निर्मला भट्ट
काठमाडौं । नेपाली कांग्रेसका महिला नेताहरूले सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोईराला समावेशीताको मुद्दामा संवेदनशिल भएको बताएका छन् । कांग्रेस नेता पुष्पा भुसालले महिला खवर डट कमसँग कुराकानी गर्दै भन्नुभयो ‘ सभापति कोईराला महिलाको योगदान र क्षमताको आधारमा पार्टी र राजनीतिमा बढी भन्दा बढी सहभागिता गराईनु पर्छ भन्ने चिन्तन बोकेको नेता हुनुहुन्थ्यो ।’ उहाँको अचानक भएको निधनले जिम्मेवार अभिभावक गुमाएको अनुभूति भएको भुषालले बताउनुभयो ।
आफ्नो जिवनमा थुप्रै उतार चढाबबाट गुज्रँदा पनि हिम्मत नहारेको व्यक्तित्व भएकाले उहाँको जिवनीबाट चुनाव हारेपनि हिम्मत हार्नुहुँदैन भन्ने प्रेरणा पाएको भुषाल बताउनुहुन्छ । ‘कांग्रेसको विधानमा १७ प्रतिशत महिला सहभागिताको कुरा उल्लेख भएपनि १२ औँ महाधिवेशनमा कोटा भन्दा बढी १९ प्रतिशत महिलालाई सहभागि गराउनुभयो ।’ उहाँले भन्नुभयो ‘यसबाट पनि उहाँ महिलालाई अवसर दिनुपर्छ भन्ने कुरामा कति सकारात्मक हुनुहुन्थ्यो भन्ने कुराको पुष्टी गर्दछ ।’
कोइराला महिलालाई केन्द्रीय समितिमा मनोनित गरेर मात्र होइन, खुलाबाट समेत बढी महिला सहभागी गराउनुपर्छ भन्ने मान्यता राख्ने नेता भएको भुषालले बताउनुभयो । समावेशीताको मुद्दामा सकारात्मक कोइराला सधैँ महिलालाई अगाडि बढ्न प्रेरित गर्नुहुन्थ्यो । नेपालको नयाँ संविधान अनुसार कांग्रेसको विधानलाई संसोधन गरी पार्टी विधानमै ३३ प्रतिशत महिला सहभागिता उल्लेख गर्ने कुराको लागि पनि उहाँ सकारात्मक रहेको भुषालको भनाइ छ । यसैगरी महिला संघका अध्यक्ष डिला संग्रौला समावेशीताको विषयमा कोईराला सधैँ संवेदनशील भएर काम गर्ने र निर्णय गर्ने नेताको रुपमा सम्झनुहुन्छ ।
महिला संघले विधान शंसोधनका लागि पनि उहाँलाई भेट्दा सकारात्मक प्रतिक्रिया दिएको संग्रौलाले बताउनुभयो । पुरानो इतिहास हेर्ने हो भने पनि प्रजातन्त्र र लोकतन्त्रको सिद्धान्तमा टेकेर महिलालाई अधिकार दिनुपर्छ भन्ने कुरामा उहाँले सधैँ जोड दिने गरेको संग्रौलाले बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायले पञ्चायतकालदेखि नै महिला समावेशीताको मुद्दा उठाउने र त्यसलाई कार्यन्वयन गर्नका लागि उहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री भएको बेला समेत महिलाका विषयमा संविधानसभाका सदस्यहरूले उठाएका विभिन्न विषयलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिवद्धता जानाएको कुरा आफ्नो मनसपटलमा ताजै भएको सुनाउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिमा समेत कोटा बाहेक बढी महिला मनोनित गरिनुलाई उहाँ व्यवहारमा पनि महिला समावेशीताका विषयमा सकारात्मक हुनुहुन्थ्यो भन्ने कुरा पुष्टी गर्ने उहाँको भनाइ छ । महिला भएकै कारणले विभेद गरिनु हुँदैन भन्ने कुरामा उहाँ सधैँ अगाडि आएर बोल्ने गर्नु हुन्थ्यो । २०३९ सालदेखि नै स्वर्गीय कोईरालासँग परिचय भएको बताउँदै डिनाले भन्नुभयो ‘विद्यार्थी राजनीति देखि नै आफू र पार्टीमा अन्य महिलालाई अगाडि ल्याउनका लागि सधैँ प्रोत्साहन गर्नु हुन्थ्यो।
प्रकाशित मिति २०७२ माघ २६ गते मंगलवार
Comment Here!