इन्द्रसरा खड्का
हाम्रो समाज कहिले होला परिवर्तन ? यो प्रश्न म आफैँलाई गर्छु । महिला बोल्न र घर भन्दा बाहिर गएर काम गर्न हुँदैन भन्ने सोचले भरिएको समाजमा मेरो जन्म भयो ।
भाइ सानो हुँदा स्तन क्यान्सरले आमाकोे ज्यान गयो । आमालाई स्तन क्यान्सर भएको समयमै थाहा नहुँदा भाइले आमा भन्न समेत पाएन । आमा गुमाएको पीडा कस्लाई सुनाउँ ? आमा सम्झँदा आँसु आफैँ झर्छ ।
भाइलाई हेरेर मैले बुबाको अर्को विहे गरिदिने निधो गरें । आमाले भाइ, बहिनी र मलाई छोडेको एक वर्ष नपुग्दै बुबाको दोस्रो विहे गरायौँ ।
सानी आमा घरमा आउनुभयो ।
घर र भाइ बहिनीको सम्पूर्ण जिम्मेवार सानी आमालाई सुम्पिएँ ।
समाजमा महिलालाई हेर्ने र गर्ने गलत सोच तथा व्यवहारको चिरफार गर्ने उद्देश्य बोकेर पत्रकारिता क्षेत्रमा लागेँ । अहिले बैतडीमा रहेको निंगलासैनी एफएममा कार्यरत छु ।
एफएमबाट छुट्टी मिले गाउँघर भेटघाटको लागि पुग्छु । भाइ बहिनी सानी आमासँग हाँसी खुसी नै छन् । बुबाको लागि जीवन साथी मिलेको छ । यत्ति नै हो मेरो परिवार ।
म कहाँ जान्छु ? के गर्छु र कहिले विहे गर्ने भन्ने जवाफ परिवारले कहिल्यै खोजेनन् र सोधेका पनि छैनन् । तर, म जन्मिएको समाजले भने मेरो पाइला पाइलामा जवाफ मागेको हुन्छ ।
मेरो उमेर बढेको चिन्ताले उनीहरूलाई पोलेको देख्छु । गाउँमा भेटिने भाउजु र अन्टीहरूको पहिलो कुरा हुन्छ नानी उमेर त ढल्की सक्न लाग्यो नि !
मन मनमा सोचेँ ती भाउजु र अन्टी पनि यहि समाजका पात्र हुन् । उनले जे सिकेका छन्, त्यही बोल्ने गर्दछ । केही समयपछि उहाँहरूलाई हाँस्दै भनें ‘भेट हुन पाएको छैन, विहेको चिन्ता । अरू सुनाउनु घरतिर के छ खबर ? सन्चै हुनुहुन्छ ?’ यति भन्दै आफूले अध्ययन गरेको गाउँ नजिकैको नन्देश्वरी उच्च माबिमा गुरूहरूसँग भेटघाटका लागि पुगेँ ।
सरहरूसँग भेट भयो ।
तिमी रेडियोमा राम्रो बोल्छौ । राम्रो छ, अझ धेरै प्रगति गर्नु भन्दै हौंसला दिनुभयो ।
सरहरूको कुराले मन फूरुङ्ग भयो ।
उहाँहरूलाई धन्यवाद दिन नपाउँदै गाउँकी एकजना काकी टुप्लुक्क पुग्नु भो ।
ढोग गरे । सन्चो विसन्चो सोधेँ । अनि उहाँले भन्नुभयो ‘हेर तिमी भन्दा कति पछिका छोरीले विहे गरे, यति ठूली भईसक्याै, ठाउँ–ठाउँ डुली रहने हैन, विहे गर्ने विचार छैन कि कसो ?’
रिस साह्रै उठ्यो । सरहरूको अगाडि धेरै बोलिन हाँस्दै भने हैन काकी मेरो विहे गर्ने उमेर नै कहाँ भएको छ र ?
भर्खर त २३ वर्षमा लाग्दै छु । अझै २/३ वर्ष छ, किन हतार गर्नु ?
उहाँले अगाडि थप्नु भयो ‘ल ल विहे गर्नु पर्दैन, बुढी कन्या भएर बस्दा पनि त ठिकै हुन्छ ।’
हुन्छ, काकी त्यसै गर्नुपर्ला ।
फेरी काकीले सम्झाए जस्तै गरी भन्नुभयो ‘ हेर छोरी समयमै विहे गर्दा राम्रो हुन्छ । छोरी मान्छे भएर गाउँ गाउँ डुल्दै हिड्छौ । राम..राम.. राम ..हाम्रो छोरीहरूले त यसरी गाउँ कहिल्यै डुलेनन् ।’
मैले उहाँलाई सम्झाउने बुझाउने कोशिस नै गरिनँ । अनि म घरतिर लागेँ ।
बाटो भर सोँच्दै हिँडे । आज काकीले किन यस्तो भन्नु भो ?
साँच्चै म बुढी भएँ ?
घरमा पुगेर बुवालाई भने ‘बुवा म साच्चै बुढी भईसकेँ र ? अब मसँग कसैले पनि विहे गर्दैनन् हो ?’
बुवाले भन्नुभयो किन ? कसले के भन्यो ?
बुबालाई दिउँसो काकीसँग भएका कुराको बेली बिस्तार सुनाएँ ।
बुबाले भन्नुभयो ‘तिमीले पनि यो समाज कस्तो छ भन्ने बुझदैनौँ ? अहिले पनि हाम्रो समाजले कहिल्यै कसैको प्रगति भएको देख्न चाहँदैन । कुरा काट्नेहरूको भिड छ छोरी यहाँ ।’
बुबाको यो कुरा सुन्ने बित्ति कै मलाई झनै उर्जा मिल्यो फेरी लामो सास तानेर भने अब यो गाउँका मान्छेहरूलाई बुझाउन के गर्नु पर्ला ? बुबाले भन्नुभयो ‘हैन केही गर्नु पर्दैन यो समाज यस्तै हो । समाजका कुरा सुन्नु हुँदैन, आफ्नो काममा लाग । तिम्रो प्रगतिमा तगारो बन्ने धेरै भेटिन्छन् ।’
बुबाको कुराले हौंसिएकी म, समाजमा अनावश्यक रुपमा मानसिक दवाव दिनेहरूको सोच रेडियोमा बोल्ने मेरो आवाजले दबाउने छ भन्ने विश्वास बोकेर उद्दे श्य पूरा गर्ने बाटोमै डटिरहेकी छु ।
प्रकाशित मितिः २०७२ फागुन ४ गते मंगलवार
Comment Here!