सन्दर्भ प्रणय दिवस :यस्तो कसैलाई नहोस्


प्रकाशित मिति :2016-02-12 12:32:10

महिला खबर

काठमाडौं । मानिसलाई ज्यूँदै जलाउनु जघन्य अपराध हो । यो अपराध गर्नेहरूको जति निन्दा गरेपनि कमै हुन्छ । जीवनभर सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर रंगीन सपनासहित वैवाहिक नाता जोडेकी महिलालाई केही समयपछि नै आफ्नै श्रीमानले हात खुट्टा बाँधेर ज्यूँदै आगो लगाउँदा कस्तो अनुभूति हुन्छ होला यो तपाईं हाम्रा लागि कल्पना वाहिरको कुरा हो । तर, सात महिनाकी गर्भवती श्रीमती जलाउने दानव नेपाली समाजमा छन् ।
ra२०७० चैत ३ गते बाँके लक्ष्मणपुर गाविस ८ मियापुरवाकी २१ वर्षीया रिहाना सेख ढपालीलाई मट्टीतेल छर्केर श्रीमानले ज्यूँदै जलाएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा खुबै चर्चा पायो ।  श्रीमान फरिद ढपाली र सासु, ससुराले दाइजोमा मोटरसाईकल र भैंसी नल्याएको भन्दै हात खुट्टा बाँधेर मट्टीतेल खन्याएर ज्यूँदै जलाईएकी रिहानाले अझैसम्म न्याय पाउन सकेकी छैनन् । हात खुट्टा बाँधेर ज्यूँदै जलाएको घटना  प्रचारमा मात्र सिमित रह्यो । न त  जलेको उनको शरिर  निको नै भएको छ । उनले आफ्ना पेटमा रहेकोे बच्चा पनि गुमाईन् ।

घटना भएको केही महिनासम्म ज्यूँदै जलाएको सुन्ने, पत्रपत्रिका पढ्ने र टेलिभिजनमा समाचार हेर्ने केहीले उनलाई सहयोग पनि गरे । तर, उनीसँग अहिले औषधि गर्ने खर्च समेत छैन । उनले खुट्टाको घाउ देखाउँदै भनिन् ‘धेरै जलेकाले अझै निको भएको छैन । हिड्न पनि गाह्रो हुन्छ ।’

माइतीको आर्थिक अवस्था कमजोर भएका कारण उनको थप उपचार हुन सकेको छैन । ‘खुट्टाको घाउ पटक—पटक पाक्दा हिँड्डुल गर्न मात्र होईन, दुखाईले रातभर निद्रा लाग्दैन’ उनले भनिन् । रिहानाको अनुहार बाहेक शरिरका सम्पुर्ण अगं जलेका थिए ।  चैत ३ गतेको कालो रात सम्झँदा अहिले पनि उनको शरिर काँप्न थाल्छ ।

उनलाई जलाउने श्रीमान र सासु ससुरा भारतमा लुकेर बसेकाले कावाहीमा ढिलाई भएको प्रहरीको भनाइ छ । अहिले पनि फरिद ढपालीले पटक—पटक फोन गरेर बुवालाई ज्यान मार्ने धम्की दिने गरेको सुनाउँदै रिहानाले भनिन् ‘जंगलको बिचमा घर छ । मलाई आगो लगाउने अपराधीलाई प्रहरीले यति लामो समयसम्म पक्रन सकेको छैन, दिन रात डर लाग्छ ।’ औषधी गर्ने पैसा छैन, तर उनले कसैको सहयोग पाए सानो भएपनि पसल गरेर जीवन चलाउने सपना बुनेकी छन् । भन्छिन् ‘म आफ्नो खुट्टामा उभिन चाहन्छु । कसैको सहयोग पाए हुने थियो ।’ गरिव परिवारको भएपनि विवाहमा उनका बुबाले जमिन बेचेर ९० हजार रुपैयाँको दाइजो दिएका थिए ।

दाइजो नपाएको र छोरा नजन्माएका कारण नेपाली महिला दिनप्रति यस्तो जघन्य अपराधको शिकार आफ्नै परिवारबाट हुनु परेको छ । अर्कोतिर आफन्तले ज्यूँदै जलाएका महिलालाई राज्यले संरक्षण नदिँदा उनीहरू पुनः त्यही  अपराधी परिवारसँग बस्न बाध्य छन् ।

