महिना दिनसम्म गोठमा सुत्केरी


प्रकाशित मिति :2016-02-14 13:23:55

सुत्केरी अवस्थामा विशेष हेरचाह र पोषिलो खानेकुरा जरुरी हुने अवस्थामा हुम्लामा प्रचलनका नाममा एक महिनासम्म सुत्केरीलाई गोठमा राख्ने चलन छ । यसले बच्चा र आमा दुवैको स्वास्थ्यमा जोखिम हुने गरेको छ ।

प्रकाश सिंह

12557664_938160506261038_1941757872_o

हुम्ला । जिल्लाको अति दुर्गम गाबिस मैलाकी २४ बर्षीया दुधारी धामीलाई सुत्केरी ब्यथा लाग्ने बितिकै परिवारले गोठमा पुर्‍याए । स्वास्थ्यकर्मी कोही थिएनन् छिमेकी महिलाको सहयोगमा उनले गोठमा बच्चा जन्माईन् ।  परम्परागत बिधि प्रयोग गरेर सुत्केरी गराईयो । बच्चाको नाल काट्न पनि हसियाँ प्रयोग गरियो । पुरानो रसीले नाल बाँध्ने काम भयो । एक महिनासम्म उनलाई गोठमा राखियो ।

चिसो र दुर्गन्धले गर्दा गोठमा बस्दा रिगंटा लाग्ने, ज्वरो आउने, बान्ता हुने समस्याले पिरोलीइरहेकी उनी स्वास्थ्य संस्था टाढा भएकाले जान नसकेको बताउँछिन् । गोठमा बस्दै आएकी धामी भन्छिन् ‘गोठमा बस्दै आएकी छु, पोषिलो खाना पाएकी छैन, गाई भैंसीको गोरस खाएमा देवी देवता रिसाउने भनेकोले नुनसँग खाना खानु परेको छ ।’ जन्मेको बच्चा विरामी हुन्छ भन्ने अन्धविश्वासका कारणले सुत्केरीलाई हरियो तरकारी र झोल खानेकुरा नदिने  स्थानीय अगुवा महिला धनरुपा जोशी बताउँछिन् ।

एक महिनासम्म गोठमा बसेर भर्खर बाहिर निस्किएकी मैला – २ की नानी बुढाले पनि गोठमा बच्चा जन्माएकी हुन् । एक महिनासम्म चिसो गोठमा बसेकी नानी चिसोले बच्चा र आफू दुवै विरामी परेको बताउछिन् । गोठमा बच्चा जन्माएकी नानी बुढा अरु दिदीबहिनीले पनि घरमै बच्चा जन्माउने हुँदा अस्पताल नगएको बताउँछिन् । गोठमा तीन बच्चा जन्माएकी भावना बुढा पनि प्रत्येक पटक सुत्केरी हुँदा एक महिना गोठमा बसेको बताउँछिन् । मैला गाविसका अधिकांश महिलाले गोठमै शिशु जन्माउने र एक महिनासम्म गोठमा बस्ने गरेको स्थानीय अगुवा महिला धनरुपा जोशी बताउँछिन् ।

मैला स्वास्थ्य चौकीका इन्चार्ज देवीलाल सुनारका अनुसार हुम्लाका अतिविकट मानिने श्रीनगर, कालिका, जैयर, मैला, मदेनालगायतका गाविसका महिलालाई सुत्केरी भएको एक महिनासम्म गाई, गोरु र बाख्रा राख्ने गोठमा राख्ने चलन छ । बच्चा जन्माउन स्वास्थ्य चौकी जान नमान्ने र स्वास्थ्य चौकीमा बच्चा जन्माए पनि गोठमा राख्ने गरेको सुनार बताउँछन् । बच्चा जन्माउन समस्या देखियो भनेमात्र स्वास्थ्य चौकी आउने भएकाले यो क्षेत्रमा घरमा बच्चा जन्माउनेको संख्या धेरै भएको उनको भनाइ छ  । सुत्केरी भएको समयमा गोठमा बस्दा आमा र बच्चा दुबैको स्वास्थ्य कमजोर हुने भएपनि आफ्नो संस्कार यस्तै भएको भन्दै महिला स्वास्थ्य चौकी आउन नमान्ने अनमी सम्पति शाही बताउँछिन् ।
12591863_938160742927681_1078694859_o
दुई वर्षदेखी हुम्लामा काम गर्दै आएकी अनमी जुनिला खोकालिङ्ग यो अवधिमा सबै सुत्केरी गोठमा बसेकोे बताउँछिन् । स्वास्थ्य संस्था टाढा हुने, पुरुष स्वास्थ्यकर्मीसँग कुरा गर्न लजाउने र जनचेतनाको अभावको कारण स्वास्थ्य संस्था नजाने उनको अनुभव छ । गोठमा बस्न हँुदैन भनेर धेरै पटक सम्झाउन गाँउमा पुगेपनि आफ्नो चलन यस्तै छ भनेर स्वास्थ्य संस्था आउन नमानेको उनको भनाइ छ ।

सुत्केरी भएको बेला राम्रो खाना नपाउनेमात्र होईन एक महिनासम्म कसैलाई छुन नपाउने पीडा सुनाउँछिन् रमिला जैशी । सुत्केरीले छुँदा फोहोर हुन्छ भन्दै नुहाउने धारा पनि अलग्गै व्यवस्था गरिएको छ । एक महिनासम्म गोठमा बस्दा ज्यान घटेर आधा हुने जैशी गुनासो गर्छिन् । हुम्लामा मात्र होईन बाजुरा, बझाङ्ग, अछाम, बैतडी, डडेल्धुरा, डोटी, मुगु, हुम्ला, कालिकोट, जुम्ला विभिन्न गाविसमा अहिले पनि छाउपडी जस्तै सुत्केरीलाई पनि छुन हुँदैन् भन्ने चलन छ । गर्भवती भएको समयमा नियमित गर्भजाँच गराउनु पर्दछ, स्वास्थ्य संस्थामा बच्चा जन्माउनु पर्दछ भन्ने कार्यक्रम भएपनि स्वास्थ्यमा समस्या देखिएपछिमात्र स्वास्थ्य संस्था जाने गरेको स्थानीय लक्ष्मिराज पाध्याया बताउँछन् ।

हुम्लाका पत्रकार नवराज शाहीका अनुसार चेतना अभावसँगै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने कारणलेपनि स्वास्थ्य संस्था जानेको संख्यामा वृद्धि हुन नसकेको हो । हुम्लाका २६ वटा स्वास्थ्य चौकी र जिल्ला स्वास्थ्य कार्यालयमा कर्मचारी अभाबले पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी नरेश श्रेष्ठ बताउँछन् ।

(सिंह दि हिमालयन टाईम्सका बाजुरा सम्बाददाता हुन् ।)
प्रकाशित मिति २०७२ फाल्गुन २ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: