महिला खबर
पोखरा । माघ २६ गते लेखनाथको बेगनासमा मृत भेटिएकी लेखनाथ बस्ने बैंकर खिममाया पुनको मृत्युको सम्बन्धमा आफन्तले शाखा प्रमुख अरुण सापकोटामाथि छानविन गर्न माग गरेका छन् ।
म्याग्दीको राम्चे १ स्थायी घर भई हाल लेखनाथ १२ निवासी २९ वर्षीया पुनको माघ २६ गते विहान वेगनासतालमा शव भेटिएको थियो । शुरूमा शवको प्रकृति हेरेर विदेशी हुन सक्ने अनुमान प्रहरी गरेको थियो । तालमा डुवेर उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरेपनि पुनका आफन्तले त्यसलाई हत्या भएको भनेर छानविनको माग गरेका हुन् ।
तालमा तैरिरहेको अबस्थामा शव भेटिएपनि तत्काल पहिचान खुल्ने कुनै सामान नभेटेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको शव राखिएको थियो ।
घटनाको दुई दिनपछि मात्र बाबु प्रेम बहादुर गर्वुजाले शवको पहिचान गरेपछि वास्तविकता बाहिर आएको थियो । मगर संघ कास्कीले खिममायाको हत्यामा उनी कार्यरत बैंक मेनेजरकै संलग्नता रहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा आईतवार मेनेजरमाथि छानविन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
पीडितको तर्फबाट नेपाल मगर संघ कास्कीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘खिममायाको मृत्यु स्वभाविक नभई हत्या भएको आशंका छ, तसर्थ घटनाको गहिरो छानविन गरी घटनावारे सत्य तथ्य पत्ता लगाई दोषी उपर कडा कारबाहीको माग गर्दछौ ।’
ज्ञापनपत्र बुझाउँदै मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर रानामगरले पोखरामा श्रृङखलाबद्ध रुपमा महिला हत्याको घटना भइरहेकाले तत्काल शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो । फेवा विकास बैंकको गगनगौंडा शाखामा डेढ वर्षदेखि कार्यरत पुन माघ २५ गते शाखा प्रमुख अरुण सापकोटाको निर्देशनमा अफिसबाट बाहिरिएकी थिइन् ।
सापकोटाले प्रगती विवरण बुझाउन गरिएको आग्रह अटेर गरेकाले सो दिनका लागि घर जान भनेपछि अफिसबाट बाहिरीएको भन्दै यसमा शाखा प्रमुख सापकोटाकै कारण आफ्नी छोरीको ज्यान गएको खिम मायाका बाबु प्रेम बहादुरले दाबी गर्नुभएको छ ।
माघ २५ गते १० बजे कार्यालयबाट निस्किएकी खिम मायाले दिउँसो एक बजे बाबुलाई फोन गरेको र त्यसपछि मोवाइल अफ भएको आफन्तले जनाएका छन् । प्रहरीले माघ २६ गते शव भेटेपनि २८ गते मात्रै उनको खोजी सुरू भएको थियो ।
माघ २६ र २७ गते दुई दिन अफिस विदा भएकाले साथीहरूकोमा गएको होला भनि चुप लागेर बसेको र २८ गते बैंकका शाखा प्रमुख आफैँ आएर उनको खोजी सुरू गरेको बाबु प्रेम बहादुरले बताउनुभयो । घटनामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै आफन्तले अडान लिएका छन् ।
प्रकाशित मितिः २०७२ फागुन ३ गते साेमवार
Comment Here!