‘बसभित्र पोथी बास्दा’


प्रकाशित मिति :2016-02-11 16:48:26

निर्मला ठकुराठी

12665756_973877959369929_474808223_n बिहानै महेन्द्र नगरबाट झलारी जान बस चढेँ ।  बस चढ्दा अगाडिको सीटमा बसेका तीन/चार जना दिदी बहिनी आफ्नै  कुरामा मस्त थिए ।

एक्लै भएकाले म पनि उनीहरूकै कुरालाई चाख मानेर सुनि रहेँ । उनीहरूको गफले मेरो मात्र होइन, अन्य यात्रुहरूको पनि ध्यान खिचेकै थियो ।

त्यही बीचमा एक जना अर्धबैसे पुरुषले ठूलो स्वरमा बोल्दै भने ‘पोथी बासेको राम्रो हुँदैन, चुप लाग ।’ सायद ती मध्येकी एउटा महिला तिनै पुरुषको श्रीमती हुनुपर्छ ।

बस भरिका यात्रु खित्का छोडेर हाँसे ।

हाँसोमा गुञ्जिएको बसभित्रको स्वरलाई चिर्दै तीनै मध्येकी एक जना महिलाले भनिन् ‘पोथी बास्यो भन्ने दिन गईसके । सुन्ने मन छैन ,कानमा औला ठोँस । यो देशकाे राष्ट्रपति र सभामुख  को हाे ? तिमीलाई थाहा छ ? ’

यात्रु फेरि गलल्ल हाँसे । ती  अधबैंसे पुरुषको अनुहार रातो पीरो भयो । यत्तिकैमा म आफ्नो गन्तव्यमा पुगें ।

अनि बसबाट ओर्लिएँ ।

तर, बसभित्र भएको कुराले  मनमा घोचीरह्यो । काम सकेर घर फर्किएपछि पनि मनमा ‘पोथी बासेको राम्रो हुँदैन’ भन्ने वाक्यले अनेकन तरङ्ग ल्याइरह्यो ।

घरमा बज्यै, आमा, दिदी र बहिनीले भाले बासेपछि ओछ्यान छोड्नुपर्छ भन्नुहुन्छ । भालेको डाँकोसँगै उठ्ने हरेक महिलाले घर धन्दासँगै पुरुषलाई ओछ्यानमै चिया पुर्याउने काम गर्दछन् ।

भाले बिहानै किन कराउँछ ? यसको प्राकृतिक रुपमा आफ्नै कारण होला तर, यसको व्यवहारिक अर्थ पुरुष प्रभुत्वसँग जोडेर लिने गरिएको छ । जसले महिलालाई पोथीसँग जोडेर बोल्न समेत बन्देज लगाएको छ ।

सामान्य मान्छेले जस्तो सोच्छ, बौद्धिक, पढेलेखेका युवाहरूले त त्यस्तो नसोच्नु पर्ने हो तर, सोचाइ उस्तै छ । संसारलाई बुझेर पनि, समयसँग बदिल्न नसक्नेहरूको संख्या बढी भएर नै होला महिलालाई अझै पनि त्यही बास्ने र नबास्ने कुरासँग जोडेर हेप्ने गरिएको ।

आमाको कोखबाट जन्मिएको छोरा, युवा भएपछि कसरी त्यही आमालाई भन्न सक्छ ‘पोथी बासेको राम्रो होइन ।’ आमालाई पोथीको दर्जा दिएर चुप लगाउने उसले आफू भाले बन्यो र बिहानीको संकेत ग-यो । दिनको सुरुवात बिहानबाटै हुन्छ तर, बिहानै बास्ने भालेसँग

आफूलाई दाँजेर ‘म पशु हुँ’ भन्न खोजेको लख पनि त काट्न सकिन्छ ।

यो बुद्धिमता कि मुर्खता ?

भाले बास्दा महिला उठ्ने र पुरुष सुत्ने सोचले समाजको मात्र होइन, परिवारको पनि उन्नत्ति हुँदैन । एउटाले काम गर्ने र अर्को आराम गर्ने ? असमानता भनेकै यहि हो । यदि समान सोचले काम गर्ने हो भने समाजको विकास कति छिटो हुने थियो होला ?
अन्यायका विरुद्ध बोल्नुपर्छ ।

हामीले मुख खोल्ने हो भने महिला समानताको गफ चुट्ने ढोगीहरूको मुख आफै बन्द हुँदो रहेछ । त्यसको उदाहरण हुन, बसभित्रकी ती महिला । महिला बोल्नु हुँदैन भन्ने कुरा गर्नेलाई उनले आफ्नै तरिकाले जवाफ दिइन् ।

उनको प्रतिकारबाट ती अधबैंसे समाजका ठेकेदार चुप लागे । यसले के संकेत गरेको छ भने, अब महिला चुप लागेर बस्दैनन । आफूमाथि आईलाग्नेविरुद्ध सजिलै जाईलाग्ने चेतनाको विकास भएको छ  ।

त्यसैले, भाले बासेको मात्र राम्रो होइन, पोथी बासेको पनि राम्रो हुन्छ भन्ने सोचको विकास भए समाता मुलक समाजको निर्माण अवश्य हुनेछ ।

प्रकाशित मितिः २०७२ माघ २८ गते विहीवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: