स्वस्थानी : यौनिक विभेद, स्वतन्त्रता र शरीरमाथिको अधिकार


प्रकाशित मिति :2016-02-17 12:21:22

रामेश्वरी पन्त

rameshoriस्वस्थानी व्रतकथा लेखिएको करिब साढे चारसय वर्षपछि पनि आज स्वस्थानी कथालाई नेपाली समाजमा अत्यन्त श्रद्धा र भक्ति पूर्वक पढ्ने, सुन्ने र सुनाउने गरिन्छ । रमाइलो पक्ष त के छ भने आफ्नै कथाव्याथा जस्तै लाग्ने, आफैलाई हेपिएर लेखिएको कथा पनि नेपाली नारीहरूले अत्यन्त श्रद्धा पूर्वक पढ्ने र व्रत बस्ने गर्दछन् । आखिर यसको रहस्य के हो त ? यस भित्रका सबै कुरा बुझेरै व्रत बसिरहेछन् या धर्मको आडमा सिर्जना गरिएका त्राश वा अन्ध भक्तिले यसलाई जीवन्तता दिइरहेछ ? यो एउटा अध्ययनको महत्वपूर्ण पाटो हो, तर यसतर्फ कमैको ध्यान जान्छ । जे होस्, यस लेखमा स्वस्थानी व्रतकथाका महिला पात्रले के कस्ता स्वतन्त्रता र अधिकारको उपयोग गरेका छन् त भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

स्वस्थानी कथामा पार्वती नै एउटी त्यस्ती नारी पात्र देखिएकी छन् जसले अनिच्छित विवाहलाई अस्वीकार गर्ने हिम्मत गरेकी छन् । सतीदेवीले त छल पूर्वक बूढो सन्यासीलाई कन्यादान दिंदा पनि ‘कर्म र भाग्यको खेल’ भन्दै चूपचाप उसैको साथ लागेर गएकी छन् । गोमाको अवस्था पनि सतीदेवीको भन्दा फरक देखिएन । सात वर्षको उमेरमा सत्तरी वर्षको बृद्धसँग विवाह गरिदिन खोज्दा पनि कुनै बिरोध गरेकी छैनन् र उसले पनि उही ‘भाग्य र कर्म’को फल भन्दै बृद्ध र अत्यन्त कुरुप शिव शर्मासँग विवाह गरेर उसको सेवा गरेकी छन् ।

स्वतन्त्रता र आत्मनिर्णयकै कुरा गर्दा पार्वती एक्लैले पुत्र गणेशलाई जन्माएकी छन् (गणेशको जन्म जसरी भएको भएतापनि पार्वतीले पुत्र रुपमा स्वीकार गरेकी छन्) जुन कुरा महादेवलाई थाहै हुँदैन । त्यस्तै आफ्ना ऋषिपतिहरूबाट यौन असन्तुष्टि खेपिरहेका ऋषिपत्नीहरू सतीदेवीको मृत्युपछि पत्नीबिहीन बन्दै बहुलाएर हिंडेका महादेवबाट यौन सन्तुष्टि लिनको लागि उनको पछि लागेर गएका छन् । त्यसैगरि सप्तर्षि मध्येका छवटी ऋषिपत्नीहरूले महादेवको वीर्यबाट बलेको आगो तापेर गर्भवती भएपछि पतिहरूबाट चरित्रहीनको आरोप लाग्छ ।

आफूहरू निर्दोष हुँदाहुँदै पनि चरित्रहीन आरोप लागेकोले उनीहरूले उक्त अनिच्छित गर्भलाई झाडीमा फ्याँकिदिन्छन् र पतिहरूलाई नै त्यागेर आकासमा गई कृतिका भएर रहन्छन् । जुन गर्भ आफुहरूलाई कसरी रह्यो भन्ने नै उनीहरूलाई थाहा हुँदैन त्यो गर्भबाट सन्तान किन जन्माउने ? र फेरि आरोपित भैसकेपछि सँगै बस्नुको पनि कुनै औचित्य रहेन । जब पति पत्नीको सम्बन्धको बीचमा दरार पर्छ अथवा पत्नीको चरित्रमाथि पतिले औंला ठड्याउँछ तब त्यस्तो पति त्याग्ने अधिकार ऋषिपत्नीहरूले स्थापित गरेका छन् । यसले तत्कालीन समाजमा नारीले सम्बन्ध बिच्छेद गर्न पाउँथे भन्ने कुराको पनि संकेत गर्दछ । यद्यपि यो कत्तिको समाजस्वीकार्य थियो त भन्ने कुरा खोज र बहसको विषय हुनसक्छ ।

चन्द्रावती पनि आफुमाथि आइपरेका दुःख कष्टलाई भाग्यको खेल भन्दै चूपचाप बस्ने नारी देखिन्न । उसले पति परदेश लागेपछि दुईछाक पेटभरी खान पनि नपुग्ने गरीब घरमा ‘कर्मले पारेको’ भन्दै बस्न चाहिन र सुखका दिन नफर्कुन्जेल माइतिमा गएर बसिदिन्छे । ऊ गोमा जस्ती कर्तव्यपरायण देखिन्न बरु आफ्नो स्वार्थलाई हेरेकी छ । अर्को अर्थमा भन्दा उसले भाग्यलाई चुनौति दिएकी छ र सम्पन्न माइतिमा नै फर्केकी छ र फेरि आफू रानी भएको थाहा पाउने बित्तिकै माइती छोडेर राजा बनेको पति नवराजलाई भेट्न हतारिंदै हिंडेकी छ ।

तर समाजले पार्वती या चन्द्रावती दुबैको चुनौतिलाई कमजोर देखाइदिएको छ । तेत्रो प्रेम, त्याग, तपश्या र समर्पणको बाबजूद पनि महादेवले विवाह अघि पार्वतीको प्रेमको परीक्षा लिएका छन् भने विवाह पश्चात पनि पार्वतीलाई अनेक तरहले छक्याइरहेका छन् । उनलाई छोडेर कहिले मृग भएर मृगिणीहरूसँग त कहिले हाँस भएर हँसिनीहरूसँग अनि फेरि कहिले किराँत बनेर तरुनी किराँतिनीसँग रमाइरहेका छन् । तर पार्वती भने महादेवको यो सब व्यबहारलाई चुपचाप स्वीकार्दै उल्टै आफुबाट केही गल्ति पो भयो कि भन्दै आफ्नो गल्ति खोज्न थाल्छिन् र महादेवको प्रतिक्षामा तपश्या गरेर बस्छिन् । चन्द्रावतीको स्वार्थ र अहंकारलाई स्वस्थानी कथामा यति ठूलो सजाय दिइएको छ कि ऊ वर्षौं सम्म कुष्टरोग ग्रस्त भएर नदी किनारमा लडिरहन बाध्य भएकी छ ।

स्वस्थानी व्रतकथाले पति भक्ति, पतिव्रता धर्म र सतित्वको पाठ धेरै पढाएको छ र नारीको यौनिकतामाथि नियन्त्रण गर्न खोजेको छ । पुरुषको स्वतन्त्र यौनिकतालाई महानता दिने तर नारीको यौनिकतालाई भने पुरुषको जीवनसँगै लगेर जोडिदिई दायाँ बायाँ लागे विनाश नै निम्तिने डरलाग्दा कथाप्रसंगहरू थपेर समाजका पण्डितहरूले यौन स्वतन्त्रतामाथि बिभेदको ठूलो खाडल निर्माण गरेका छन् । पुरुष(पति)ले स्वतन्त्र रुपले यौनको आनन्द लिन र पत्नी छँदाछँदै परस्त्रीमाथि आँखा लगाउन र व्यभिचार गर्न पाउने तर नारी (पत्नी)ले भने छलपूर्वक पनि कसैबाट यौनहिंसा बेहोर्नु पर्‍यो भने पनि सत्यानाशै हुने खालका सन्देस स्वस्थानी कथामा देखिन्छन् ।

