खेमा बस्नेत
कैलाली । २०७० माघ २३ गते कञ्चनपुरकी पूर्णिमा बानिया र बिमला ओझा दुवैको शव धनगढी–४ उत्तरबेहडी स्थित शिवपुरी सामुदायिक वनमा भेटिएको थियो । विमलाको पासो लगाएको र पूर्णिमाको बिष खाएर मृत्यु भएपछि शव फेला परेको थियो ।
दुवैले आत्महत्या गरेका हुन या हत्या भएको हो भन्ने कुरा अनुसन्धानमा नै थियो, तर प्रहरीले अनुसन्धानवाट प्रेमकै कारण उनीहरूले ज्यान गुमाउन परेको पत्ता लागेको थियो । कञ्चनपुर परासनका बलराम भनिने मातृका जैशीले दुवै युवतीलाई यौन सम्पर्कका लागि मात्र प्रेमको नाटक गरेका थिए । अन्धो भएर प्रेम गरेका यी दुवै युवतीलाई उनले रचेको प्रेमको नाटक थाहा थिएन जति बेला थाहा पाए ज्यान गुमाउनु पर्यो ।
दुवै प्रेमीकाले बलरामका बारेमा थाहा पाएपछि दुवैले विवाहको प्रस्ताव राखे, तर बलरामले उनीहरूलाई आफ्नो जीवनबाट हटाउने योजना बनाए । प्रहरीका अनुसार विमलालाई पुर्णिमा र बलरामले पासो लगाएर मार्ने योजना अनुसार पूर्णिमाले सलको पासो बनाइन् । अनि विमला उभिने बित्तिकै बलराम र पूर्णिमाले उनलाई पासोमा फसाएर हत्या गरे । विमलाको हत्यापछि पूर्णिमाले बलरामसँग विवाह गर्ने प्रस्ताव गरेकी तर बलरामले आनाकानी गरे । त्यसपछि पूर्णिमाले विवाह नगरे दुवै मरौं भन्ने प्रस्ताव गरिन् । अनि बलरामसँगै मर्ने भनेर तयार भए जस्तो गरेर पूर्णिमाले बोकेको सल्फास आधा आधा खाएर मर्ने निर्णय गरे । बलरामको आग्रह अनुसार पूर्णिमाले तीन चक्की सल्फास खाइन्, बलराम हाँस्दै त्यहाँबाट भागे । अहिले बलराम जेलमा छन् ।
त्यसैगरी सुख्खड–भजनी सडक खण्डबीचमा पर्ने किर्तिपुरको जंगलमा आरती नेपालीको शव भेटियो । भर्खरै प्रेम विवाह गरेका थिए आरती नेपाली र हिम बहादुरले, तर तिनै प्रेमी यती विषालु होलान उनले सोचेकी पनि थिइनन् होला । जंगलमा उनीहरूले प्रेमालाप गरे । हिम बहादुरले श्रीमतीलाई काखमा बसाए । माया देखाए, अनि आफ्नै काखमा बसेकी श्रीमतीको छुरी घोपेर हत्या गरे । प्रहरीका अनुसार आरतीको यौनाङ्ग छतविक्षत थियो । हिम बहादुरले श्रीमतीको घाँटी र यौनाङ्गमा छुरी हानेर हत्या गरेका थिए ।
यी पात्र मात्रै हुन् । अहिले प्रेम फेसन जत्तिकै भएको छ । प्रेमको नाटक, धोका, विश्वासघात अनि असमझदारीले निम्त्याउँछ हत्या, अनि मान्छे बन्छ अपराधी । माया नपाएको भन्दै आत्महत्या गरेर अमर हुन्छु भन्दै आफ्नो प्राण त्याग गर्ने धेरै छन् भने माया पाएर पनि नचाहिने भन्दै प्रेमिकाको हत्या गरी अपराधी बन्ने पनि बढ्दै छन् । असफल प्रेम सम्बन्धका कारण धेरै युवायुवतीले आत्महत्या गर्ने गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङक अनुसार २०७०/०७१ मा १९ हत्या भएका छन् भने २०७१/०७२ मा पनि १९ हत्या भएका छन् ।चालु आर्थिक वर्षमा ५ हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी कैलालीमा गत वर्ष आत्महत्या गर्नेको सख्या १ सय ७६ थियो भने चालु आर्थिक वर्षमा ७७ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले प्रेम अहिले फेसनको रुपमा रहेको बताए । छिटै प्रेम गर्ने र छिटै टुटाउने प्रबृत्तिले विश्वासको वातावरण कम हुने अनि अन्तिममा यो मान्छे आवश्यक छैन भन्ने लागेपछि हत्यासम्मको योजना बनाउने गरेको बताए ।
प्रकाशित मिति : फागुन २ गते आईतवार
Comment Here!