निर्मला भट्ट
ललितपुर । गतवर्ष भएका मानव अधिकार उलङ्घनका घटनामा महिला तथा बालबालिका बढी पीडित भएको अनौपचारि क्षेत्र सेवा केन्द्र ईन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकले देखाएको छ । सन् २०१५ मा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ६ हजार ३ सय ५७ वटा घटनामध्ये ४ हजार ६ सय ४० वटा घटना महिला सम्बन्धि रहेका छन् ।
यीमध्ये १ सय ३ जना महिलाको मृत्युको कारण आफ्नै परिवार बनेको वर्ष पुस्तकमा उल्लेख छ । सन् २०१४ मा परिवारजनबाट मारिने महिलाको सङ्ख्या १ सय १४ थियो । गतवर्ष २ सय ५९ महिला बलात्कार र १ सय ३५ जना बलात्कार प्रयासबाट पीडित भएको, कथित बोक्सीको आरोपमा ५१ जना, यौन दुव्र्यवहारको घटनामा ६२ जना र घरेलु हिंसाका घटनामा २ हजार ७ सय ७ जना महिला पीडित भएको पुस्तकमा जनाइएको छ ।
देशभरका जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका अधिकांश घटनामा प्रहरीले मिलापत्र गराएको पाईएको इन्सेकले जनाएको छ । कमजोर कानुनको फाइदा उठाउँदै जघन्य खालका घरेलु हिंसाका घटनामा पनि मेलमिलाप गर्ने परिपाटी यस वर्ष पनि कायम रहेको ईन्सेकले जनाएको छ ।
२०७२ वैशाखको भूकम्पका कारण लामो समय विद्यालय बन्द भएलगत्तै सुरु भएको मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण १६ लाखभन्दा बढी बालबालिकाको भविष्य अन्धकार भएको युनिसेफको प्रतिवेदनको तथ्याकंलाई पनि पुस्तकमा उल्लेख गरिउको छ । विद्यालयमा दिइने शारीरिक दण्डका घटना पनि उत्तिकै सार्वजनिक भएको र यस्ता घटनाको रोकथामका लागि पर्याप्त कानुनी आधार भए पनि अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच हुने मिलापत्रले त्यो पक्ष बेवास्तामा परेको बताइएको छ ।
पुस्तकका अनुसार तराई मधेसमा भएको आन्दोलनका क्रममा रूपन्देही, धनुषा, महोत्तरी र कैलालीमा गरी ६ बालबालिका मारिएका छन्, ४ सय ९२ जना बालिका बलात्कृत भए ,२ सय जना यौन दुव्र्यवहारबाट पीडित भए भने ३६ बालबालिका बेचविखन तथा ओसारपसार घटनाबाट पीडित भएका छन् ।
महिला अधिकार उल्लंघनका घटना सवैभन्दा बढी १ हजार ४ सय ७९ मध्यमाञ्चल विकासक्षेत्रमा भएका छन भने त्यसपछि क्रमश पुर्वाञ्चल ८ सय ७९, मध्यपश्चिमाञ्चलमा ५ सय ७२, सुदूरपश्चिमाञ्चलमा ३ सय ७१ र पश्चिमाञ्चलमा २ सय ४६ वटा रहेका छन । इन्सेकले आजै ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा पुर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्नुभएको हो ।
प्रकाशित मिति: २०७२ फागुन ७ गते शुक्रवार
Comment Here!