महिला खबर
कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको स्वास्थ्य चौकीले कुपोषित बालबालिकालाई ‘पेस्टिनट’ नामक औषधियुक्त खाना उपलब्ध गराउन थालेपछि कुपोषित हुने बालबालिकाको घट्दै गएको स्वास्थ्य चौकीले जनाएकाे छ।
गतवर्ष स्वास्थ्य चौकीमा कुपोषणको समस्या भएका ३९ बालबालिकाको उपचार गरिएकोमा यस वर्षको हालसम्म १० जना बालबालिकामा कुपोषणको समस्या देखा परेको स्वास्थ्य चौकीका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो ।
गतवर्ष उपचारका लागि पुगेका बालबालिकाको औषधियुक्त खानाको प्रयोगले कुपोषणको समस्या हटेर सबै बालबालिका स्वस्थ भएकाे प्रमुख भट्टले बताउनुभयाे ।
छ महिनादेखि दुई वर्षसम्मका बालबालिकाको पाखुराको नाप लिएर कुपोषित भए नभएको पत्ता लगाइ औषधियुक्त खाना उपलब्ध गराउने व्यवस्था स्वास्थ्य चौकीले गर्दै आएको छ। गर्भावस्थामा आमालाई पौष्टिकयुक्त खानाको कमी, जन्मेपछि बालबालिकालाई प्रशस्त स्तनपान नगराउनु जस्ता कारणले बालबालिकामा कुपोषण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
गर्भवती आमाको शरीरलाई आवश्यक सन्तुलित आहार लामो समयसम्म उपलब्ध नहुँदा बालबालिका ख्याउटे, पुडके र विकृत रूपमा जन्मने गरेको स्वास्थ्यकर्मीले बताए।
युएनडिपीले सङ्कलन गरेको विवरण अनुसार नेपालमा ४८ प्रतिशत बालबालिका कुपोषित रूपमा जन्मने गरेका छन्।
प्रकाशित मितिः २०७२ माघ २७ गते बुधवार
Comment Here!