पुरुष(यहाँ सम्म की देवतासमेत)ले एकपत्नीव्रत नरही आफुले चाहेको बेला वा आफुलाई कुनै स्त्री सुन्दर लागे ऊबाट यौनको आनन्द लिएका छन् । महादेव, विष्णु जस्ता देवता र पत्नीको सतित्वमा बाँचेको जालन्धर नै पनि परस्त्रीमा नजर लगाउन स्वतन्त्र छन् तर स्त्री जातिलाई सिधै यो छूट कतै कहीं दिइएका प्रसंग स्वस्थानी कथामा पढ्न पाइँदैन । बरु दण्डित गरिएको छ महादेवको पछि लागेर गएका ऋषिपत्नीहरूलाई ।

स्वस्थानी कथाले नारीको यौनिकता माथि नियन्त्रण गर्न खोज्दा खोज्दै पनि असफल रहेको कुरालाई ऋषिपत्नीहरू आफ्नो यौन अतृप्ति मेटाउनको लागि नाङ्गै हिंडेका शिवको लिङ्ग देखेर पछि लाग्नुले प्रष्ट पारेको छ । कथाभित्र केही यस्ता प्रसंग छन् जसमा नारीहरूले आफ्नो यौन अतृप्तीलाई प्रकट गर्दै यौन स्वतन्त्रताको उपयोग र आफ्नो शरीरमाथिको अधिकार स्थापित गर्ने प्रयास भने गरेका छन् । सतीदेवीको देहत्याग पछि बिछिप्त बनेर डुलिरहेका महादेवलाई देखेर ऋषिपत्नीहरूले ‘सतीदेवी मर्नाले महादेव बौलाहा झैं भै डुलिरहेका छन् ।

हाम्रा स्वामीहरू अनेक व्रत र एकभक्त बस्नाले साह्रै दुर्बल हुँदा हामीहरूलाई काम–भोगमा संतुष्ट पार्न सक्तैनन् । तसर्थ हामीहरू शिवजीको पछि लागेर जाऔं’ भन्दै आपसमा सल्लाह गरी महादेवको पछि लागेर गएकाछन् । (अ.२१) । यद्यपि महादेवलाई यो कुराको थाहा हुँदैन । बरु आफ्ना पत्नीहरूलाई लिएर हिंडेको भन्दै ऋषिहरूले महादेवलाई ‘लिङ्ग झर्ने’ श्राप दिन्छन् । आफू निर्दोष हुँदाहुँदै पनि श्रापित हुनुपरेकोमा महादेवले ऋषिपत्नीहरूलाई ‘एक पुरुष बनेर बस्न नसकून्’ (अ.२१) भन्ने श्राप दिएर हिंड्छन् । उनले ऋषिहरूलाई पनि श्राप दिन्छन् । यहाँनिर बुझ्नुपर्ने कुरा के देखिन्छ भने ऋषिहरूले आफ्नो कमजोरी तिर ध्यान दिनुसट्टा उल्टै महादेवलाई श्राप दिएकाछन् । यसबाट पुरुषले आफ्नो यौन असक्षमता लाई स्वीकार्न चाहँदैन र पनि आफ्ना पत्नीहरूको यौनिकतामा नियन्त्रण गर्न खोजिरहन्छ भन्ने बुझ्न सकिन्छ । तर ऋषिपत्नीहरूले भने आफ्नो यौन अतृप्ति प्रकट गरेका छन् ।