बाँच्ने आधार नहुँदा र छोरी माइती बस्नु बोझको रुपमा बुझ्ने सामाजिक मान्यताका कारण उनीहरू घरमै फर्किएको बताउँछन् । दाइजो नल्याएको निहुँमा जलाइएका अधिकांश महिलाले थप उपचार पाउन सकेका छैनन् । जलेको घाउ छिटो निको नहुने, पटकपटक पाक्ने र त्यसमाथि परिवारको डरमा काम गर्दा असह्य पीडा हुने उनीहरूले सुनाए ।

२०६४ साल कात्तिक २० गते आफनै श्रीमानबाट जलाईएकी बाँके परस्पुर गाविस ७ की ३० वर्षीया हासरुन इद्रीसी हाल श्रीमानसँगै बस्दै आएकी छन् ।  माइतीको आर्थिक अवस्था कमजोर नभएपछि श्रीमानसँगै बस्दै आउनु परेको उनी बताउँछिन । माइतीले आफूलाई बोझ ठानेकाले श्रीमानसँग बस्न बाध्य भएको बताउँदै भनिन् ‘कहाँ जाने ? के खाने ? के गर्ने ? श्रीमानले फेरि आगो लगाउँछ कि भन्ने डर त लाग्छ नि ।’

gitaउनको घाटीको दाँया भागदेखि तल हात पुरै जलेको छ । हातले अझै राम्रोसँग काम गर्न मिल्दैन । इद्रीसीले रुँदै भनिन् ‘हातको शल्यक्रियाका लागि पैसा चाहिन्छ  । मसँग छैन, कोसँग मागौं । पैसा बिना शल्यक्रिया हुँदैन ।’

उनले कैँची चलाउन नसक्दा सुरु गरेको सिलाईकटाई व्यवसाय बन्द गर्नु पर्‍यो । महिला विकास कार्यालयको सहयोगमा एक वर्ष निःशुल्क पढेका उनका छोराछारीको पढाई अहिले  रोकिएको छ ।

हासरुन मात्रेै  होइन, दाइजो नल्याएको कारण बाँकेकी जाहेरा सलवानी पनि पापी परिवारको फन्दामा परिन उनलाई पनि श्रीमान र परिवारले ज्यूँदै जलाए ।  उनको अहिले माइतीमै उपचार भैरहेको छ ।

यस्तै परमिनी दृशीलाई विवाह भएको ६ महिना बित्न नपाउँदै दाइजो कै निहुँमा कुटपिट हुन थाल्यो । परिवारको यातना उनले दिनरात सहेर बसिन् । विवाह भएको वर्षदिन मै उनको छोरी जन्मियो । त्यसपछि उनलाई परिवारले शरिरमा मट्टी तेल खन्याएर आगो लगाए । उनी न्याय खोज्दै प्रहरी कहाँ पुगिन् । प्रहरीले घरको झगडा घरमै मिलाउ भन्दै उनलाई फर्काइ दियो । सानो छोरीसँग कहाँ जाने ? जाने ठाउँ कत्तै नएकाले पुनः श्रीमानको घर पुगेकी उनलाई राती ढोका थुनेर अर्धमृत हुनेगरी श्रीमानले कुटेको बताइन् । कुटाईले सुनिएको शरिर लिएर उनी फेरि २०६९ मा प्रहरीका उजुरी गरिन् । त्यो बेला उजुरी दर्ता त भयो, तर परिवारसँगै बसेपनि उनी अहिले बेसाहारा बनेकी छिन् ।

तीन छोराछोरीकी आमा जेवा खातुनले दाइजोमा मोटरसाइकल, फ्रीज र  कुलर नल्याएको भन्दै परिवारले जलाउने धम्की दिएर घर निकाला गरेको सुनाइन् । दुई छोरी र एक छोरासँगै उनले माइतीको छानो मुनि बास त पाएकी छन्, तर छोराछोरी कसरी पाल्ने र अक्षर चिनाउने चिन्ताले उनलाई सताएको छ ।

यस्तै बाँकेकी साहिनीन निशाका  पनि श्रीमान र परिवार नै पीडक हुन् । उनका दुई छोरी छन् । उनलाई छोरीसँगै परिवारले एकसरो लुगामा घर निकाला गरिदिएका थिए । उनकी ठूली छोरी १३ वर्ष पुगिन् भने सानी छोरी ९ वर्ष लागेकी छन् । उनका दुबै छोरीको जन्म दर्ता समेत भएको छैन । अंश मुद्दाका लागि कानुनी सहायता लिए पनि उनको नत  विवाह दर्ता छ नत  नागरिकता नै  । उनी घर नजिकैको गोठमा छोरी लिएर बसेकी छन् । उनी बस्ने गोठमा ढोका समेत छैन ।

बर्दिया महोम्मदपुर गाविस १ गणेशपुरकी ३१ वर्षीया गीता नेपाली शेषले ०७२ साउन १५गते राति आफैँलाई आगो लगाएको दावी गरिन्  । गीता भन्छिन् ‘गल्ती गरेर आफैँ पछुताउनु परेको छ । रिसको झोंकमा आफैँलाई  जलाइयो, अहिले आफैँलाई दुःख भयो ।’ आफैँलाई आफैँले जलाउने कारण के थियो उनले  खुलाउन चाहिनन् ।  पीडित गीताले आफ्नो उपचारका लागि सहयोग गरिदिन आग्रह समेत गरेकी छन् ।

उनको कम्मरदेखि माथिको भाग पुरै जलेको छ । ३ महिना काठमाडौंमा उपचार गरेर फर्किएकी गीतालाई हातको शल्यक्रियाका लागि फेरी डाक्टरले काठमाडाैं नै बोलाएका छन् । तर, खर्च अभावमा उपचारका लागि उनी काठमाडौं जान सकेकी छैनन् । महिला जलेका घटनाहरूकोे प्रभावकारी छानविन हुन नसक्दा वास्तविकता ओझेलमा पर्दै आएको अधिकारकर्मी महिला बताउँछन् ।

यता महिला आयोगले तयार पारेको दाइजो नियन्त्रण सम्बन्धि कसुर सजाय गर्न बनेको विधेयक २०७२ अहिलेसम्म महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमै बसेको आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाई बताउँछिन् ।  सर्वोच्च अदालतले समेत महिलालाई जलाउने हिंसालाई अपराध मानेर कानुन बनाउन सरकारका नाममा आदेश दिइसकेको छ ।

Captureबाँकेमा सात महिनामा सात जना महिलालाई ज्यूँदै जलाइयो । एउटै जिल्लामा सात महिनामा सात जना महिला जलाईनु ठूलो घटना हो, तर यस्तो अपराधविरुद्ध बोल्ने र कानुन बनाउने काममा नेपालका राजनीतिक दलका लागि प्राथमिकता मै परेको छैन ।

न त  तिनका भगीनी संगठनले यी मुद्दालाई उठाएका छन् । यस्ता क्रुर अपराधविरुद्ध  एउटा विज्ञप्ति निकाल्न समेत ती संगठनले उचित सम्झिँदैनन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महत जलाइएका महिलालाई तत्कालका लागि आवश्यक पर्ने उपचारको कुनै ठोस पहल  नभएको बताउँछन । उनी भन्छन ‘यसको पहल कुनै सम्बन्धित निकाय तथा राज्यले नै गरेको छैन ।’

राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिम क्षेत्रीय निर्देशक मुरारी खरेलले पीडितहरूको आर्थिक अवस्था कमजोर तथा आत्मनिर्भर नभएका कारण उनीहरू पीडकविरुद्ध आवाज उठाउन डराएको बताउँछन् । जलाईएका महिलाका लागि जिविकोपार्जनको व्यवस्था राज्यले गर्नुपर्ने उनले बताए ।

घरेलु हिंसामा पनि आगजनीका घटना मधेसी तथा मुस्लिम समुदायमा बढी  भएको पाइएको छ । अशिक्षा, जनचेतनाको अभाव, दाइजो प्रथालगायतका कारण ती समुदायमा यस खालका घटना बढी हुने गरेको अधिकारकर्मीको विश्लेषण छ । घरेलु हिंसामा प्रहरीले मिलापत्र गराउने र महिलालाई फेरि त्यही घरमा फर्काइ दिने हुँदा उनीहरूले आफूमाथि हुने कुनैपनि हिंसा लिएर पुलिस कहाँ पुग्न छोडेको उनीहरूको भनाइ छ ।

जति पनि जलाइएका महिला छन्, ती सबै आर्थिक र सामाजिक रुपमा कमजोर छन् । त्यसैले उनीहरू माइती वा अर्काको घरमा बसेर मुद्दा लड्न सक्ने अवस्थामा छैनन् ।  न त राज्यले पीडितलाई आर्थिक र सामाजिक सुरक्षाको अनुभूति दिन सकेको छ  । त्यसैले यस्ता गम्भीर अपराधलाई दुरुत्साहन गर्न कडा कानुन बनाइ अपराधीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने र पीडितलाई आत्मनिर्भर बन्नका लागि सीपमूलक तालिम दिई जिविकोपार्जनको सुनिश्चित गर्नुपर्ने अधिकारकर्मीहरू बताउँछन् ।

प्रकाशित मिति : २०७२ माघ २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: