महिला खबर
म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा क्याम्पस र उच्च मावि खुलेपछि छोरी बुहारीलाई उच्च शिक्षा हासिल गर्न सहज भएको छ ।
घरायसी, पारिवारिक र आर्थिक कारणले सहर बजारका क्याम्पस तथा उच्च माविमा पुगेर शिक्षा हासिल गर्न नसक्ने अवस्थामा रहेका छोरी बुहारी तथा विपन्नका लागि राहत मिलेको हो । घरको काम गरेर गाउँमै अध्ययन गर्ने अवसर पाएपछि महिलाको उच्च शिक्षामा पहुँच बढेको छ ।
म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका उच्च मावि तथा क्याम्पसहरुमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी छ । गाउँका क्याम्पस र उच्च मावि बरदानसावित भएको बाबियाचौरमा रहेको मङ्गला शिक्षा क्याम्पसमा अध्ययनरत कुशुम पाण्डेले बताउनुभयो ।
अझै पनि छोरी बुहारीलाई घर छाडेर सहरमा गई पढ्ने वातावरण नहुँदा गाउँ मै खुलेका क्याम्पस र उच्च माविले उनीहरूलाई पढ्न सजिलो भएको पाण्डेको भनाइ छ ।
शिक्षा सङ्कायको अङ्ग्रेजी, गणित र नेपाली विषयका अध्यापन हुने उक्त क्याम्पसका ५१ विद्यार्थीमध्ये ४० जना छात्रा रहेका छन् ।
यसैगरी सोही स्थानमा रहेको मङ्गला उच्च मावि तहको कक्षा ११ का ६८ विद्यार्थीमध्ये ३५ जना छात्रा र कक्षा १२ का ४८ मध्ये ३५ जना छात्रा रहेका प्राचार्य गमबहादुर खत्रीले जानकारी दिनुभयो ।
यसैगरी उत्तरी म्याग्दीको घारमा रहेको मुक्तिमार्ग शिक्षा क्याम्पसको पहिलो वर्षमा यस वर्ष भर्ना भएका ११ विद्यार्थीमध्ये तीनजना मात्रै छात्र छन् । समाजमा अझै पनि छोरी बुहारीलाई घरदेखि टाढा गएर पढ्ने वातावरण नभएका बेला गाउँको क्याम्पसले उनीहरूलाई राहत प्रदान गरेको क्याम्पस प्रमुख ठगराज बरुवालले बताउनुभयो ।
गाउँमै उच्च मावि र क्याम्पस भएपछि शिक्षा, व्यवस्थापन र मानविकीलगायतका विषयको अध्ययनका लागि घर छाडेर सहरी क्षेत्रमा पढ्न जानुपर्ने अवस्थाबाट धेरैले मुक्ति पाएका छन् । विशेष गरेर सहरी क्षेत्रमा गएर कोठा भाडामा लिई पढ्न नसक्ने दलित र विपन्न समुदायका विद्यार्थीलाई राहत मिलेको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा दुई र ग्रामीण क्षेत्रमा दुईवटा क्याम्पस छन् । यसैगरी जिल्लाभर १९ वटा उच्च मावि सञ्चालनमा रहेका छन् । सबै क्याम्पस र उच्च माविमा छात्राको सङ्ख्या बढी छ ।
प्रकाशित मितिः २०७२ माघ २६ गते मङ्गलवार
Comment Here!