यसैगरि नारीहरूको यौन स्वतन्त्रता र उनीहरूको शरीर माथिको अधिकारलाई स्वस्थानी कथाले नस्वीकार्दा नस्वीकार्दै पनि उनीहरूले आफ्नो शरीर माथिको अधिकारलाई स्थापित गर्ने प्रयास भने गरेको पाइन्छ । गंगा स्नान गर्न गएका ऋषिपत्नीहरूले आगो भन्ने ठानी अग्निले ओकेलेको महादेवको वीर्य ताप्दा गर्भ रहन गएको र सो गर्भ कसको र कसरी रह्यो भन्ने थाहा नहुँदा नहुँदै पनि आफ्ना पतिहरूले उनीहरूलाई श्राप दिएर त्यागिदिएकोले उनीहरूले सो गर्भलाई गंगामा ओकेलिदिन्छन् र आकाशमा गई कृतिका बनेर रहन्छन् । (अ.२५) ।

यसबाट के स्पष्ट पार्न सकिन्छ भने एकातिर नारीहरू बिना गल्ती नै पतिहरूबाट श्रापित र त्याज्य बनेका छन् भने अर्कोतिर, यस घटनालाई अर्को पाटोबाट हेर्दा, आफूहरू निर्दोष हुँदाहुँदै पनि चरित्रहीनको आरोप खेप्नुपरेकोले गर्भपतन(आजको भाषामा) गराई पतिहरूलाई नै पनि त्यागिदिएका हुनसक्छन् भन्ने अनुमान लगाउन सकिन्छ । यहाँनिर बुझ्नुपर्ने कुरा के देखिन्छ भने अनिच्छित गर्भपतन गर्ने अधिकारको त्यतिबेला (स्वस्थानी कथा लेखनको समय अर्थात् पौराणिक कालमा) पनि महिलाले उपभोग गरेका थिए । साथै पति पत्नी बीच अविश्वास बढ्दै गएपछि सँगै बस्नुको औचित्य रहन्न भन्ने सन्देस पनि यो प्रसंगले दिएको देखिन्छ । यस कुरालाई समाजको पनि स्वीकारोक्ति थियो भन्ने कुरा निर्दोष हुँदाहुँदै पनि पतिबाट त्याज्य भएका ऋषिपत्नीहरू आकासमा कृतिका भएर रहनु भनेको समाजले उनीहरूलाई सम्मानजनक स्थान दिनु हो । यहाँ आकासको प्रतिकात्मक अर्थ हुन्छ उच्च स्थान ।

अर्कोतिरबाट हेर्ने हो भने अबैध सन्तान जन्माएर झाडीमा फ्याँकी हिंड्ने आमाहरू त्यो बेलाको समाजमा पनि देखिन्छन् । यसलाई नारीहरूको गैरजिम्मेवारी पन वा निर्दयिता जे भन्न पनि सकिन्छ र फेरि यसरी फ्याँकिएका बेवारिस शिशुलाई आफ्नो नाम दिएर हुर्काउने आमाहरू पनि समाजमा रहेको कुरा ऋषिपत्नीहरूले फ्याँकेको गर्भ बाट जन्मेका कुमार कार्तिकेयलाई गंगाले आफ्नो पुत्रको रुपमा पालन पोषण गरेकीबाट बुझिन्छ । गर्भ फ्याँकेर हिंडेका ऋषिपत्नीहरूलाई समाजशास्त्री लेन वेनेटले ‘छ वटी धोकेवाज आमा’ भनेकी छन् । (डेन्जर्स र्वाइफ एण्ड सेक्रेड सिस्टर्स, स्वस्थानी कथा) । जे होस् कुमारलाई जसले जन्माए पनि, जसले पाले पनि उनी महादेवकै छोरा भएर रहनुले सन्तानमा पितृत्वको हक स्थापित गर्न खोजिएको छ ।

यौनस्वतन्त्रताकै कुरा गर्दा महेश्वर जुजु राजोपाध्यायको स्वस्थानीमा रहेको एउटा प्रसंग यहाँ राख्नु उपयुक्त हुनसक्छ– ‘पार्वतीलाई थाहै नदिई महादेव श्लेषमान्तक वनमा मृगरुप भई रमाइरहेको कुरा थाहा पाएपछि पार्वतीले पनि अत्यन्त सुन्दर पोथी मृग बनेर मृगहरूको झुण्डमा जान्छिन् । सुन्दर मृगिणी देखेपछि सबै मृगजति उनकै पछि लाग्न थाल्छन् । यो देखेर पार्वती कतै आफ्नो पतिव्रता धर्म नष्ट हुने त होइन भनेर तर्सन्छिन् र तत्कालै किराँतिनी रुप लिएर गौरीघाटमा बसी तपश्या गर्न थालिन् तैपनि केही सीप लागेन । पशुपतिनाथ पशुहरूकै बीचमा मक्खै परि अनेक लिला गरिरहनुभयो ।’ (श्री श्री श्री स्वस्थानी, पृष्ठ ४९) ।

पार्वती आफ्नो अधिकार र स्वतन्त्रताको उपभोगमा सजग देखिन्छिन् तर पनि समाजिक मान्यताले उनलाई खुम्च्याइदिएको छ । महादेवले मृगिणीहरूसँग जति आनन्द लिंदा पनि उनी अपवित्र नहुने तर पार्वती भने अरु मृगको नजर पर्दैमा अपवित्र भइने डरले भागेर रुप बदली तिनै महादेवको आराधना गरेर रहेकी छन् । समाजले कोरेको पतिव्रताको रेखाभित्र कति कमजोर देखिएकी छन् पार्वती ! यसको अर्थ हुन्छ, यौनको आनन्द पुरुषको पक्षमा मात्र छ । के साँच्ची नै नारीले हृदयतः पुरुषलाई छूट दिएका हुन्छन् वा समाजले पुरुषको पक्षमा फैसला गरेको होला ? यसर्थ यौनिकता वा यौन स्वतन्त्रता बहसको विषय हुन सक्छ ।

कथा भित्रका यी प्रसंगहरूबाट के बुझ्न सकिन्छ भने महिलाहरूको लागि पति नै सबैकुरा हो र उबिना नारी अधुरो रहन्छे । त्यसैले पनि पतिका हर कार्यलाई चुपचाप सहनु नै उसको लागि कल्याणकारी छ । पतिलाई उसको जस्तोसुकै परीक्षा लिन पनि छुट छ तर पत्नीले भने अन्जानमा पनि कुनै गल्ति गर्नुहुँदैन । नारी जति नै साहसी भएपनि पति वा पुरुषको इच्छामा चल्नु पर्छ । पतिलाई हर तरहले सन्तुष्ट राख्नु उसको कर्तव्य हो । अझ चन्द्रावतीको प्रसंगलाई हेर्ने हो भने त नारीले आफ्नो स्वार्थ त हेर्नै हुँदैन नत्र ऊ महापापिनी हुन्छे र सजायको भागिदार हुन्छे । छोरीहरूको जीवनको निर्णय गर्ने हक केवल बाबु आमामा हुन्छ ।

उनीहरूले जस्तोलाई दिएपनि भाग्यको खेल सम्झी चुपचाप पछि लागेर जानु पर्छ । स्वस्थानीले दिने यिनै सन्देस आज पनि समाजमा लागु भैरहेका छन् । आज पनि समाजले नारीको चरित्र खोजिरहेछ र नारीमाथि औंला ठड्याइरहेछ तर पुरुषको चरित्र खोज्न चाहन्न र उसलाई जे गर्न पनि छूट छ । यो मानशिकताबाट आज पनि कतिपय महिलाहरू स्वयं नै मुक्त हुन खोजिरहेका छैनन् । त्यसैले त आज पनि स्वस्थानीको व्रत लिने र उत्साहित भएर कथा पढ्ने सुन्ने महिलाहरूको कमि छैन ।

प्रकाशित मिति :२०७२ फागुन ५ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: