेकाले जाजरकोटकै स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीले हात हालेर निकालेका थिए । हात हालेर बच्चा तान्दा पिसाब थैली फाटेर उनलाई फिस्टुला भएको डाक्टर बताउँछन् ।
दोश्रो विवाह गरेपछि गर्भमै मरेको बच्चा निकाल्दा भएको फिस्टुलाकै कारण उनलाई दोश्रो श्रीमानले रात दिन कुटपिट गरेकाले श्रीमानसंग बस्न छाडेर ओडारमा पुगेको उनले सुनाईन । उनले भनिन् ‘पानी चुहिन थालेपछि श्रीमानले मुलाई चुरीफुरी गर्नै नसक्ने गरी लौराले धेरै कुटेपछि मुइले छाड्या हो ।’ कालिकाका दुई दाजु जाजरकोटमा छन् । प्रसूति विभागमा बसेको एक महिना भयो । तर उनलाई लिन र हेर्न अहिलेसम्म कोही आफन्त आएका छैनन् । प्रतिष्ठानकै चिकित्सक, नर्सहरूले उनलाई खाने र लगाउने लुगा आफ्नो पकेट खर्च जुटाइ दिएका छन् ।
डा रेग्मीले भने, ‘फिस्टुलाको कारण ओढारमा बस्न बाध्य भएकी महिलाको उपचार हुँदैछ । उनको शल्यक्रिया गरेर फिस्टुला टालिएको छ । पिसाब नली सांघुरो भएकाले लगाइएको पाइप केही दिनपछि निकालिदिन्छौं ।’ कालिकालाई त्यतिकै घर पठाउनु भन्दा महिलाको सरोकार राख्ने संघ संस्था मार्फत् केही व्यवाहारिक शीप र तालिम उपलव्ध गराएर पठाउने योजना रहेको डाक्टरको भनाइ छ ।
उनका अनुसार विश्वमा हरेक वर्ष ५० हजारदेखि १ लाख महिलामा फिस्टुला भइरहेको छ । उनले भने, ‘विश्वमा कालिका जस्ता पीडित महिलाको संख्या २० लाख रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।’ उनका अनुसार नेपालमा वार्षिक रुपमा पाँचसय देखि एकहजार जना महिलालाई फिस्टुला हुने गरेको तर, सय जनाले मात्र उपचार पाउने गरेको डाक्टर रेग्मीको भनाइ छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत पाँच वर्षदेखि निशुल्क उपचार गर्दै आएका रेग्मीले भने गत पाँच वर्ष देखि हालसम्म करिव ४ सय जना महिलाको उपचार भैसकेको छ । उनले भने, ‘जाजरकोटकी कालिकाले त उपचार पाइन् तर, नेपालमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिस्टुलाको निशूल्क उपचार हुन्छ भन्ने थाहा नपाएका पीडित गाउँमा मात्र होइन, शहरमा पनि कैयौं छन् । यसर्थ राज्यले यसबारे ठोस नीति बनाउन जरुरी छ ।’
प्रकाशित मिति २०७२ माघ २४ आइतवार
Comment Here!