गाउँकी मुखिया चन्द्रा


प्रकाशित मिति :2016-02-19 11:49:50

पुरुष भलमन्सा हुने परम्परागत चलनलाई तोड्दै घोडाघोडी नगरपालिका साडेपानीकी २६ वर्षीया चन्द्रा चौधरी भलमन्सा भइन् । आफ्नो क्षमताले नै आफू सफल भएको उनको विश्वास छ ।

खेमा बस्नेत

12714091_1234554819893852_669784842_n
कैलाली । घोडाघोडी नगरपालिका साडेपानीकी २६ वर्षीया चन्द्रा चौधरीको आफ्नो गाउँमा भएका विवाद, झैझगडा मिलाउँदा नै  दिन वित्छ । कहिलेकाहीँ त खाना खाने समय पनि पाउँदिनन् उनी । चन्द्रा अहिले समाजको विश्वास जित्न सफल भएकी छन् । २०७० साल माघ महिनामा समाजले उनलाई नै विश्वास गरेर गाउँको पहिलो महिला भलमन्सा बनाएको थियो ।

थारु समुदायमा गाउँमा सानातिना विवाद र झैझगडा मिलाउने काम भलमन्साले गर्छन् । यो पद  पुरुषले मात्रै पाउँदे आएका थिए । तर, परपरालाई तोड्दै २ वर्ष अघि उनी  भलमन्सा (बड्घर) बनेर आफ्नो गाउँको नेतृत्व गर्न थालेकी हुन् । उनले १२५ घर परिवारको विगत दुई वर्षदेखि अगुवाइ गर्दै आएकी छन् ।

उनी आफ्नो गाउँमा पहिलो महिला भलमन्सा हुन् । विगतदेखि नै पुरुषले मात्रै भलमन्सा भएर काम गर्दै आएकोमा युवा पुस्ताका महिलाले नेतृत्व लिएको कैलालीमा यो सम्भवतः पहिलो घटना हो । थारु समुदायमा हरेक वर्ष माघीमा चुनिने भलमन्साले गाउँको नेतृत्व गर्ने चलन छ ।

खास गरेर थारु समुदायले यस्तो नेतृत्व  पाका पुरुषलाई दिने  प्रचलनलाई तोडेर महिला र  युवा पुस्ताकी चन्द्रालाई यो जिम्मेवारी सुम्पिएको हो  । स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेकी  उनलाई अहिले परिवारसहित गाउँ समाजको रेखदेख गर्ने जिम्मेवारी छ । सुरुमा चन्द्रको परिवारबाटै विरोध भएको थियो । उनका ससुराले आफू हुँदाहुदै बुहारीलाई भलमन्सा बनाउन नहुने भनी विरोध गरेका थिए । पछि समाजका मान्छेले सम्झाइबुझाइ गरेपछि चन्द्रा नै गाउँको भलमन्सा भएकी हुन् ।

‘दुवैपक्षलाई न्याय दिलाउन सरल कुरा होइन, भलमन्साले सबै गाउँको चित्त बुझ्ने र उनीहरूको विश्वास जित्ने काम गर्न सक्नुपर्दछ, मलाई समाजले विश्वास गरेर भलमन्सा बनाएको छ, म भलमन्सा भएको २ वर्ष भएको छ, मैले हाम्रो समाजको विश्वास जित्न सफल भएकी छु’ चन्द्राले भनिन् ।

 उनले आएका विवादलाई मिलाउन नसके वा विश्वास जित्न नसके  १ वर्षमै भलमन्सा खारेज हुने व्यवस्था रहेको वताईन् ।

उनले पुरुष भलमन्सा र महिला भलमन्सालाई समाजले हेर्ने दृष्टिकोण भने फरक पाएको अनुभव सुनाइन् । उनी भन्छिन् ‘महिला भलमन्सा हुनुपर्दछ भन्ने समाजको माग अनुसार नै म भलमन्सा भएकी हुँ ,तर महिला भलमन्साले के गर्ने सक्ली र भन्ने सोच भने परिवर्तन हुन बाँकी छ ।’

आफूलाई विरोध गर्ने धेरै भएपनि जिम्मेवारीवाट आफू विचलित नहुने चन्द्रा वताउँछिन् । उनी आफ्नो क्षमता र गाउँका मान्छेको विश्वासले नै आफू सफल भएको वताइन् ।

चन्द्राले फौजदारी मुद्दा प्रहरी कहाँ पठाउने र झैझगडा तथा विवाद गाउँमै मिलाउने गरेको वताइन् ।चन्द्राले कुनै विवाद आएमा महिला,पुरुष दुवैलाई बोलाएर जसले गल्ती गरेको हो उसलाई गल्तीको महसुस गराई दुवैलाई चित्त बुझ्ने कुरामा सहमत गराई विवाद मिलाउने गरेको वताइन् ।

भलमन्साल गाउँमा हुने सार्वजनिक कामका लागि जनशक्ति परिचालन गर्नेदेखि लिएर  भोज, भतेर, गाउँबासीको सुख दुःखमा साथ दिनु पर्ने हुन्छ । उनीहरूले  पारिश्रमिक नलिइ गाउँको काम गर्नु पर्ने नियम छ ।

कैलाली कै टीकापुर–८ स्थित विपतपुर मुक्त कमैया बस्तीमा हेमा चौधरी र आस्थानगर मुक्त कमैया बस्तीमा मायादेवी चौधरीले भलमन्साको जिम्मेवारी निर्वाह गरिरहेका छन् । दुबै जना चन्द्रा भन्दा उमेरले अब्बल छन् । चन्द्रा वर्षमा ३० देखि ३५ वटा विवाद गाउँमा नै मिलाउने गरेको वताउँछिन् । आजभोली श्रीमानश्रीमतीको झगडा एकदमै कम आउने, तर जग्गा विवादका मुद्दा बढी आउने गरेको उनले बताइन् ।

प्रकाशित मिति : २०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: