महिलाको सँख्यात्मक र गुणात्मक उपस्थितिको चर्चा चलिरहेका बेला एमाले अखिलको नेतृत्वमा पुग्न महिला उम्मेद्ववारको ताँती नै देखिएको छ। अध्यक्ष पदकी प्रत्याशी नविना भन्छिन् ‘अब पनि हामी आरक्षण भनेर बस्याैं भने कहिले अघि बढ्ने ?’
सलोजा दाहाल
काठमाडौं। माघ २८ र २९ गते हुने एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को महाधिवेशन महिलाका लागि ऐतिहासिक हुने भएको छ। नेपालमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको आवाज उठिरहेपनि अनेरास्ववियूमा भने आरक्षण सिटका लागि मात्र होइन खुल्ला त्यो पनि निर्णायक मानिएका पदहरूका लागि महिलाले उम्मेद्वारी घोषणा गरिरहेका छन्।
अध्यक्ष पदकी प्रत्याशी नविना भन्छिन् ‘अब पनि हामी आरक्षण भनेर बस्यौं भने कहिले अघि बढ्ने ?’ त्यसैले समय छदै आफ्नो क्षमताको प्रयोग गर्नुपर्छ।’
माउ पार्टी नेकपा एमाले भित्रको गुटबन्दीको असर विद्यार्थी संगठनमा पनि छ। तर, जे होस संस्थापन पक्ष केपी ओली समूह र नेपाल पक्षमा पनि क्रियाशील पदमा महिलाको सशक्त दावेदारी देखिएको छ।
ओली पक्षबाट वर्तमान महासचिव नविना लामाले अध्यक्षकै प्रत्यासी भनिएका ऐन बहादुर महरालाई महासचिवमा राखेर आफू अध्यक्ष सहितको प्यानल नै घोषणा गरिन्। नविना भन्छिन् ‘अब अखिल भित्रको गुटको अन्त्य गर्नुछ। विद्यार्थी संगठन भनेको त सम्पूर्ण विद्यार्थीको हितको लागि हुन्छ न की कुनै गुटका लागि।’
नविना स्ववियु सभापति हुँदै केन्द्रीय उपाध्यक्ष र महासचिवका रूपमा नेतृत्व गरिसकेको लामो अनुभवका आधारमा आफूले उम्मेदवारी दिएको बताउँछिन्। भन्छिन् ‘अरूको तुलनामा वरिष्ठता र निरन्तरता मात्रै होइन, सक्षम र विद्यार्थी आन्दोलनलाई भ्रष्टीकरणबाट जोगाएर लानु आवाश्यक छ।’ त्यसैले समृद्धि र निर्माणको आन्दोलनमा जोड्न तथा विगतको विरासत कायम राख्नसक्ने अगुवाका रूपमा आफूलाई अघि सारिएको उनको बुझाइ छ। भन्छिन् ‘यी सबै चूनौतिको सामना गर्नका म तयार भइसकेकी छु।’
उपाध्यक्षकी दाबेदार सुनिता बराल विद्यार्थी आन्दोलनलाई परिमार्जित गरेर सिर्जनात्मक र रचनात्मक बनाउनुपर्नेमा जोड दिन्छिन्। अबका विद्यार्थी आन्दोलन पूर्णत विद्यार्थीको हितमा हुनुपर्नेमा उनको भनाइ छ। सुनिता भन्छिन् ‘विद्यार्थीको सिर्जनात्मक र रचनात्मक विकासमा मेरो जोड रहन्छ।’ उनी पनि अध्यक्ष नविनाकै प्यानलबाट उपाध्यक्षको उम्मेद्वार हुन्।
नविना लामा
दिपक गौतमको प्यानलबाट उपाध्यक्षको लागि दाबेदार बनेकी राधिका खतिवडा अब विद्यार्थीका लागि सक्षम, योग्य र इमान्दार नेतृत्वको खाँचो परेको बताउँछिन्। धर्म, जात र लिंगका आधारमा भन्दापनि क्षमता र योग्यतालाई महत्व दिनुपर्ने उनको धारणा छ।
‘अहिलेदेखि नै हामीले क्षमताको विकास गर्न सक्यौ भने संरक्षण र आरक्षणको खाँचो नै पर्दैन’ राधिका भन्छिन्, ‘तर क्षमता विकासका लागि वातावरण पनि हुनुपर्छ र परिस्थिति पनि मिल्नुपर्छ।’
अखिलको एक सय ४१ सदस्य समितिमा एक तिहाइ भन्दा बढी महिलाको प्रतिनिधित्व हुने उनको विश्वास छ। रामकुमारी झाँक्री अध्यक्ष भएकै बेलादेखि अनेरास्ववियूले समाजमा विद्यमान रहेको परम्परागत धारणा तोडेको भन्दै राधिका समयमै क्षमता विकास गर्न सके पूर्ण आरक्षणको पनि आवश्यकता नपर्ने बताउँछिन्। अहिलेसम्म अन्य राजनीतिक दलमा महिलाको प्रतिनिधित्व देखाउनमात्र रहेको भन्दै अखिलमा भने प्रभावकारी प्रतिनिधित्व रहेको उनको धारणा छ।
रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको बेला अखिलमा ८० प्रतिशत स्ववियूमा आफ्नो जित सुनिश्चित गरेको उदाहरण दिँदै खतिवडाले भनिन् ‘कार्यकर्ता र नेतृत्वको सही मूल्याङ्कनका लागि पनि महिलाको सक्रिय सहभागिता अत्यावश्यक हुन्छ।’
अनेरास्ववियूले नै महिला नेताप्रतिको गलत धारणा चिरेको भन्दै उनी भन्छिन् ‘आरक्षण भनेको संरक्षणको लागि मात्र हो, खुल्ला प्रतिस्पर्धामा आउन सक्नेको लागि आरक्षणको महत्व नै छैन नी।’ राधिका खतिवडा
सचिवकी दाबेदार कमला बोहोरा समय अनुसारको बैज्ञानिक एंव व्यवसायिक शिक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिन्छिन्। कमला भन्छिन् ‘अब विद्यार्थी संगठन बलियो बनाउनका लागि क्याम्पसको गेट कुर्ने होइन, कक्षामा बस्ने नेतृत्वको खाँचो छ। किनकी सच्चा विद्यार्थीले मात्र सम्पूर्ण विद्यार्थीको हित गर्न सक्छ।’
उनी संख्यात्मक प्रतिनिधित्व मात्र भन्दापनि क्रियाशील प्रतिनिधित्व अत्यावश्यक भएको बताउँछिन्। महिला देखिनका लागि मात्र होइन केही गर्नका लागि हामीले नेतृत्व सम्हाल्नु आवाश्यक छ। नेता सक्षम भएमात्र सही नेतृत्व गर्न सक्ने विश्वास गर्ने कमला जिम्मेवारीले पनि व्यक्तिको आत्मविश्वास बढ्ने बताउँछिन्। भन्छिन् ‘विद्यार्थी राजनीतिमा लाग्नुको अरु कुनै स्वार्थ छैन, तर क्षमताको विकास गरी सकारात्मक सोच बढाउनु अबको आवश्यकता पनि हो।’
उनी व्यावसायिक शिक्षामा जोड दिनु अवको आवश्यकता भएको बताउँछिन्। भन्छिन् ‘हाम्रो शिक्षालाई व्यवसायिक बनाउनु जरुरी छ।’ त्यसको लागि अब विद्यार्थी संगठनहरूले नै लविङ्ग गर्नुपर्ने उनको भनाई छ।
यससँगै गौतम प्यानलबाट भक्तकुमारी लामा र आरती लामापनि पदाधिकारीका दाबेदार छन्। तर, अहिलेसम्मपनि उम्मेद्वारीका विषयमा निश्चित भने भइसकेको छैन। सचिवालय सदस्यका लागिपनि धेरै छात्रा अघि सरेका छन्।
अनेरास्ववियूको सचिवका दावेदार वसिम आलम यसपालीको केन्द्रीय समितिमा अन्य समयको भन्दा महिलाको संख्यात्मकमात्र नभइ गुणात्मक उपस्थितीपनि दरिलो हुने बताउँछन्।
कमला बोहोरा
२०२२ सालमा स्थापना भएको अनेरास्ववियूको दोस्रो राष्ट्रिय सम्मेलन पछि महिला प्रतिनिधि सहभागी हुँदै आएका छन्। १० औं राष्ट्रिय सम्मेलन २०४८ सालमा महिला विभाग गठन भएको अनेरास्ववियूले इतिहास रच्दै महिलाले नै एक कार्यकाल अध्यक्ष पाइसकेको छ।
महाधिवेशनबाटै २०६५ सालमा रामकुमारी झाँक्री अध्यक्ष भएपछि केन्द्रिय सदस्य, सचिवालय सदस्य र पदाधिकारीमा महिलाको संख्या बढ्दै गएको हो। त्यसपछिका वर्षहरूमा भने अनेरास्ववियूमा महिलाको उपस्थिति सशक्त हुँदै अघि बढेको छ।
अब हुने महाधिवेशनबाट एक सय ४१ सदस्यीय कार्यसमिति चयन हुने छ। त्यस मध्य महिलाका लागि सचिव, सचिवालय र केही केन्द्रीय सदस्यका लागि मात्र आरक्षणको व्यवस्था गरिएको छ।
प्रकाशित मितिः २०७२ माघ २८ गते विहीवार
Comment Here!