महिला खबर
काठमाडौं । संयुक्त राष्ट्रसंघले अधिकारकर्मी बन्दना राणा र अफ्रिकी मुलुक नाइजेरियाकी अधिकारकर्मी अमिना मुहम्मदलाई वीमेन अफ द इयर नामक पुरस्कार दिने घोषणा गरेको छ । नेपालको महिला आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघले राणालाई सम्मान गरेको हो । २५ वर्षदेखि महिला अधिकार प्रवर्द्धन र समान लैंगिक अधिकारका लागि विभिन्न संस्था र सञ्जाल स्थापना गरि सेवा गरेको राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । द्वन्द्व प्रभावित, हिंसापीडित र सिमान्तकृत समुदायका महिलाको अधिकारका लागि राणाले स्थानीय तहदेखि विश्वव्यापी रुपमा आवाज उठाएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले महिला अधिकार प्राप्तिका लागि पैरवी, अध्ययन अनुसन्धानका साथै स्थनीयस्तरमा सामाजिक कार्यकर्ता परिचालन गरेको राष्ट्रसंघले जनाएको छ । राणा संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ कार्यान्वयन सम्बन्धी सल्लाहकार समिति र राष्ट्रसंघ कै एशिया प्याशिफिक सामाजिक आर्थिक सम्बन्धी आयोगका सदस्य हुनुहुन्छ ।
अधिकारकर्मी अमिना मुहम्मदले सन् २०१५ पछिको विकास प्रक्रियामा महासचिव वान की मुनका विशेष सल्लाहकारका रुपमा काम गरिसक्नुभएको छ । यसअघि उहाँले शहस्राब्दी विकास लक्ष्यमा नाइजेरियाका राष्ट्रपतिको बरिष्ठ सहायकका रुपमा काम गर्नुभएको थियो ।
विकासोन्मुख देशमा महिला अधिकार र शसक्तिकरणका लागि नेतृत्व गरेका महिलालाई बार्षिक रुपमा यो पुरस्कार दिईंदै आएको छ ।
प्रकाशित मिति: २०७२ फागुन १ गते शनिबार
Comment Here!