महिला खबर
माघ । कास्कीमा एचआइभी संक्रमितले प्रयोग गर्ने एआरटी नामक औषधी लिने महिलाको संख्या पुरुषको भन्दा बढी रहेको तथ्यांकले देखाएको छ ।
अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा पश्चिमाञ्चल एचआइभी एड्स संजाल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की र एड्स हेल्थकेयर फाउन्डेशन नेपालले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक प्रस्तुत गरिएको थियो ।
तथ्यांक अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित एआरटी प्रयोग गर्ने ८५० जना मध्ये ४५० महिला रहेको एड्स हेल्थ केयर फाउण्डेशन नेपालका एआरटी कोअडिनेटर प्रगति खनालले जानकारी दिनुभयो । यस्तो सेवा लिने संंक्रमितहरू १९ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।
संक्रमितले खुलेर बताउन नचाहेकाले उनीहरू कोबाट कसरी संक्रमित भए भन्ने पत्ता नलागेको खनालले बताउनुभयो । यद्यपी अधिकांश महिला श्रीमानबाटै संक्रमित भएको उनीहरूसँगको प्रारम्भिक कुराकानीबाट अनुमान गर्न सकिने खनालको भनाइ छ ।
भोली फागुन १ गते शनिवार एचआइभी संक्रमण रोकथामका लागि कण्डमको प्रयोग बारे जनचेतनामुलक कार्यक्रम गरिन लागिएको जानकारी हेल्थकेयर फाउण्डेशनका नेपालका बबि सिंहले पत्रकार सम्मेलनमा दिनुभयो ।
फाउण्डेशनले नेपाललगायत अन्य देशहरूमा समेत २ करोड संक्रमितलाई सन् २०२० सम्म उपचारमा ल्याउन सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले विश्वमा ३ करोड ६९ लाख एचआइभी संक्रंंमित व्यक्ति रहेको र नेपालमा ३९ हजार २ सय ४९ रहेको जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०७२ माघ २९ गते शुक्रवार
Comment Here!